आँखा चिम्लिँदा पनि आँसु झर्दो रहेछ ।
विना बादल आखिर वर्षे झरी पर्दो रहेछ ।
हावा हुरी बतास कतै छैन मडारिन्छ मन,
अलौकिक चोटले पनि रजाईँ गर्दो रहेछ ।
भुमरीको चक्र झैं आएपछि बयली खेल्दै,
समयको बज्रपात फेरि आफै टर्दो रहेछ ।
प्राकृतिक नियम भएपछि त पालना गरौँ,
सधैं पुस्तौं पुस्ता जसै आफै सर्दो रहेछ ।
तछाड मछाड गर्दै कोल्टे फेरेपछि आज,
आफ्नै मन मुटु समेत आफै भर्दो रहेछ ।
✍️सविता के.सी.
काठमाडौ