दुई दिनको अभियान सबै शून्य पारी हजुर ।
बोक्या बोक्यै गईँदो रैछ तनावको भारी हजुर ।
हिरा मोती जुहारत सुवर्णको ढुकुटी त्यो ,
जोडे पनि घर महल जग्गा खेत वारी हजुर ।
गुणी मूर्ख रुप कुरुप बलिया र निर्धाहरु ,
जो भए नी राजा रङ्क साधु ब्रम्हचारी हजुर ।
घर गाउँ छिमेकी ती ससुराली मावली र ,
नातागोता आफ्नो अर्को मायामोह मारी हजुर ।
यति गर्न उति गर्न पाए हुन्थ्यो भन्दा भन्दै,
पार नभै भवसागर घनघोर घारी हजुर ।
***
टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश