Wednesday 14th October 2026

गद्य कविता:- प्रकृति र मेरो कलम -शोभा कडरिया कोइराला


प्रकृतिको मनमोहक दृश्यसँगै
अनुकूल वातावरणलाई पछ्याउदै,
बयान गरिरहन्छ मेरो कलम
सिर्जनात्मक कार्यमा समर्पित हुँदै यसरी-

ए प्रकृति !
आफैमा सुसज्जित
अनेक लता, लहरा, खोला, खहरे
सुन्दर बोट- वनस्पति,
चट्टानमा फूल फुलाउने
तिम्रो अद्भुत शक्ति पछ्याउँदै,
उजाड मरुभूमिमा रमाउने
बानी परेको छ मलाई ।

सम्झिन्छु,
वसन्त ऋतुको आगमन,
पल्लवी हरियो मुना,
वनकुञ्ज गुन्जिरहने
कोइलीको मधुर धुन,
वनपाखामा नाचिरहने मयुर
यिनै शक्तिले त मेरो कलम
चलिरहन्छ सधैँ सधैँ ।

तर आजकल यो मनोरम साथको
अभाव महसुस गरिरहेको छ
मेरो कलमले,
प्रश्न गरिरहन्छ-
दशैँको आगमन सम्झाउने
ती मालचरीहरू कहाँ गए?
वर्षा भित्राउने
ती झ्याउँकिरीहरू कता गए?
अनि
सुधापान गराउने प्रकृति जननीको छातीमा,
गोलाबारुद किन वर्षिए ?
किन लुटिएकी छन् प्रकृति,
आफ्नै सन्ततिबाट दिनहुँ ?

मौन छिन जननी,
हो, प्रकृति आफ्नै अनुशासनमा छिन् ।
बिहानको झुल्के घाम,
रात्रीको जुन, नदी र हावा
आफ्नै गतिमा बहेकै छन् ।
सित्तैमा सेवा प्रवाह
गरिरहेकै छिन् प्रकृति ।

यिनैको आड लिएर
प्रकृतिले दान गरेको भेटीलाई
मूल्य तोकी,
बेचिरहेका छन् दलालहरू
मोटाइरहेका छन् स्वार्थीहरू
आफ्नो इज्जत र प्रतिष्ठालाई
तिलाञ्जली दिइरहेका छन् ।
त्यसैले त
कलम स्तब्ध छ आजकल मेरो ।

कसरी सहनु खोइ ?
सेतै हुस्सुले ढाकिएको,
विधवा प्रकृतिको आँखाबाट
तप्प तप्प आँसुका थोपाहरू
खसिरहेका छन् शीत बनी ।
फेरि पनि कलम सान्त्वना दिँदै भन्छ-
प्रकृति हाम्रो प्राण हो
उसलाई जीवन्त राख्नु हाम्रो कर्तव्य हो ।
त्यसैले प्रिय प्रकृति !
म तिमीलाई औधी प्रेम गर्छु ।
जबसम्म लुटिएका तिम्रा
खुशीहरु फिर्ता हुँदैनन्,
तबसम्म मेरो कलम
चलिरहने छ, चलिरहने छ ।।

शोभा कडरिया कोइराला
पाल्पा


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...