Sunday 17th May 2026

१८ वर्षे शिवु जो गाउँभरको फोहोर बटुल्छन्, मल बनाएर बेच्छन्


तीतोपाती डटकम-रूपन्देही, सैनामैनाका शिवु भण्डारी १८ वर्ष भए। अहिले कक्षा ११ पढ्दैछन्। उमेर कलिलै भए पनि शिवु आफ्नो कामले पाका भइसकेका छन्।उनी वार्षिक पाँच हजार किलो कम्पोस्ट मल बनाउँछन्। यो मल प्याकेजिङ गरेर घरबाट झन्डै २० किलोमिटर परको बुटवल बजार पुर्‍याउँछन्। त्यहाँबाट यो मल काठमाडौंसम्म आइपुग्छ। ‘जिबी’ ब्रान्ड नामबाट बिक्री भइरहेको उनले बनाएको मल विशेषगरी कौसी खेतीमा प्रयोग हुन्छ।

शिवुले यसरी तयार पारेको मल बिक्री गर्न थालेको दुई वर्ष भइसक्यो। त्यसअघि परीक्षण चरणमै भएकाले बनाएको मल आफ्नै वरपरको खेतबारीमा हाल्थे।आफूले १३ वर्षको उमेरदेखि नै कम्पोस्ट मल बनाउन थालेको उनी बताउँछन्। सानैदेखि वातावरण, प्रदूषण र फोहोर व्यवस्थापन विषयमा चासो राख्ने उनले कक्षा सातमा कम्पोस्ट मल बनाउने विधि थाहा पाएका थिए।

‘स्कुल जाँदाआउँदा बाटोमा थुप्रै कुहिने फोहोर देख्थेँ। त्यसलाई कसरी व्यवस्थित तरिकाले मल बनाउन सकिन्छ भन्नेबारे सामाजिक किताबमा पढेको थिएँ,’ उनले आफ्नो अनुभव साट्दै भने, ‘त्यही बेलादेखि पढे-बुझेअनुसार कम्पोस्ट मल बनाउन थालेको हुँ।’उनी बाटामा भेटेजति कुहिने फोहोर जस्तै, तरकारी र फलफूलका बोक्रा, कागज बटुलेर घर ल्याउँथे। घरपछाडि भएको खाली जग्गामा खाल्डो खनेका थिए, त्यसमै संकलन गर्थे। शिवुलाई थाहा थियो, कम्पोस्ट मल बनाउन कुनै विशेष बाहिरी रसायन आवश्यकता पर्दैन। गड्यौंला भए पुग्छ। उनले गड्यौंला किनेर ल्याए र खाल्डोमा हाले जसले फोहोर छिटो गलाउन मद्दत गर्‍यो।

केटाकेटी बेलादेखि शिवुले थालेको काम अहिले व्यवसायमै परिणत भइसकेको छ। तर सुरूआती दिनमा उनलाई सहज थिएन।’बाटोको फोहोर बटुलेर घरमा ल्याएको निहुँमा परिवारबाट पनि गाली खाएँ,’ उनले भने, ‘तर गर्छु भनेर ठानिसकेकाले काम छाडिनँ। खाल्डोमा फोहोर थुपार्दै गएँ।’

केही महिनापछि संकलित फोहोर कम्पोस्ट मलमा परिणत भयो। शिवुको धैर्य र सफलता देखेर परिवारले पनि समर्थन गर्न थाले। फोहोर खाल्डोमा संकलन गरेपछि मल बन्न झन्डै ६ महिना लाग्ने शिवु बताउँछन्।पहिले मल बनाउन आफ्नो घर र बाटोबाट कुहिने फोहोर संकलन गर्ने उनी अचेल बाँसगढीका ५० घर धुरीबाट फोहोर संकलन गर्दैछन्। उनले झन्डै सात महिनाअघि पचास घर धुरीलाई निःशुल्क डस्टबिन बाँडेका थिए। त्यसमा ती घरबाट निस्कने कुहिने फोहोर हालिन्छ। त्यो फोहोर उनले एक सहकर्मीको सहयोगमा संकलन गर्छन्। आफ्नो घरपछाडि बनाएको खाल्डोमा हाल्छन्। त्यसैबाट उनले कम्पोस्ट मल बनाएर बिक्री गर्दै आएका हुन्।

