Sunday 20th July 2025

पञ्चाङ्ग चित्रपट, भाग – १


पञ्चाङ्ग चित्रपट ः भागः ०१
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या ः ०१

प्रशिक्षक ः
सुशीला पौडेल
सविता के.सी.
मिति ः प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार

चित्र संकलक

सोमनाथ लुइटेल “रवि पल्पाली“

आदरणीय पञ्चाङ्गका अनुरागी एवंम् पञ्चाङ्ग स्रष्टाज्युहरु
हार्दिक नमस्कार ।

हामी साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको पहिलो शृङ्खलामा छौँ । यस् शृङ्खलामा पनि दिइएको चित्रपट अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८ः०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट ः संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रपट
———-

पञ्चाङ्ग ०१

हरियाली बीचमा सुन्दर घर भेटिएका छन्।
रातो माटो र कमेरोले राम्ररी लेपिएका छन्।
पहाडका स्वास्थ्यकर घर हेर्दा हुन्छन् चिटिक्क,
यिनमा बढी गर्मी र चिसो दुवै छेकिएका छन्।
प्रकृतिको बिचमा घरको छानो देखिएका छन्

सुशीला पौडेल, काठमाडौं

पञ्चाङ्ग ०२

वनको शितलताले जेलिएको मेरो सुन्दर घर
रातो माटो कमेरोले लेपिएको मेरो सुन्दर घर
लिपेर चट्ट पारी राख्छु कोमल हृदय भित्र चित्र
सङ्गी साथिको आँखामा भेटिएको मेरो सुन्दर घर
खरको छानो पातिले बेरिएको मेरो सुन्दर घर।

सरिता काफ्ले, बाँके कोहलपुर ।

पञ्चाङ्ग ०३

महल होइन झुपडीको बास भए पुग्छ मलाई
सुख होइन केबल तिम्रो पास भए पुग्छ मलाई
पसिनाको कमाइमा बाँच्न परोस् झुक्न नपरोस्
मीठो हैन मात्र सन्तोषको गास भए पुग्छ मलाई
महलको त्रास हैन तिम्रो सास भए पुग्छ मलाई।

निर्मला सुवेदी “जिज्ञासु“, बागलुङ।

पञ्चाङ्ग ०४

मुरीका कुरा हुन्छ घरमा एक मानु छैन
हप्तौं भयो भोक भोकै खाने अन्न दानु छैन
दिन भरि साहुको मेला साँझमा खाली हात
बिरामी भई काम नगरे रिस सानु छैन
कुन जाडो कुन झरी ओत लाग्ने छानु छैन ।

चेतना पोखरेल, मोरङ

पञ्चाङ्ग ०५

गाउँमै किन नहोस् सानो, स्वर्ग जस्तै घर छ मेरो
माटे भित्तो फुसको छानो, स्वर्ग जस्तै घर छ मेरो
स्वार्थ, लोभ, मोह केही छैन संसारकै सुखी छु म,
खान पुग्दछ आधा मानो, स्वर्ग जस्तै घर छ मेरो
छैन कतै कुटिल गानो, स्वर्ग जस्तै घर छ मेरो ।

वसन्त अनुभव घोराही, दाङ

पञ्चाङ्ग ०६

निश्चल सफा सुन्दर शान्त रित हुन् गाउँको
सहयोग अनि सद्भावना मित हुन् गाउँको
शहरभन्दा बढी गाउँघर हो मेरो देश
बगेका ती छाँगा छहरा संगीत हुन् गाउँको
हुँदैनन् कोही पराई सबै प्रित हुन् गाउँको

पुष्पा नेपाल(सुवेदी ), इलाम

पञ्चाङ्ग ०७
———-
पहाडको सौम्य घर प्यारो लाग्छ ।
ढुङ्गा र माटोको भर प्यारो लाग्छ ।
हाँसियो खेलियो छाँगा छहरामा ,
पीपल छेउमा वर प्यारो लाग्छ ।
नेपाली हुनुको थर प्यारो लाग्छ ।

आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ०८

महल हैन फुसकै छानो भएपुग्छ मलाई
कामगरी खान एक मानो भएपुग्छ मलाई
जे जस्तो छ आफ्नै रमाउने बानी छ
पेटभर्न पिडालुको गानो भएपुग्छ मलाई
गाउँमा आफ्नै सानो भएपुग्छ मलाई।

सरस्वती श्रेष्ठ, इटहरी

पञ्चाङ्ग ०९

जंगल बीचमा सानो घर राम्रो लाग्छ मलाई
यहाँ ढुङ्गा र माटोको चर राम्रो लाग्छ मलाई
गाउँमा स्वर्गिय आनन्द पाइन्छ झुपडीमा
शहर भन्दा धेरै गाउँको भर लाग्छ मलाई
गाउँ वरपर अति नै सुन्दर लाग्छ मलाई ।

दुर्गा भट्टराई, मोरङ

पञ्चाङ्ग १०

लहरै सुन्दर घर, आहा कति राम्रो
छानामा छ खरै खर, आहा कति राम्रो
सधैँ बस्न पाऊँ म यस्तै गाउँघरमा
नजिकै होऊन् निर्झर, आहा कति राम्रो
घुमुन् त्यँही चराचर, आहा कति राम्रो

केशब न्यौपाने, नुवाकोट

पञ्चाङ्ग ११

गाउँघरको गाँस राम्रो जहाँआफ्नो पन छ
भिर पाखाको बास राम्रो जहाँ आफ्नो पन छ।
कति खोजेँ पाईन खुसी , हार्दिकता शहरमा
बाह्रै मास मधुमास राम्रो जहाँ आफ्नो पन छ
पुर्ख्यौली नै खास राम्रो जहाँ आफ्नो पन छ।

चन्द्रावती अधिकारी, बाँके कोहलपुर

पञ्चाङ्ग १२

स्वर्ग जस्तो सुन्दर थियो गाउँ अनि बस्ती ,
बिर्सि सके अचेल सबै नाउँ अनि बस्ती ।
प्रकृतिको सुन्दर घरमा रमाइलो थियो ,
कसरि कता खोजौ त्यस्तै पाउँ अनि बस्ती ,
भग्नावशेस मात्र छरे ठाउँ अनि बस्ती ।

दुर्गा आचार्य, मोरङ

पञ्चाङ्ग १३

हरियाली पाखा भित्र मेरो सानो घर छ,
त्यही सानो घरको हेर् धेरै ठूलो भर छ,
सम्पत्ति र प्रतिष्ठा हो मेरो पैत्रिक घर
अन्न-वाली प्रशस्तै नत भोकको डर छ,
गोठ भरि गाई-बस्तु कूँडे भरि तर छ।

अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

पञ्चाङ्ग १४

अहो ! सुन्दर छटाले भरिएको सुन्दर घर हाम्रो
प्रकृतिको यो काखमा सजिएको सुन्दर घर हाम्रो
कैयौ सन्तती जन्मे यहीँ र त नेपाल भन्न पाइयो
हरेकको तन मन मिसिएको सुन्दर घर हाम्रो
आमा बाबाले उपहार दिएको सुन्दर घर हाम्रो ।

प्रेम थापा, बाग्लुङ

पञ्चाङ्ग १५

मेरो गाउँ सफा छ सुन्दर अहो! फोहोर छिर्दैन क्यै
जाली मानिस हुन्न गाउँ घरमा,धाएर पिर्दैन क्यै
बस्दा भित्र समेत शीतल हुने,छानो भएको हुँदा
गर्मी बढ्न गएर दुर्बल भई,पुर्लुक्क गिर्दैन क्यै
कोही भ्रष्ट पुग्यो त्यहाँ र पिटिए,तत्काल फिर्दैन क्यै।

तोयानाथ सुवेदी, काठमाडौं

पञ्चाङ्ग १६

निश्चल सफा सुन्दर शान्त रित हुन् गाउँको
सहयोग अनि सद्भावना मित हुन् गाउँको
शहरभन्दा बढी गाउँघर हो मेरो देश
बगेका तिनै छाँगा छहरा गीत हुन् गाउँको
हुँदैनन् कोही पराई सबै प्रित हुन्! गाउँको

