Sunday 20th July 2025

टुक्का साहित्य समाजको नियमित अभ्यास अन्तर्गत तस्बिरमा आधारित टुक्का अभ्यास सम्पन्न


काठमाडौं, काठमाडाैं,
टुक्का साहित्य समाज काे नियमित अभ्यासकाे सिलसिलामा तस्बिरमा आधारित टुक्का अभ्यास सम्पन्न भएकाे छ ।

अभ्यासमा टुक्का अभियन्ता धनुष न्याैपानेले प्रशिक्षककाे भूमिका निभाउनु भएकाे थियाे । उहाँले एउटा फलाामकाे सिक्रिले बाँधिएकाे, नाङ्गै भएकाे, रुँदै गरेकाे बालककाे तस्बिर राखेर त्यसैकाे आधारमा टुक्का सिर्जना गर्न आव्हान गर्नु भएकाे थियाे । टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ३२ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा फरक फरक शैलीमा अभ्यास हरू सञ्चालन हुँदै आएका छन्।

अभ्यासका क्रममा सङ्कलन गरिएका तस्बिरमा आधारित टुक्काहरू

[१]
१.
थाहा छैन कै मलाई कानुन छ भन्छौ
निस्तब्ध भए अहिले लठ्ठी हान्दै गन्छौ।
२.
कोपिलालाई पनि काँडाले घोच्ने गर्यो
फुल्न नपाउदै बिचरा झरीमा सर्यो।
३.
मत सानो मान्छे आज जुन टिप्दै थिए
अपवाद भयो भनी हेर चोट दिए।
४.
हाम्रो हकमा काम गर्ने नि धेरै छन
काम गरी हक तोड्ने मन भयो झन।
✍️ धनुष न्यौपाने
टुक्का अभियन्ता

[२]
अबाेध बालककाे अपराध के थियाेे?
फलामे जन्जिरले बेसरी जकडियाे ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबसी ।

[३]
देशमा कस्तो कानुन निर्दोष बालकलाई गिरफ्तार
सधैं हुन्छ हामी दुखी गरिबहरुकै बारम्बार हार ।
✍️ बिक्रम तिरुवा सलिन
जुम्ला ।

[४]
अवैध काममा सहयोगी बन्दा
कानुनले घाँटीमा लगायो फन्दा ।
✍️रिजाल विनोद
मोरङ

[५]
१•
जंजीरभित्र थुनिएको छ बाल अधिकार,
फुकुवालाई पाॅचतारेमा गर्छन् सेमिनार।
२•
जिउन पाउने अधिकार कता गयो कुन्नी,
कस्ले देख्ला अत्याचार अनि कस्ले होला सुन्नी।
३•
शरीर बाॅधे पनि विचार बाॅधिदैन,
हात समातेर राख बोल्न छाडिदैन।
✍️ घनश्याम पौडेल
सृजना चोक, पोखरा ।

[६]
के पायो दिएर सजाय अबोध बालकलाई
कि त सरकार रुपैयाँको पोको नै तैले पाई ।
✍️ बिनु विश्वकर्मा
बाजुरा ।

[७]
१.
जीवन भोगेको एउटा सच्चाइ पनि
साङ्लाले मान्छे बाँध्छन परम्परा भनी।

राजनीतिमा दूरदर्शीता कत्ति नभए,
धेरै निर्दोष बालबालिकाका ज्यान गए।

रिनमा पार्छन देश लुटेर खानेहरू,
विदेशी चङ्गुलमा परे कर्णधार बरू।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही१८

[८]
१,
धनाढ्य हरु प्राय जसोले बाल शोषण गर्छन्,
तिनै व्यक्ती बाल शोषणको अभियानमा सर्छन्।
२,
भनेको बेला काम नसके अाँखातरि हेर्छन्
खाने समय भए पछी भोटे साङ्लोले बेर्छन्।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा।

[९]
१.
दिएनन् साथ कसैले पनि म एक्लो हुँदा,
आँखाबाट आँसु झारेर धुरुधुरु रुदा।
२.
कैद गरेर राख्यौ गल्ति के थियो मेरो,
यसरी दियौ सजाय लगाएर घेरो।
✍️ लालीमाया थापा मगर
प्युठान ।

[१०]
थिंए सानो म थाहा छैन के हो कानुन
किन लाए साङ्लो उनै लाउने जानून ।
✍️ दुर्गा भट्टराई
मोरङ

[११]
बबुरो बालकको जीर्ण शरीर बाँधेछौ सिक्रीले,
समयले बन्धन मुक्त पार्दा मर्छौ तिमी फिक्रिले।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[१२]
१.
यी अबोध बालकले के गरे
बालकलाई बाँधी खल्ती भरे ।
२.
अबोध रुवाई के पो गर्छ
त्यसले पनि मर्न नै पर्छ ।
३.
देशमा भ्रष्टाचार अबैध धन्दा देखेर सरकारलाई भन्दा,
त्यो नाबालकलाई उल्टै लगाइदियो कानुनले घाँटीमा फन्दा।
✍️ बेदु न्यौपाने
काठमाडौ ।

[१३]
जन्जिरमा बाधिएँ के गरेँ मैले
अधिकार खोज्न कहाँ जाउँ ऐले ।
✍️ जमुना आचार्य

[१४]
१.
अवोध बालक म त्यसैले त जन्जिरले बॉधिएँ
अपराध ठूलाले गरे तर म अबोध सॉधिएँ ।
२.
अन्यायले मुटु खान्छ बेला बेला
चित्कार मेरो खै कस्ले सुनि देला ।
३.
पशु तुल्य भयो अपमान
नारामा मात्र सबै समान ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३

