Sunday 16th November 2025

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर-नेपालले आज ओमानसँग खेल्दै


आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ ।समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ ।ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल र ओमानसहित क्यानडा र फिलिपिन्स समूह ‘ए’ मा छन् ।

क्वालिफायर एबाट शीर्ष दुई टिम मात्र अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । त्यसैले दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालका लागि हरेक खेल महत्वपूर्ण छ । क्वालिफायरअघि नेपालले ओमानमै चारदेशीय टी–२० सिरिज खेल्दै तयारी समेत गरेको थियो । जसमा नेपालले पहिलो खेलमा ओमानलाई नै पराजित गरेको थियो । युएई र आयरल्याण्डसँग भने नेपाल पराजित भएको थियो । उक्त सिरिजमा नेपालले सकेसम्म सबैलाई अवसर दिंदै सही टिम छान्ने अवसरको रुपमा लिएको थियो ।

युवा कप्तान सन्दीप लामिछानेले नेपाल विश्वकपमा छनोट हुने सम्भावना रहेको र विश्वकप खेल्नु सपना रहेको बताएका छन् ।प्रशिक्षक पुबुदु दासानायकेले टिम राम्रो अवस्थामा रहेको र विश्वकपमा छनोट हुने आत्मविश्वास रहेको बताएका छन् ।ओमानका कप्तान जिसानद मक्सुदले चारदेशीय सिरिजको अन्तिम खेलमा युएईलाई हराएपछि टिम मोटिभेट भएको बताएका छन् ।

नेपालबाट १७ खेलाडीको टिम ओमान गए पनि तीन खेलाडीलाई रिजर्भमा राख्दै ग्लोबल क्वालिफायरका लागि १४ खेलाडीको टोली घोषणा गरिएको छ ।कुशल मल्ल, शाहब आलम र प्रदीप ऐरी रिजर्भमा छन् । यस्तै चोटका कारण करण केसीको स्थानमा गुलशन झालाई टिममा राखिएको छ ।

यस पटक टिममा धेरै युवा र नयाँ खेलाडी छन् । लोकेश बम, विवेक यादव र सागर ढकालले ओमानमै पुगेर डेब्यु गरे । गुलशनले टी–२० आईमा डेब्यु गर्न बाँकी छ ।

यस्तै अहिले मुख्य सदस्यको रुपमा रहेका कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरीले गत बैशाखमा नेपालमा भएको त्रिकोणात्मक सिरिजमार्फत टी–२०आईमा डेब्यु गरेका हुन् ।

सिनियर खेलाडीको रुपमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र जितेन्द्र मुखिया छन् । तीनै खेलाडीले सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेका थिए । शरद २०१९ पछि र जितेन्द्र ७ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन भएका हुन् ।

यसबाहेक कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र अविनाश बोहरा नियमित खेलिरहेका खेलाडी छन् ।

आजै क्यानडा र फिलिपिन्सबीचको खेल पनि ११ः४५ बजे नै सुरु हुनेछ । यस्तै समूह ‘बी’ मा रहेका आयरल्याण्ड र युएई तथा जर्मनी र बहराइनबीचको खेल पनि आजै ३ः४५ बजे सुरु हुनेछ ।दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम टी–२० विश्वकपमा छनोट हुनेछन् ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...