Friday 29th March 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- चौध (१४)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७८/ १० / ०४
………………………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल रवि पाल्पाली
सविता के.सी.

भाषा शुद्धीकरण सुझाव :-
सुशीला पौडेल
सविता के.सी.
चन्द्रावती अधिकारी

सङ्कलक :-
सोमनाथ लुइटेल
सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================
चौधौं श्रृङ्खलाको अभ्यासमा दिएको अनुप्रास र स्थायी राखेर १६ अक्षरमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध गरिएको थियो ।

अनुप्रास र स्थायी
मान चमेली , जान चमेली ,छान चमेली , धान चमेली, हान चमेली , तान चमेली , खान चमेली , लान चमेली, दान चमेली , पान चमेली ,सान चमेली आदि
—————————–.

पञ्चाङ्ग ०१

निर्धन छन् सक्छौ भने मिलेर तान चमेली
सम्पत्ति भए तिमीले गरन दान चमेली
आँखाको आँसु सुक्नेछ त्यो सानो सहयोगले
दिलले कसै बाँधेर तिमीले जान चमेली
सम्मान तिम्रो अतिनै बढ्दछ सान चमेली ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा

पञ्चाङ्ग ०२

लागेर अघि नेतृत्व गरि लौ जान चमेली
निमुखा सारा पीडा ती गार्‍हा लौ धान चमेली
नगरी काम नपुग्ला हेर जोगाऊ दिनैमा
योजना ल्याऊ गरिब छेउ लौ ठान चमेली
चुलिन्छ अझ शिखर तिम्रो त्यो मान चमेली ।

-प्रेम थापा ,बाग्लुङ

पञ्चाङ्ग ०३
१)
बर्षादले गर्दा साल फलेन धान चमेली
यस्तै भने अर्को साल पुग्दैन खान चमेली
कसो गरी बाल बच्चा पाल्ने होला भन्दैछु म
आफैं जान नत्र मैले भनेको मान चमेली
मकै पनि राम्ररी केलाएर छान चमेली ॥
२)
कि तिमी आफैं जान नत्र भन्या मान चमेली
भन्या टेर्छन् त टेर्छन् टेर्दैनन् त हान चमेली
भनेकै नमान्ने कस्ता केटाकेटी अचेलका
काम पनि गरून् प्रसस्त दिनु खान चमेली
नत्र बच्चा बिग्रन्छन् मेरो कूरा मान चमेली ॥

-गुणनिधि घिमिरे , पाँचथर हाल अमेरिका

पञ्चाङ्ग ०४

साहारा खोज्दै छु हात समाइ तान चमेली
अरु नसुने पनि यो वचन मान चमेली
शून्य लाग्छ घर आफ्नो शुन्य लाग्छ संसार
सक्छौं भने यो दुखीको भावना जान चमेली
बाँच्ने आस हराउँदै छ,सास धान चमेली।

– निर्मला सुवेदी “जिज्ञासु” बागलुङ।

पञ्चाङ्ग अभ्यास ०५

के ठीक हो के बेठीक हो आफै जान चमेली ।
बुझी सधैँ भरि असल मार्ग छान चमेली ।
के छ र लिनु दिनु दुई दिनको जिन्दगीमा ,
बाटो नै बिराएकालाई आजै तान चमेली ।
आखिरी सत्यको विजय हुन्छ मान चमेली ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ०६

पञ्चेबाजा बजाएर आउँछु लान चमेली
सात फन्को घुम्दै जग्गे थाप्नेछु दान चमेली
कस्ति हौली चौबन्दी र सारीमा सजिँदा तिमी
तयार भएर बसे हुन्छ है जान चमेली
सँगै जिउने र मर्ने कसम खान चमेली।

-केशव न्यौपाने , नुवाकोट

पञ्चाङ्ग ०७

आउँदिन भन्छु संगतले तानी रहेछ
लाेलाेपाेताे छैन इमानले धानी रहेछ
तिमीलाई पहिले अद्भुत साेचि बसेथें
लाएकाे गुन बिर्सने ठूलाे खानी रहेछ
खाेलाे तर्याे लाैराे त बिर्सने बानि रहेछ !