पुष्पा नेपाल (सुवेदी), इलाम

पञ्चाङ्ग १७

पहाडको काखमा आहा ! मेरो सानो गाउँ छ
पुर्खाको पसिनाले अर्जेको यहि ठाउँ छ
जति नै टाढा गए पनि भुल्न सकिन मैले
प्रकृतीको अनुपम सितल यस्को नाउँ छ
तान्छ मनलाई लाग्छ फर्केर त्यही जाउँ छ ।

इन्दिरा देवकोटा, कपिलवस्तु न .पा .३

पञ्चाङ्ग १८

स्वर्ग जस्तो गाउँमा नि सानो मेरो घर छ
पक्कि नभएनि छानामा सुन्दर खर छ
बुढा बा आमा हेर्छन् मेरो बाटो आँखा तान्दै
म छु परदेश, उनको मै माथि भर छ
उतै भएनि मन शरीर आज पर छ ।

रामराजा के. सी., फर्पिङ, काठमाडौं

पञ्चाङ्ग १९

स-साना घर बनाउनेको लाइन चर्को छ
जताततै यताउति बारै बारको धर्को छ
कतै उत्साह कतै निराशा छाएको देखिन्छ
कुन घर जाउँ, मान पाउँ भन्नेको लर्को छ
आफ्नालाई कसरी जोगाउने पिर घर्को छ ।

रचना प्रतीक्षा, काठमाडौं

पञ्चाङ्ग २०

सहरबासी हो, गाउँको घर भयो आहा! सबैलाई
त्यही घरमा जुनी काटी हेर हुन्छ थाहा सबैलाई
प्रकृतिमा बाँच्नका लागि बनाइएका सुन्दरता हुन्
विकास छैन, अभावमा दिन बित्दा, पाहा सबैलाई
सहर जस्तै समुन्नतहोस् भन्ने छ चाहा सबैलाई ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २१

दुर्गम भएपनि खरले छाएको मेरो घर छ
भगवानको आशिर्वादले पाएको मेरो घर छ
सितल हुन्छ गाउँमा नै सुविधा दाउरा घाँसको
दुःख कष्ट गरि कमाएर लाएको मेरो घर छ
पौरखि हातले कमाएर खाएको मेरो घर छ।

सोमनाथ लुइटेल “रवि पाल्पाली“

पञ्चाङ्ग २२

सुन्दर पहिचान हाम्रो सान नेपाली हु म
सद्भाव सहिष्णुता दिएर मान नेपाली हु म
गौरव छ घर गोरसले पुणर् अर्गानिक छ
आर्जन गरि पुराउछु कुटेर धान नेपाली हु म
गुन्द्रीमा छ आनन्द लगाइ तान नेपाली हु म।

गणेश पौडेल, चितवन।

पञ्चाङ्ग २३

फुसको छानो घर छ सानो सुन्दर संसार
अहिले सम्म पुग्दैछ मानो सुन्दर संसार
सरर आयो हिमाली हावा रमायो खुशीले
पोषिलो खाना दुख्दैन गानो सुन्दर संसार
लेखेर बस्छु गितको पानो सुन्दर संसार

गुणनिधि घिमिरे, पाँचथर – मोरङ
हालः अमेरिका


सम्बन्धित शीर्षकहरु

साहित्यिक मासिक जनमतमा प्रकाशित 'पुष्कर अथक रेग्मी विशेष अङ्क' माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाजका…

पाकिस्तानले एक प्रेस विज्ञप्ति जारी गर्दै पहलगाम आक्रमण, आतंकवाद र बलुचिस्तान लिबरेशन आर्मीमाथि आफ्नो प्रतिक्रिया दिएको छ। पाकिस्तानले भनेको छ,…

रूस र युक्रेनले युद्धमा मारिएकाहरूको थप शव आदानप्रदान गरेको क्रेमलिनले जनाएको छ क्रेमलिनका एक सहयोगीका अनुसार, गत महिना टर्किएमा दोस्रो…

प्रतिकृयाहरू
...