Friday 31st July 2026

खाडीमा भन्दा बारीमा मनग्य कमाइ


तितोपाटी- ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन।’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन्। गायिका अरुणा लामाको स्वरमा रहेको सो गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी विताउने लालसामा वैदेशिक रोजगारीका लागि विदेश गएर सयौं हण्डर खाएका युवाको जिन्दगी सोचेजस्तो हुने कुरै भएन।

अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन्।

त्यस्ता धेरै युवामध्येका तीनजना प्रतिनिधि पात्र छन् म्याग्दीको मङ्गला गाउँपालिकाका जीवन पौडेल, बेनी नगरपालिका–२ ज्यामरुककोटका हरिलाल घिमिरे र बेनी नगरपालिका–६ अर्थुङ्गेका नरेश जिसी। जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएका यी तीनैजना युवाको पहिले र अहिलेको अवस्था करिब करिब मिल्दोजुल्दो छ। साउदी अरब, कतार र युएईमा एक दशक भन्दा बढी परिश्रम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका यी तीनजना युवाको जीवनको उत्तराद्र्धमा बल्ल हरियाली छाउन थालेको छ।

मङ्गलाका ४७ वर्षीय पौडेल, ज्यामरुक कोटका ५३ वर्षीय घिमिरे र अर्थुङ्गेका ४८ वर्षीय जिसीले जीवनको युवा अवस्था क्रमशः साउदी अरब, कतार र युएईको चर्को घाममा पसिना बगाउँदैमा बिताए। खाडी मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि उहाँहरुको जिन्दगीमा खुसी फर्किएको छ।

अर्का किसान घिमिरे पनि तरकारी खेतीबाट सन्तुष्ट छन्। ‘विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्केर आएँ, अनि तरकारी खेती सुरु गरेँ’, उनले भने, ‘कतिले मलाई विदेश छोडर बारीको माटोमा पैसा फलाउने रे भनेर गिज्याए। तर, म आफ्नो काममा लागिरहेँ।’ घिमिरेले यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ भने। त्यसैगरी अर्थुङ्गेका जिसीले पनि विदेशको बसाइँलाई बिट मारेर गाउँमै कृषि कर्ममा रमाउँदै राम्रो कमाइ गरिहेका छन्। उनको तीन रोपनी बारीभरी लटरम्म तरकारी फलिरहेको छ। बजारमा स्थानीय तरकारीको माग रहेकाले बिक्रीको कुनै समस्या छैन। तरकारी बेचेर मासिक ३० हजारभन्दा बढी आम्दानी हुने गरेको उनले बताए।

अहिले रोजगार पाउन नसकेको भन्दै धेरै युवा विदेशिने गरेका छन्। तर, म्याग्दीमा भने विदेशबाट फर्केर आएका युवाले तरकारी, फलफूल खेती र पशुपालन गरेर विदेशको भन्दा बढी कमाइ गरिरहेका छन्। स्थानीय तह र सम्बन्धित सरकारी निकाय तथा गैरसरकारी सङ्घ संस्थाले पनि व्यावसायिक किसानलाई प्रोत्साहन गर्ने, कृषि औँजारदेखि मल बीउसम्म सहयोग गर्ने र आर्थिक अनुदान समेत उपलब्ध गराउने गरेकाले धेरै युवाको कृषि पेसातर्फ आकर्षण बढ्दै जान थालेको पाइएको छ।

युवालाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि कृषि औजार र मल बीउ खरिदमा अनुदान, सिँचाइको प्रबन्ध, ठूलो क्षेत्रफल र ठूलै समूहमा खेती किसानी गर्न प्रोत्साहन गर्नुपर्ने यस क्षेत्रमा लागेका युवा बताउँछन्। जिसीले भने, ‘हामी पाँच लिटर दूध उत्पादन गरेर बिक्री हुँदैन, के गाईपालन गर्नु भन्छौं। एक डोको सिमी फलाएर बिक्री नै हुँदैन, किन सब्जी खेती गर्नु भनेर क्यारेमबोर्ड खेलेर बस्छौं। त्यसो होइन। हामीले हरेक उत्पादन ठूलो मात्रामा गर्नुपर्छ।’

उनका अनुसार कृषिलाई परम्परागत होइन, आधुनिक र प्रविधिकरण गरेर थोरै श्रमबाट धेरै उत्पादन दिन सक्नुपर्छ, जसले गर्दा लागत कम हुन्छ। यसका साथै यसले ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै बढाउनेछ। सबै युवा उद्यममा लागेपछि गाउँमा दिगो आर्थिक गतिविधि हुनेछ।साभार नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा भएको ड्रोन आक्रमणमा परी नेपाली नागरिक सोम कुमार तामाङ (४४) को निधन भएको घटनालाई नेपाली राजदूतावास, कुवेत ले आधिकारिक…

देशको दक्षिणमा हिन्दू र मुस्लिम समूहहरू बीच भएको झडपमा तीन जनाको मृत्यु भएपछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले शान्त रहन आह्वान…

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको…

प्रतिकृयाहरू
...