‘यो डस्टिबन मैले आफैं किनेर वितरण गरेको थिएँ। त्यो पैसा मैले मल बेचेर जम्मा गरेको हुँ,’ उनले भने।शिवुले बनाएको कम्पोस्ट मल ५० रूपैयाँ किलोमा बिक्री गर्छन्। केही साताअघि उनले ‘जिबी फोहोर प्रशोधन केन्द्र’ पनि स्थापना गरेका छन्। त्यहाँ फोहोरबाट कम्पोस्ट मल तयार र प्याकेजिङको काम हुन्छ।

अचेल उनको कामको प्रशंसा पनि हुन थालेको छ। केही समयअघि सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की उनको काम हेर्न गएका थिए। ‘मेयर सर आफैं आएर मेरो काम हेर्नुभयो। राम्रो काम गरिरहेको छौ, निरन्तरता दिनू, सकेको सहयोग गर्छौं भन्नुभएको छ,’ मेयरका भनाइ उद्धत गर्दै शिवुले भने, ‘यसले मलाई थप हौसला दिएको छ।’

शिवु घरका कान्छा सदस्य हुन्। उनका तीन दिदी र एक दाइ छन्। दाइ कृषि सम्बन्धी पढाइ गरिरहेका छन् भने दिदीहरू आ-आफ्नो काममा व्यस्त छन्। उनका आमाबुवा खेतीपातीसँगै बाँसगढीमा किराना पसल पनि चलाइरहेका छन्।कलिलो उमेरदेखि नै वातावरणप्रति सचेत शिवुलाई अहिले घरका सदस्य, छिमेक र आफन्तजनबाट पूर्ण सहयोग मिलेको छ। रामपुर कलेजमा शिक्षा संकाय पढिरहेका उनी मल बनाउँदै पढाइलाई पनि निरन्तरता दिइरहेका छन्।

शिवु सैनामैना बाल क्लबका अध्यक्ष पनि हुन्। यो क्लबमार्फत उनी र उनका साथीहरू आफ्नो नगरपालिका भित्रका विद्यालयमा निःशुल्क किताब, पढ्ने सामग्री, कपडा, खाना लगायत सामग्री वितरण गर्छन्। ‘हामी विद्यालयमा बालबालिका केन्द्रित कार्यक्रमहरू गर्छौं। उनीहरूलाई विभिन्न रचनात्मक खेल खेलाउछौं। क्लबको मुख्य उद्देश्य सैनामैनाका बालबालिका र ठूलालाई वातावरण संरक्षणको महत्वबारे बुझाउनु हो,’ उनले भने।

उनी भविष्यमा कम्पोस्ट मल बनाउने कामलाई निरन्तरता दिन चाहन्छन्। रासायनिक मलको तुलनामा कम्पोस्ट मल माटो र उब्जनीका लागि राम्रो हुन्छ। रासायनिक मलले माटोको उर्वर शक्ति घटाउँछ। यसको प्रयोगले छोटो समयमै धेरै उब्जनी हुन्छ तर दीर्घकालीन हिसाबमा असर पार्ने उनी बताउँछन्। माटोको उर्वर शक्ति बढाउन कम्पोस्ट मल राम्रो हुन्छ।

‘भविष्यमा कम्पोस्ट मलको उत्पादन र प्रयोग कसरी बढाउन सकिन्छ भन्ने अध्ययन गर्ने योजना छ। यही क्षेत्रलाई निरन्तरता दिन्छु,’ स्थानीय तहबाट पनि सहयोग मिल्नेमा आशावादी हुँदै शिवुले भने, ‘सरकारी तहबाट समर्थन र सहयोग मिले किसानहरूलाई कम्पोस्ट मलको महत्व र फाइदाबारे बुझाउन सकिन्छ।’

साभार-जुना श्रेष्ठ-सेतोपाटी


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...