Saturday 14th June 2025

काठमाडौंमा भेटियो नक्कली प्रमाण पत्र बनाउने कारखाना


नागरिकता, ड्राइभिङ लाइसेन्स, शैक्षिक प्रमाणपत्र, सीटीइभीटीको सर्टिफिकेट जम्मै नक्कली
तीतोपाटी डटकम-काठमाडौं । मोरङको बयरवन घर भई काठमाडौंको शान्तिनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ४१ वर्षीय रेवतीरमण निरौलालाई ‘कीर्तेप्रसाद’ भन्दा फरक पर्दैन । पैसा तिरेपछि उनले सरकारी कागजात कीर्ते गरेर जे पनि दुरुस्तै बनाइदिन्थे । फार्मेसीको लाइसेन्स, एसएलसीदेखि स्नातकसम्मको ट्रान्सक्रिप्ट, सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, नागरिकता, ड्राइभिङ लाइसेन्स जम्मै बनाइदिन्थे निरौलाले ।

प्रहरीले निरौलाको फ्ल्याटबाट ५ बोरा कीर्ते कागजात, १९१ थान विभिन्न सरकारी कार्यालयका छापका साथै विभिन्न सरकारी निकाय तथा शैक्षिक संस्थाको छाप आदि बरामद गरेको छ ।सरकारले प्रवीणता प्रमाणपत्र तहमा फार्मेसी अध्ययनका लागि तोकेको शुल्क ३ लाख ३७ हजार ५ सय रुपैयाँ हो । ३ वर्षे फार्मेसी अध्ययन गरिसकेपछि पनि फार्मेसी काउन्सिलले लिने परीक्षा पास गरेपछि मात्रै लाइसेन्स लिन पाइन्छ । त्यसपछि मात्रै फार्मेसी पढेको मान्यता हुन्छ र औषधिको बेचबिखन गर्न पाइन्छ । तर, भारतबाट नक्कली सर्टिफिकेट बनाएर ल्याउने र नेपालमै फार्मेसी पढेर पनि काउन्सिलको परीक्षा पास गर्न नसक्नेहरुलाई निरौलाले मोटो रकम लिएर पास गराउने गरेको तथ्य खुलेको छ ।

बुधबार महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर नक्कली कागजात बनाउने गिरोह सार्वजनिक गरेपछि नक्कली शैक्षिक प्रमाणपत्र बनाई किर्ते गरेको तथ्य बाहिर आएको हो ।नक्कली कागजात बनाई किर्ते गर्ने साविकको मोरङ जिल्ला बयरबन गाविस वडा नम्बर ७ स्थायी घर भई हाल शान्तिनगर काठमाडौंमा डेरा गरी बस्ने ४१ वर्षीय रेवतीरमण निरौला पक्राउ गरेसँगै नक्कली परीक्षार्थी खडा गरेर परीक्षा पास गराउने तथ्य बाहिर आएको हो ।

अपराध महाशाखाले शान्तिनगरस्थित निरौलाको फ्ल्याटबाट बरामद गरेको कागजातमा त्रिभुवन विश्वविद्यालयका ट्रान्सक्रिप्टदेखि उच्च माध्यामिक शिक्षा परिषद्, एसएलसी, सिटिईभिटी, पूर्वाञ्चाल विश्वविद्यालय आदि शैक्षिक संस्थाका नक्कली मार्कसिट र प्रमाणपत्र फेला पारेको छ ।त्यसैगरी सीटीइभीटी, फार्मेसी काउन्सिल, मेडिकल काउन्सिल आदि परीक्षाका लागि नक्कली परीक्षा प्रवेशपत्र पनि फेला परेको छ । प्रहरीले निरौलाको फ्ल्याटबाट फेला पारेको हिसाबको लगतमा विभिन्न व्यक्तिसँग विभिन्न तहका शैक्षिक प्रमाणपत्र बनाएको शुल्क लिएको देखिएको छ ।

