Saturday 30th November 2024

साउदीमा बढी कमाउने लोभमा कम्पनी छाडेर भाग्दा अवैध र ठगिन्छन् नेपाली


तितोपाटी- साउदी अरबमा इलाम चुलाचुलीका गजेन्द्र काफ्ले कम्पनी छाडेर भाग्दा समस्या परे । १४ महिनाअघि रोजगारीका क्रममा साउदी पुगेका उनी एक भारतीय नागरिकको लैहलैहमा लागेर धेरै कमाउने प्रलोभनमा परी कम्पनी छाडेर हिँड्दा समस्यामा परेका हुन् ।

साउदीको राजधानी रियाद शहरमा कफी सप्लाई कम्पनीमा कार्यरत काफ्लेलाई त्यही भिसा ब्रोकरको काम गरिरहेका दिल्लीका तुरेश कुमारले स्टार होटलमा काम लगाइदिने प्रलोभन देखाएपछि कम्पनी छाडेर भागेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
भारतीय दलालले साउदीको स्टार होटलमा मासिक २ हजार ७ सय रियाल तलब सुविधासहित काम लगाइदिने प्रलोभन देखाएपछि कम्पनी छाडेर भागेको काफ्ले बताए । ‘रियाद शहरको कफी आइसक्रिम बनाउने काम गदै आएको थिएँ । यहाँ मेरो तलब बस्ने खर्चसहित १ हजार ७ सय रियाल थियो । महिनामा ३ सयसम्म ओभर टाइम काम गर्दा कमाइ हुन्थ्यो’, उनले भने, ‘४ हजार रियाल तिरेर ठूलो होटलमा काम गरी धेरै कमाउने लोभ पर्दा फसेँ । अहिले अवैध भएर बसेको छु । भारतीय दलाल सम्पर्कमा छैन । रोजगारी र पैशा दुवै गयो ।’
स्वदेश फर्किन राहदानी र अन्य केही कागतजागत साथ नभएका कारण समस्या भइरहेको उनको भनाइ छ । उनी हाल साउदीमा अवैध हैसियतमा बसेका छन् । काफ्ले दलालसँग सामाजिक सञ्जालमार्फत सम्पर्कमा पुगेका थिए ।

काफ्ले जस्तै, साउदीमा भिसा ब्रोकरको काम गदै आएका नेपाली नीलविश्वास चौधरीबाट ठगिए मत्तहरीका कुशकुमार यादव । २ वर्षअघि साउदी पुगेका यादवले ‘साउदी पिस आइरन प्रालि’ ग्रील कम्पनीमा खान–बस्नसहित मासिक १ हजार ८ सय रियाल कमाउँदै थिए ।
उनलाई चौधरीले समुद्रमा ग्रील कै काममा खान–बस्नसहित ३ हजार तलबको रोजगारीमा लगाइदिने प्रलोभन देखाएर कम्पनी छाडन् लगाए ।
चौधरीलाई ३ हजार रियाल ( ९० हजार नेपाली) तिरेर ३ हजार तलब कमाउन लोभमा एक साताअघि कम्पनी छाडेर भागेको यादवले बताए । ‘दलाल पैसा खाएर साउदीमै लुकेको छ । म अवैधानिक भएपछि प्रहरीले पक्रिन्छ भनेर साथीको डेरामा लुकेको छु । भोलिदेखि काम हुन्छ भनेर पैसा लिएर गएको एजेन्ट फरार भयो’, उनले भने, ‘भिसाको म्याद सकिएर घर फर्किने बेला भएको थियो । एजेन्टले ४ महिना काम गरेपछि विदामा घर गएर आउन मिल्ने कम्पनी हो भनेपछि पैसा तिरेँ । अहिले यो अवस्थामा छु ।’
एजेन्टले पैसा र पासपोर्ट लिएर फरार भएपछि स्वदेश फर्किन समस्या भइरहेको उनको भनाइ छ । साउदीमा काफ्ले र यादव जस्तै रोजगारीमा कार्यरत नेपालीहरू धेरै कमाउने प्रलोभनमा परेर कम्पनी छाडेर भाग्दा अलपत्र पर्ने गरेका छन् ।
एजेन्टकाे प्रलोभनमा परेर धेरै कमाउन लोभमा परी ठगिएका नेपाली कामदारहरूले कानुनी उपचार पाउँदैन् । साउदीमा पछिल्लो समय विभिन्न परिचय र टेलिफोन नम्बरबाट फोन गरी राम्रो जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने प्रवृत्ति मौलाइरहेको छ ।
साउदीमा भिसा ब्रोकरका काम गदै आएका नेपाली, भारतीय, पास्कितानी र बंगालीको प्रलोभनमा पर्दा धेरै नेपाली आर्थिक ठगिमा पर्ने गरेका छन् ।

धेरै कमाउन लोभमा फस्छन् : दूतावास
साउदीमा कार्यरत नेपाली कामदारलाई आफू कार्यरत कम्पनी छाडेर नभाग्न साउदीस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले बुधबार विज्ञप्ति जारी गरी साउदीमा कार्यरत नेपालीलाई यो विषयमा सचेतसमेत गराएको छ ।
दलाल र एजेन्टको लैहलैहमा लागेर धेरै कमाउने प्रलोभनमा परेर आफू कार्यरत कम्पनी छाडेर भाग्दा नेपालीहरू अवैधानिकसमेत भइरहेको दूतावासका श्रम सहचारी जिवन राईले जानकारी दिए ।
राम्रै रोजगारीमा कार्यरत कामदारलाई खाइपाइ आएको तलब र सुविधाभन्दा बढी दिने, राम्रो काममा लगाइदिने आश्वासन दिँदै केही दलालले कम्पनी छोड्न लगाएर गैरकानुनी हिसाबले अन्य कम्पनीमा काम लगाउने गरेको सूचना आइरहेको उनले बताए ।
मानव तस्करीका रूपमा रहेको कामदार भगाउनेहरूको खोजी भइरहेको छ । साउदीमा कार्यरत नेपालीलाई दलालको प्रलोभनमा परेर यस्तो कार्य नगर्न/नगराउन दूतावासले सूचित समेत गराइरहेको छ ।
गत महिना कम्पनी छाडेर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र कामदारलाई सचेत गराउन दूतावासलाई साउदी सरकारले आग्रह गरेको छ ।
साउदीमा एउटा कम्पनीबाट भागेर अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारलाई जेल र आर्थिक जरिवाना दुवै हुने साउदीको श्रम कानुनमा छ । साउदीमा अवैध कामदार त्यहाँ सरकारले धरपकड गरेर बेला–बेलामा पक्रिएर स्वदेशसमेत पठाउने गरेको छ ।

यो समचार शिलापत्रमा, रमेश भारतीले लेखेकाछन


सम्बन्धित शीर्षकहरु

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा २७ नोभेम्बर देखि ३ डिसेम्बर सम्म आयोजित यस रोमाञ्चक बीबीक्यू र ग्रिल प्रोमोसनमा अविश्वसनीय छुटहरू,…

आफ्नो गाउँ सहर कसलाई होला देश बाहिरिने रहर आफ्नो को छन् नाता यहाँ रोए कराए हुन्छ खोलाको बगर । मनमा…

गुलाम नवी मन्सुर- जीवन सपनाहरूको खेल हो। ती सपना जसले हामीलाई रातभर जागा राख्छन्, ती सपना जसले हरेक बिहान उठ्न…

प्रतिकृयाहरू
...