Tuesday 28th April 2026

कोभिड खोपमा सहयोग गर्न विश्व बैंकले नेपाललाई ८७ अर्ब दिने


विश्व बैंकले कोभिड खोपमा सहयोग गर्न नेपाललाई ८.७ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरूद्धका खोपहरूको समतामुलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर (करिब ८७ अर्ब नेपाली रूपैंयाँ) बराबरको वित्तीय सहयोग अनुमोदन गरेको छ । यस वित्तीय सहयोगद्वारा कम्तिमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।

‘यस महामारीले हाम्रासामु विशाल चुनौति र अनिश्चित वातावरण खडा गरेको छ, विशेष गरी खोपको खरीद, आपूर्ति र वितरणको सन्दर्भमा’, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भने ।

‘कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शीघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो ।’ गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैंयाँ) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड–१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।

यस सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड–१९ का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ । बाँकी रकमले कोभिड–१९ खोपका पहलहरूलाई सघाउन र कोभिड–१९ सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरु, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ ।

‘यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रका लागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ’, विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक, गेल रिचर्डसनले भने । ‘कोभिड–१९को अनुमोदित खोपको पहुँच सबैभन्दा जोखिममा रहेका समुदायमा द्रुत र न्यायसंगत रूपमा विस्तार गर्नाले जनसंख्याव्यापी प्रतिरक्षा सुनिश्चित हुन्छ, जुन कोभिड–१९को विनाशकारी प्रभावबाट उत्थानशिल पुनर्लाभ प्राप्त गर्नका लागि मुख्य शर्त हो ।’

नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड–१९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजनामध्ये एक हो । यस्तै विश्व बैंकको बोर्डले आईडा मार्फत बंगलादेशका लागी ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागी ६ करोड अमेरिकी डलर (अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फन्डको ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रमको ३० लाख डलर सहयोग सहित अनुमोदित गरेको छ ।

यस वित्तीय सहयोगका अतिरिक्त विश्व बैंकले दक्षिण एसियाका देशहरूमा न्यायसंगत, निश्पक्ष र समतामुलक खोप वितरणको रणनीति डिजाइन र कार्यान्वयनका विविध पक्षहरूमा प्राविधिक सहयोग र ज्ञान साझेदारी कार्यशालाहरू पनि प्रदान गर्दैछ ।

यस वित्तीय सहयोग विश्व बैंक समूहस्तरीय बृहत कोभिड–१९ प्रतिकार्य अन्तर्गत पर्दछ जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीलाई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जीविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र…

तितोपाटी- बैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  'लालीबजार' को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको…

तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन…

प्रतिकृयाहरू
...