Tuesday 21st July 2026

महन्थले पनि पार्टीको नाम फेरेर दिए नयाँ दल दर्ताको निवेदन


जनता समाजवादी पार्टीबाट विभाजन भएर गएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि पार्टीको नयाँ नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ।नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखेर ठाकुर पक्षले शुक्रबार आयोगमा दर्ताका लागि निवेदन दिएको हो।

नेता सुरेन्द्र झाका अनुसार पार्टी अध्यक्षमा महन्थ ठाकुर छन् भने बरिष्ठ नेतामा राजेन्द्र महतो र शरदसिंह भण्डारी छन्। लोसपाको केन्द्रीय कार्यकारिणी समिति ३१ सदस्यीय छ।यसअघि ठाकुरले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेको थियो। आयोगले उस्ताउस्तै नाम भएका पार्टी दर्ता गर्न नमिल्ने बताएका उनीहरूले पार्टीको नाम फेरेर निवेदन दिएका हुन्।

यसअघि एमालेबाट विभाजन भएको माधवकुमार नेपाल समूहले पनि पार्टीको नाम फेरेर आजै आयोगमा दर्ताका लागि निवेदन दिएको थियो। आयोगले उस्ताउस्तै नाम राख्न नमिल्ने बताएपछि नेपाल समूहका नेताहरूले यसअघि राखिएको नेकपा एमाले (समाजवादी) नाम बदलेका हुन्। नयाँ पार्टीको नाम नेकपा एकीकृत समाजवादी राखेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘हामीले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवदेन दिएर आएका छौं,’ खतिवडाले सेतोपाटीसँग भने। उनीहरूले केही दिनअघि जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार दल विभाजन गरी नयाँ दल दर्ताको निवेदन दिएका हुन्।अब उनीहरूको दलमा रहेका सदस्यहरूको सनाखतका लागि निर्वाचन आयोगले बोलाउने छ।

‘उहाँहरूको निवेदन आएपछि आयोगले पार्टीको नाम, विधान, घोषणा पत्र, केन्द्रीय समितिका सदस्यको नाम, दस्तखत, ३३ प्रतिशत महिलालगायत सबै कुरा मिलेको छ कि छैन भनेर हेर्छ,’ आयोगका एक अधिकारीले भने,‘त्यसपछि आयोगले नयाँ पार्टी दर्ता गर्न चाहनेहरूलाई सनाखतका लागि बोलाउँछ। त्यो दिन आएर उहाँहरूले सनाखत गरेपछि नयाँ पार्टी बन्छ।’ ती अधिकारीका अनुसार आयोगले बोलाएको दिन निर्वाचन आयोगमा गएर सनाखत गर्ने सांसद र केन्द्रीय सदस्यमात्रै नयाँ पार्टीमा हुन्छन्। अर्थात् त्यो दिन एमालेका केन्द्रीय सदस्य र सांसदमध्ये जो पनि सनाखत गर्न जान्छन्।

बुधबार नेपाल समूहका दोस्रो तहका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, रघुजी पन्तलगायत निर्वाचन आयोग पुगेका थिएनन्। कतिले उनीहरूले नेपालको साथ छोडेको बताएका छन् तर सनाखत हुने दिनसम्म उनीहरूले कसको पक्षमा जाने भन्ने निर्णय गर्न सक्नेछन्।

बुधबार जारी भएको अध्यादेशमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यको २० प्रतिशतले पार्टी विभाजन गर्न पाउने व्यवस्था गरेको छ। नेकपा एमालेको महाधिवेशनबाट २०३ जना केन्द्रीय सदस्य बनेका थिए। २०३ को २० प्रतिशत ४१ जना हुन्छ। बुधबार आयोगलाई दिएको जानकारी पत्रमा नेपाल समूहले महाधिवेशनबाट आएका ५८ केन्द्रीय सदस्यले नयाँ पार्टी बनाउन लागेको उल्लेख गरेका छन्।सांसदको हक भने संसदीय दलको २० प्रतिशत सांसद आएका छौं भनेर संसद सचिवालयबाट पत्र ल्याए आयोगले मान्यता दिनेछ।यसरी सबै कुरा तीव्र गतिमा अघि बढे अबको १० दिनमा माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता हुने आयोगका ती अधिकारीको भनाइ छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

आज जनताको व्यापक विरोधपछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क (कर) हालका लागि लागू…

स्पेनले उपाधि जितेसँगै फिफा विश्वकप २०२६ औपचारिक रूपमा सम्पन्न भएको छ। तीन आयोजक राष्ट्रमा आयोजित प्रतियोगितामा ४८ टोली, १०४ खेल…

प्रतिकृयाहरू
...