Tuesday 7th April 2026

लघुकथाः बाँदर नाच -जीवन दाहाल


गाउँ शहर हुँदै, डमरू बजाउँदै र बाँदर डोर्‍याउँदै मदारी आयो । बालक, बृद्ध, तन्नेरी, तरुनी सबै घेरा लागे मदारीको ओरिपरी, चटक हेर्न ।

मदारी खुल्ला ठाउँमा बस्यो र बाँदरका डोर्‍याइ रहेको डोरी भुइँमा छोडिदियो अनि डमरू बजाउँदै भन्यो-“जमुरे आजकल कि लडके और लडकियाँ कैसे लभ करते है ? अनारकली के पास जाकर दिखाओ मै तुम्हे गाँजर कि हलवा खिलाउंगा।”

बाँदर बुरुक्क उफ्रियो र बाँदरनी(सुन्दरी) लाई अँगालो मारेर बाँदरनीका गालामा मुख जोत्यो । बाँदरको क्रियाकलाप देखेर तन्नेरीहरु हा-हा-हा गर्दै ठुलो ठुलो स्वरले हाँसे आ-आफूमा भाग लगाएका तरुनीहरुलाई हेर्दै र तरुनीहरुले चैं पुलुक्क तन्नेरीको मुख हेरे अनि लाजले मुख रातो बनाउँदै घोसेमुण्टो लगाएर खुट्टाको बुढी औंलाले भुइँ कोतर्न थाले ।

फेरि मदारीले हातमा बोकी राखेको लौरो भुइँमा फाल्यो र आदेश दियो-“बाबु लोग कैसे ससुराल जाते है लड्डु मिलेगा ?

बाँदरले भुइँको लौरो टिप्यो र दुबै हात पछाडी लगेर बाङ्गो बनायो अनि बाङ्गिएका ठाउँमा लौरो घुसारेर कुप्री पर्दै पर्दै मदारीलाई तीन फन्का घुम्यो । अधबैंसेहरु उसैगरी हललल्ल गरेर हाँसे आफ्ना विगत सम्झीएर ।

अनि मदारीले बाँदर बांँदरनीलाई डक्टर बन जाओ अनारकली से सादी करवाउंगा, शिक्षक बनो …, प्रहरी बनो …., चोर बनो… वकिल बनजाओ ….आदिआदि भन्दै अनेक पात्र बनाउँदै गयो, उसले बनाउन सक्ने जति र बाँदर बाँदरनीले पनि खुसीसाथ अभिनय गर्दै गए मालिकले अह्राए झैं ।

तमासेहरुले पनि खुब मजा लिए मदारीको बाँदरबाट र तमासा हेरेर फर्कदा-“सदाउन पनि बजियाले कति राम्रोसँग सदाएछ भनें नि, जे जे भन्यो त्यै त्यै दुरुस्तै पो गर्दो र’छ त गाँठे”-भनेर प्रसंशा गर्दै थिए ।

मैतिदेवी, काठमाडौ ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...