Friday 3rd May 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- ११


“पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिती :- २०७८/ ०९/ १३
………………………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल रवि
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
सुशिला पौडेल
सविता के.सी.
चन्द्रावती अधिकारी

सङ्कलक :-
सोमनाथ लुइटेल
सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================
एघाराैं श्रृङ्खलाको अभ्यासमा दिएको अनुप्रास र स्थायी राखेर १६ अक्षरमा पञ्चाङ्ग लेख्न हुन अनुरोध गरिएकोमा अभ्यासमा सहभागी भइ पञ्चाङ्ग लेख्नुहुने सबैलाइ धेरै धेरै धन्यवाद ।

अनुप्रासहरु :-
पिलो , टिलो, गिलो, हिलो, जिलो, किलो, निलो, ढिलो, थिलो, अमिलो, धमिलो, गमिलो, कमिलो

स्थायी :- बनायौ मलाइ
—————————–

पञ्चाङ्ग १

जता पायो त्यतै ठोक्ने किलो बनायौ मलाई
काम नभएको कस्तो टिलो बनायौ मलाई
तथानाम गर्दापनि तिम्रो मन भरिएन
हान्दा हान्दै तिमीले त थिलो बनायौ मलाई
कैले दुख्ने कैले सुक्ने पिलो बनायौ मलाई।

-सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग २

चिप्लेर लड्ने असारे हिलो बनायौ मलाई,
निर्जीव जस्तै बिकामी सिलो बनायौ मलाई।
मरेर जानु न गरी खानु कसरी बाँचू म,
लुटेर खायौ अशेष जिलो बनायौ मलाई।
मरेर जाने मुर्दाको टिलो बनायौ मलाई।।

-नारायणप्रसाद निरौला, काठमाडौँ।

पञ्चाङ्ग ३

गोठमा बाँध्ने फलामे किलो बनायौ मलाई ।
देखाइ आशा आखिरी ढिलो बनायौ मलाई ।
लेक र बेसी पुर्खाको बाटो रोजेर हिँडेको ,
मुटुको माझ गहिरो पिलो बनायौ मलाई ।
जिन्दगी सारा हानेर गिलो बनायौ मलाई ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ४

सधैं कुट्छाै किन हाे थिल्थिलाे बनायाै मलाई
कतै काठ जाेड्दा ठाेक्ने किलाे बनायाै मलाई
तिम्रो सेवा गर्दै बसेँ अाजसम्म स्वार्थ विना
तर किन शरीरमा निलाे बनायाै मलाई
सारै सताई मनै धमिलाे बनायाै मलाई ।

-तोयानाथ सुवेदी, काठमाडौं

पञ्चाङ्ग ५

ठोकेर अझ मुटुको किलो बनायौ मलाई
रोकेर पद दिमागी गिलो बनायौ मलाई
बोकेर दु:ख , भएन सुख कोलाई भनौं म
टोकेर सदा झैं थिलथिलो बनायौ मलाई
तोकेर भन्छु असाध्यै ढिलो बनायौ मलाई ।

-प्रेम बहादुर थापा, बाग्लुङ

पञ्चाङ्ग ६

दोबाटोमा फालिएको टिलो बनायौ मलाई
मुख बेगरको कैटे पिलो बनायौ मलाई
जो होचो छ उसकै मुखमा घोचो भन्थ्ये सबै
दल दलमा भासिने हिलो बनायौ मलाई
टेकेर उठ्नै नसक्ने थिलो बनायौ मलाई।

दुर्गा आचार्य
मोरङ

************************

पञ्चाङ्ग ७

मेरो मन् यता सधैं धमिलो बनायौ मलाई
तिम्रो सोच उता फराकिलो बनायौ मलाई
असाध्यै स्वार्थी धेरै पापी रहेछौं तिमीहरू
यता बाँच्न कस्तो झन्झटिलो बनायौ मलाई
तिम्रो व्यबहारले गतिलो बनायौ मलाई।

-तारा घिमिरे,संखुवासभा

पञ्चाङ्ग ८

मनका रहर मारी टिलो बनायौ मलाई,
अर्कै शहर सारेर निलो बनायौ मलाई !
आफ्नै मात्र खुसी चाहने रैछौ आखिर तिमी
सफलताको भिडमा ढिलो बनायौ मलाई,
प्रेमकै बाजि हारेको जिलो बनायौ मलाई !!

-चेतना पोखरेल, मोरङ

पञ्चाङ्ग ९

मरेपछि काम लाग्ने बुर्की र टिलाे बनायाै
अाँखालाई मेराे सँधै असारे हिलाे बनायाै
खेल्न सम्म खेल्याे नि मेराे मुटुसँग तिमीले
बाँच्नै नसक्ने गरि अाज त थिल्थिलाे बनाया‌ै
पुगेपछि इच्छा, निचाेर्दै फाल्ने पिलाे बनायाै।

-रामराजा के. सी., फर्पिङ, काठमाडौं

पञ्चाङ्ग १०

विष भर्यौ खुशीमा अमिलो बनायौ मलाई
गनाउने ढल जस्तो हिलो बनायौ मलाई
हारे मैले जिन्दगीमा तिमीले हार्नु नपरोस्
यो जिन्दगी मुर्दामाथि टिलो बनायौ मलाई
न मर्नु न बाँच्नु असजिलो बनायौ मलाई ।

पुष्पा नेपाल(सुवेदी )
इलाम

पञ्चाङ्ग ११

जीउमा चिल्ने तुच्छ कमिलो बनायौ मलाई
चट्ट मिठो मुखले अमिलो बनायौ मलाई
सोचेभन्दा फरक हुने हरेक घटनामा
बोलीमा अनुहार गमिलो बनायौ मलाई
निश्चल लाग्थ्यो आँखा धमिलो बनायौ मलाई।

-सविता के.सी ., काठमाडौं


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...