-सुरेशचन्द्र घिमिरे , तनहुँ

पञ्चाङ्ग ०८

धापमा भासिँदैछु, सक्छौ भने तान चमेली
तड्पि रहेछु म प्रत्येक पल जान चमेली
याद नअाएकाे कुनै प्रहर भएन अाज
धमिराले काठ झैं लागिसक्यो खान चमेली
फर्क थामिदेउ हात, भनेकाे मान चमेली ।

-रामराजा के.सी. फर्पिङ काठमाडौं

पञ्चाङ्ग ०९

समपञ्चाङ्ग १
अन्यायमा परेकी छ्यौ अब त मान चमेली
देखावटी, माया भन्ने त्यो तिम्रो भान चमेली
आधा जीवन उसको, आधा हाम्रो बुझ्नै पर्छ
सहेर हुन्न, प्रतिकार गर, हान चमेली
अत्याचारबाट बच्नु भनेको ज्ञान चमेली ।

बैतरणी नाम गाईको बाच्छो दान चमेली
सिरक, डस्ना, पलङ र लुगा थान चमेली
जीवनको अन्त्य निश्चित छ संस्कार आ-आफ्नो
लाभामा चाहिने फूलको माला, धान चमेली
मरेर जान्छन् जाने, बाँच्ने एक्लो ठान चमेली ।

-सविता के.सी. काठमाडौं

पञ्चाङ्ग १०

समपञ्चाङ्ग १
१)
सानु ज्यान दिदा पनि नमान्ने ? मान चमेली,
मायामा महत्व के हुन्छ भन्ने जान चमेली।
तिमी छौँ रत म छु नत्र केछ बाच्नुको अर्थ,
साथ देउन प्रिय नछोडन तान चमेली ,ध
साथ नदिने भए मर्छु बरु हान चमेली।

२)
अचेल त तिम्रो बढेको छरे सान चमेली,
सद्भाव अनि सत्य बाटो तिमी छान चमेली।
कसैले पनि औँला उठाउने मौका नपावस्
बरु तिमीले दु:खको गर्जोनै धान चमेली,
मुठ्ठी एक गरन सिक बरु दान चमेली।

-दुर्गा आचार्य , मोरङ।

पञ्चाङ्ग ११

तिमी आफू अप्ठ्यारोमा परेकी छौं जान चमेली।
तिमीलाई अप्ठ्यारोमा पार्नेलाई हान चमेली।
पत्थरको बदला पत्थरले नै दिनु पर्छ हामी,
सहयोगको हात दिनेलाई तिमी तान चमेली।
तिम्रो भलो चाहने जतिले भनेको मान चमेली।

-सुशीला पौडेल , काठमाडौं

पञ्चाङ्ग १२

त्रिपञ्चाङ्ग १
१)
अनगिन्ती दुखमा नि छोडिनौ सान चमेली
अन्तिम् माटोमै मिल्ने हो भनेको मान चमेली।
घमण्ड नगर न सबैमा मैन्त्रिभाव राख
छोटो समयमा धेरै गर्नु छ जान चमेली।
संसारमा पराइ छैन आफ्नो ठान चमेली।
२)
बाढी पहिरो आइ सबै लग्यो धान चमेली।
अर्को सालसम्म कसरी सक्छ्यौ छान चमेली।
घर व्यवहार चलाउन दुख पर्ने भयो।
भन्टाङ भुन्टुङ पाल्न पुग्दैन खान चमेली।
आफ्नो गास कटाएर गर्यौ नि दान चमेली
३)
दुखियालाइ सहारा दिएर तान चमेली।
तिम्रो समाजमा बढेको हुन्छ मान चमेली।
कहिले सुख कहिले दु ख यात्रा हो जिबन
जोरजाम नगर सामान धेरै थान चमेली।
मरेमा पछि केही पाइदैन लान चमेली।

-लक्ष्मी बस्याल , बर्दिया

पञ्चाङ्ग १३

नेपालकी छोरी हौ नेपालको सान चमेली
संस्कार ,अनुसासनको गर भान चमेली
समाजमा असल शिक्षा सन्देश फैल्याउने
आमा जननीहरु सम्पुर्णको मान चमेली
सन्तानलाई आँखा देखाउने दान चमेली।

-तारा घिमिरे संखुवासभा

पञ्चाङ्ग १४

शत्रु म हुँदै हैन यति तिम्ले मान चमेली ,
दिएछ कस्ले तिमीलाई याे उल्टाे भान चमेली?
अरुका कुरा सुनेर कति चल्छ र यहाँ खै?
मनदेखि तिमी नजिक अाफ्नाे ठान चमेली ।
हेरी सारा दनिया भरि मलाई छान चमेली।।

-चन्द्रावती अधिकारी , बाँके कोहलपुर

पञ्चाङ्ग १५

छोडी नजाऊ बीच बाटोमै तान चमेली
कसरी सक्छौ र तड्पाएर जान चमेली
तिमी साथमा छौ र त सहज लाग्छ यो जीवन
पुग्छ यहि माटोमा मिठो खस्रो खान चमेली
नगर पीर मरी केही छैन लान चमेली

-पद्मा रिजाल बाँके


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...