[१५]
१.
मायाले पाल्नु पर्ने बालक ,
किन पार्दछन् हरे बन्धक ।
२.
कठैबरा याे बालककाे के पाे थियोर दाेष ,
बिचरालाई जन्जीरले बाँधेर पाेखे राेष ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर ।

[१६]
१.
फोटो हेर्दा मन मेरो रुने
जति हेर्यो त्यति मुटु छुने।
२.
बालकले के अपराध गर्यो
कैदी को घाटीमा झै सिक्री पर्यो।
✍️ राम रावल (सागर)
कैलाली

[१७]

स-साना बालबालिकालाई किन गर्छन् अपमान,
नारामा मात्र सिमित रह्याे अनाथलाई समान।

किन राख्या हाे सिक्रिले जेलेर
अबाेध राेयाे दुखले झेलेर ।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल

[१८]
पीडित देखेर के गर्नु उपचार मनको घाऊ,
बिचरा मात्र नभन उसको मर्म बुझेर अाउ।
✍️ होम प्रसाद न्याैपाने
सुनसरी ।

[१९]
१.
लुकाएर हान्ने गर्छ सत्ता हतियार ,
देखाउने दाँत भयो बालअधिकार ।

याे दिलमा तस्बिरले बदला भाव जाग्यो ,
अन्धाे शासक कुर्सीमाथि भए जस्तो लाग्यो ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

[२०]
अपराध भा काे भए माफी माग्छु मैले
बन्धन् बाट मुक्ति दिनुस् यतिखेर ऐले ।
✍️ रामृकृष्ण दुवाडी
पाेखरा ।

[२१]
१.
बाल अधिकार हनन भयो
देशको कानून खै कता गयो ।
२.
जो चोर उसैको नै ठुलो स्वर हुन्छ
दोषी सफाइ पाउँछ निर्दोष रुन्छ ।
✍️ तारा घिमिरे
सङ्खुवासभा ।

[२२]
फोटो हेरेर स्तब्ध छु केही बोल्न अाएन ,
जन्जिरले बाँधियाे बालक न्याय पाएन ।
✍️ बुद्धिमान चाैधरी
सुरुङ्गा, झापा ।

[२३]
१.
भोको बालक रुन्छ मातृममता खोजेर उन्मुक्तिको
स्वतन्त्रता अवतार पूर्ण महिमा, खोसिन्छ जुक्ति को ?
२.
सिक्रीमा बाँधिएर एक्लो जीवन बाँचेको दुष्टले घेर्दै सदा
खोजिरहेछ जन्मको भार तिर्न नसकेर आमाको मोक्षदा।
✍️ अम्बिका अधिकारी
बिर्तामाेड, झापा ।

[२४]

अभाव र बिपन्नताले चोर्न बाध्य भएँ,
क्षमा माग्छु हजुर म सुध्रिन तर्फ गए।

त्यो सानो बालकलाई यस्तो साङ्लोले बाँधेर
नदिनुहोस् नसियत हुन्न विवेक ठानेर ।
✍️ भगवती दवाडी
झापा

[२५]
१.
के ढोग्दछौ ढुङ्गा तिमी गएर मन्दिरमा,
बाँधेर राखि अबोध बालक जन्जिरमा ।
२.
मरिसक्यो मानवता भेटिदैन तिमी भित्र,
खाली स्वरुप मान्छेको छ भित्र दैत्यको चित्र ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

[२६]
१.
बाँधिएको त्यो बालक अभागी सिक्रीमा
लाँदै थिए कि पापी मालिकले बिक्रीमा ।
२.
रम्ने हाँस्ने खेल्ने समय बाल्यकाल
दैव ! बाँधिदिए हेर यिनको हाल ।
✍️ रचना शर्मा प्रतीक्षा,
इमाडोल, ललितपुर ।

[२७]
अन्धकार छ जीवन के खाउ के लाउ
गल्ती के नै थियो मेरो जेल भित्र जाउ ।
✍️ नवीन जोशी
प्रदेस ७ कैलाली।

[२८]
नबाध भो त्यो साङ्लो ले छोडिदेउ विवेकी भएर,
सज्जन हुन्छन् उनि पनि एकदिन पछि गएर।
✍️ दुर्गा अाचार्य
मोरङ

[२९]
पैसाको लागि मान्छेहरु किन बन्छन् पापी,
के पाउँछन् र यिनले अरुको आँसु थापी ?
✍️ गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ

[३०]
बालकलाई के चाहिने हाे वास्तानै पो गर्देनन्
उनका इच्छालाई बाँधेर दानापानी भर्देनन् ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं

[३१]
यो सानो बालकलाई नै दोष नलाऊ
गल्ती छैन चिन्ता मानी हरेस नखाऊ।
✍️ प्रेम सुनार
दैलेख

[३२]
जकडेर बालकलाई जञ्जिरमा के फुर्ती गर्छौ
भरेको तिम्रो पापको घडा कसरी धर्मले भर्छौ ?
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास


सम्बन्धित शीर्षकहरु

साहित्यिक मासिक जनमतमा प्रकाशित 'पुष्कर अथक रेग्मी विशेष अङ्क' माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाजका…

पाकिस्तानले एक प्रेस विज्ञप्ति जारी गर्दै पहलगाम आक्रमण, आतंकवाद र बलुचिस्तान लिबरेशन आर्मीमाथि आफ्नो प्रतिक्रिया दिएको छ। पाकिस्तानले भनेको छ,…

रूस र युक्रेनले युद्धमा मारिएकाहरूको थप शव आदानप्रदान गरेको क्रेमलिनले जनाएको छ क्रेमलिनका एक सहयोगीका अनुसार, गत महिना टर्किएमा दोस्रो…

प्रतिकृयाहरू
...