Saturday 4th April 2026

सविता के.सी. को पाँच उत्कृष्ट पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग १

तिमी ज्योति आँखाको जीवनको शान हौ
चुलबुले पाठो तिमी काखाको शान हौ
जन्म दिनको शुभकामना सानो मान्छे
उज्यालो किरण छर्ने पाखाको शान हौ
पूर्खाका सन्तति तिमी शाखाको शान हौ ।

पञ्चाङ्ग २

चाप्लुसीमा धूप बत्ती कहिल्यै बालिन माता
अनपढ भई मनका भाव फालिन माता
सरस्वतीको पूजा गर्छु सधैँ गरेँ आज नि
आवेगमा हिंस्रकका कदम चालिन माता
नास्तिक कार्य संस्कार बिर्सेर थालिन माता ।

पञ्चाङ्ग ३

पात झरेको नाङ्गै रहेछ ओत लागेको रुख पनि
नदेखिने गरि घोप्टिएका छौ किन आफ्नै मुख पनि
प्रकृतिले दिएका रात र दिन भोग्नै पर्छ मान्छेले
यसरी एकान्तमा बसेर कहाँ भेटिन्छ सुख पनि
कराएरै हिँडे सधैँ लेखेपछि मेटिन्न दुःख पनि ।

पञ्चाङ्ग ४

मेरो आधा तिमी, तिम्रो आधा अङ्ग म
तिम्रो सिउँदो र सिन्दुरको रङ्ग म
भावना, कल्पनामा रम्न जानेपछि
हाय! भेटेँ तिमी साथी यसै दङ्ग म
शरीर टाढा मन त तिमीसङ्ग म ।

पञ्चाङ्ग ५

तड्पाएर भुङ्ग्रामाथि खारेको देखियो
हुन्छ, हुन्न दोधारमा पारेको देखियो
खेल्छन् खेल जीवनमाथि मानिस पनि
कुर्दा कुर्दा हरपल, हारेको देखियो
तर्किएर, पन्छिएर टारेको देखियो ।

सविता के.सी., काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...