निरौलाको एउटा लगबुकमा २०७४ सालमा इमरान अन्सारी नाम गरेका एजेण्टमार्फत् फार्मेसी परीक्षा पास गराएवापत १ लाख ३० हजार शुल्क लिएको पाइएको छ ।फार्मेसी परीक्षा कसरी पास गराएको हो भनी रातोपाटीले नक्कली कागजात बनाउने रेवतीरमणलाई सोद्धा उनले नक्कली परीक्षार्थी पठाएर पास गराएको बताए ।

नक्कली परीक्षार्थी कसरी पठाउने भन्ने प्रश्नमा उनले फार्मेसी काउन्सिलले जारी गर्ने परीक्षा प्रवेशपत्रको सट्टा नक्कली प्रवेशपत्र बनाएर परीक्षा दिन पठाउने गरेको सुनाए । त्यसवापत उनले विद्यार्थीबाट लाखौं रकम उठाउने गरेका थिए ।निरौलाको लगबुकमा एमएससीको नक्कली ट्रान्सफर सर्टिफिकेट बनाएको १५ हजार, एसएलसी र प्सल टु को मार्कसिट बनाएको २६ हजार लिएको उल्लेख छ । इमरान अन्सारीकै नाममा फार्मेसी मात्रै लेखेर ४५ हजार, त्यसैगरी श्यामकुमार, शिव राम, अभिनन्दन साह, श्रीराम भगत, शविर अन्सारी, हसिब अन्सारी, अस्लाम अन्सारी आदिका नाममा फार्मेसी शीर्षकमा ४५ हजारका दरले शुल्क लिएको पाइएको छ ।

त्यसैगरी बीए, बीबीएसलगायतका ट्रान्सक्रिप्ट सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, आदि बनाएको १० देखि ३५ हजारसम्म शुल्क लिएको पाइएको छ । नक्कली नागरिकता, सवारी लाइसेन्स आदि बनाएको १० हजारसम्म शुल्क लिएको भेटिएको छ ।

सुब्बामा जागिर नपाएपछि सरकारी कागजात किर्ते सुरु

पक्राउ परेका आरोपी रेवतीरमण निरौलाले सरकारी सेवामा फारम भरेर वैकल्पिकमा आफ्नो नाम निस्किएको बताएका छन् । तर, नाम निकाल्ने कसैले पनि जागिर नछाडेका कारण आफूले जागिर पाउन नसकेको र सरकारी कागजात किर्ते गर्न थालेको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन् ।
महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार भारतबाट सवारीसाधन चोरी गरी नेपाल ल्याएर बेच्ने गिरोहका सदस्य मधुसुदन पाण्डे र कमलबाबु पुरी भन्ने कमलबाबु भट्ट पक्राउ परेपछि प्रहरी रेवतीरमण निरौलासम्म पुगेको हो । पाण्डे र भट्टको साथमा नक्कली बिलबुक भेटिएपछि कसले कसरी बनाइदियो भनेर खोज्दै जाँदा निरौला पक्राउ परेका हुन् ।

आरोपीको दाबी– नक्कली सर्टिफिकेटबाटै उपसचिव सम्म बनेका छन्

सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका आरोपीले आफूले बनाइदिएको सर्टिफिकेटका कारण केही व्यक्तिहरु सरकारी सेवामा उपसचिवसम्म पुगेको प्रहरीलाई बयान दिएका छन् ।किर्तेको आरोपमा पक्राउ परेका निरौलासँग प्रारम्भिक वयान लिने क्रममा आरोपीले आफूले बनाइदिएको सर्टिफिकेटबाट सरकारी सेवामा उपसचिवसम्म बनेको बयान दिएको एक प्रहरी अधिकृतले बताए । त्यसबारे थप अनुसन्धान सुरु भएको उनले बताए ।

@रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ । शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका…

शुक्रबार बिहान दर्जनौं सैन्य लक्ष्य र इरानी आणविक स्थलहरूमा आक्रमणको प्रारम्भिक लहरमा दर्जनौं इजरायली विमानहरूले भाग लिए। इजरायलमा सम्भावित इरानी…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूमाथि गरेको कारबाहीको विरोधमा प्रदर्शनको जवाफ दिन सेनालाई सक्रिय गर्ने निर्णयलाई लिएर अमेरिकीहरू विभाजित छन्, जसमध्ये…

प्रतिकृयाहरू
...