कालो शोक बदल्न खोज्छु बलले,यो शक्ति बेकार भो ।
छाँया मात्र अँगाल्छ दृष्य भ्रमले,बोलेर के सार भो ।।
सम्झी घुक्क बनेर रुन्छ दिलनै,चस्किन्छ छाती अनि ।
मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।।
पोखी भित्र मिठास भोक भरिलो,खाएर मोही मकै ।
आशै आश अनन्त प्रेम रसिलो,घुल्दैछ सम्झी कतै ।।
यो संसार बेकार लाग्छ कहिले,माया निराशा खनी ।
मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।।
वित्दै आउँछ साल फेर्छ ऋतुले,वर्षा र बाढी सँगै ।
सम्झी तृप्त हुँदैन लौ रहर यो,बाल्दैछ आगो अझै ।।
कस्तो प्रेम अनन्त सम्म रहने,आगो बलेको छ नि ।
मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।।
भैंसी गोठ कुँडो पकाउन अझै,आएन कोही सरी ।
पानी लाउन धान खेत विरुवा,तड्पीन्छ कान्ला भरी ।।
सोध्छन् वाल सखा म भेट्छु जहिले,मूना कहाँ छन् भनी ।
मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।।
छोरी छन् त विदेश पंकज उतै,अष्ट्रेलियामा सबै ।
छोरा पारस छन् उतै सब यता,विर्से कि ?लाग्ने कतै ।
सम्झी झट्ट म पस्छु लौ भवनमा,तस्वीर एक्लो छ नि ।
मूना ट्रष्ट सँगै दिदी मनभरी,छल्किन्छ आँखा पनि ।।
-जनार्दन अधिकारी ‘धड्कन’