१
जाँदा जाँदै जिन्दगीको बाटो कहाँ अल्मलियो
थाहै नपाई समयले डाँडा काट्यो खल्बलियो
मलाई मात्र हो कि यस्तो अरूलाई पनि हुन्छ ?
काँढा बनी बिचै बाट मेरो बाटो ढल्फलियो ।
२
आकाशतिर फर्किएर ग्रह तारा गन्छु कहिले
जमिनतिर घोत्लिएर भुईंको माटो खन्छु कहिले
आफ्नै सन्तान सम्झिएर रुँदा रुँदै थाकि सकेँ
टुङ्गिए नी हुन्थ्यो मेरो यात्रा अब भन्छु कहिले ।
३
हातखुट्टा चल्नै छाडे खानेकुरा निल्नै गाह्रो
पानी दिने मान्छे छैन एक्लै हुँदा झनै गाह्रो
एक्लो पारी छाडी गयौ बाँच्न मलाई कठिन भयो
सम्झिएर मन बुझाउन हुने रहेछ धेरै गाह्रो ।
४
बल बुद्धि बर्कत हुँदा सबले गर्थे हाई हाई
अहिले सारा शक्ति घट्यो टाढा भए दाजुभाई
भेट्न आउने पनि जान्छन् चिप्लो धसी फर्किएर
जिन्दगीको अन्तिम क्षणमा निकै गाह्रो भयो मलाई ।
~~~~~~~~~~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका