Sunday 2nd November 2025

विराटनगरका खोप केन्द्रमा थेगी नसक्नुको भिड, संक्रमणको जोखिम बढ्यो


तितोपाटी- कोरानाविरुद्धको खोप लगाउन सुरु भएसँगै विराटनगरका खोप केन्द्रमा सर्वसाधारणको थेगीनसक्नुको भिड लाग्ने गरेको छ । पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश १ मै कोरोना महामारीको केन्द्र बनेको विराटनगरमा खोप लगाउन नगरवासीको तँछाड मछाड नै चलेको छ ।

चिनियाँ कम्पनीको भेरोसेल खोप लगाउन खोप केन्द्रहरूमा लाग्ने गरेको भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई समेत सकस पर्दै आएको छ । विराटनगरमा सोमबारदेखि खोप लगाउन सुरु गरिएको हो । तर, अत्याधिक भिड लाग्न थालेपछि खोप केन्द्रहरूमा भौतिक दुरीसमेत कायम हुन सकेको छैन । यस्तो जोखिमपूर्ण भिडले कोरोना संक्रमण थप फैलनसक्ने भन्दै चिकित्सकले सचेत गराएका छन् ।
विराटनगर महानगरपालिकाका १८ वटा वडामा भेरोसिल खोप लगाउन सुरु गरिएको महानगरले जनाएको छ । वडा नम्बर ३ ले भने भौतिक दुरी कायम गराउने र अधिक भिड हुन नदिनेगरी व्यवस्थापन गर्ने भन्दै बुधबारबाट मात्र खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।
नेपाल सरकारले चीनबाट खरिद गरेर ल्याएको भेरोसेल लगाउन खोप केन्द्रहरूमा बिहानैदेखि घुइँचो लागेको छ । विराटनगरको वीरेन्द्र सभागृह र परिवार नियोजन संघको केन्द्रमा सर्वसाधारण बिहानैदेखि लाइन लागेर पालो कुरिरहेका छन् । कोसी अस्पताल केन्द्रमा पनि मानिसहरूको बाक्लो जमघट देखिएको छ । छाता ओढेर उभिएका सर्वसाधारणको लाइन सडकसम्म छ । महानगरले ५५ वर्ष उमेर माथिका व्यक्तिहरूलाई खोप लगाउन सुरु गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।
छुटेका फ्रन्टलाइनर, बैंकर, स्वास्थ्यकर्मीलगायत पनि तोकिएको केन्द्रमा खोप लगाउन पुगेका छन् । तर, पालो कुर्न लामो समय पर्खनुपर्ने भएपछि कतिपय भने त्यसै फर्किएका छन् । विराटनगरस्थित एक बैंकका कर्मचारीले पहिले कोरोना लागेर खोप लगाउन छुटेको र अहिले चिकित्सकको सल्लाहअनुसार खोप लगाउन मिल्ने अवधि भएपछि परिचयपत्र बोकेर केन्द्रमा आउँदा ठुलो घुइँचो भएकाले नलगाएर फर्किएको सुनाए । वीरेन्द्र सभागृह परिसरमा भेटिएका स्थानीय दिनेश साहले एक घण्टाभन्दा धेरै समय उभिएको बताउँदै भने, “खोप लगाउन बिहानै आएर लाइनमा बसेको थिएँ ।”
कोसी अस्पतालस्थित केन्द्रमा पनि ठुलो घुइँचो देखिएको छ । कोसी अस्पतालका मेसु चुमनलाल दासले धेरै भिडभाड भए कोरोनाको संक्रमण थप फैलने जोखिम हुने बताउँदै भने, “आफू र आफ्नो स्वास्थ्यको ख्याल गर्दै खोप केन्द्रसम्म पुग्नुपर्छ । अधिक जोखिम हुन नदिन स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न जरुरी छ ।”
विराटनगर महानगरपालिकाको खोप समन्वय समितिको आइतबार बसेको बैठकले महानगरपालिकाको तीन वटा स्थानमा खोप केन्द्र निर्धारण गरेको थियो । मेयर पराजुलीले भने, “हामीले सकेसम्म भौतिक दुरी कायम गराएर लाइनमा लाग्न अपिल गरेका छौँ । नत्र त खोप केन्द्रमै कोरोनाको जोखिम हुनसक्ने विषयमा पनि सर्वसाधारणलाई सचेत गरिएको छ ।”  वडा कार्यालयका कर्मचारीहरूले खोप केन्द्र पुगेका स्थानीयहरूको नागरिकतामा उल्लेख उमेरका आधारमा सहजीकरण गरिरहेको बताइएको छ । प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ९२ लाख ४० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विदेश जानेहरूका लागि जिल्ला प्रशासन कार्यालय मोरङको सिफारिसमा जनस्वास्थ्य कार्यालयमा गई खोप लगाउने व्यवस्थापन गरिएको जनाइएको छ ।बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण…

नेपालको आजको जुन स्थिति छ, एउटा अति नै गम्भीर अनि अति नै अप्ठ्यारो स्थितिमा नेपाल उभिएको छ । मलाई लाग्छ,…

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत,…

प्रतिकृयाहरू
...