Saturday 7th March 2026

ओली–प्रचण्डको झगडाले कांग्रेसमा समस्या आयो : देउवा


कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको झगडाले कांग्रेसभित्र पनि समस्या आएको बताएका छन् । उनले अहिले नेकपामा जस्तो झगडा कांग्रेसमा कहिल्यै नभएको दाबी गरे । ‘गिरिजाप्रसाद कोइरालाले राजालाई हटाएर प्रचण्डलाई भारतबाट ल्याएर सत्तामा पुऱ्याए । तर, प्रचण्ड आफैँ राजा हुन अघि सरे, अहिले ओली र प्रचण्ड राजाभन्दा पनि ठूलो राजा हुन खोजे, त्यहीकारण उनीहरूको झगडा भयो,’ देउवाले भने, ‘अब अहिले आपसमा कुर्सीका लागि मारामार भयो, हाम्रोमा त यस्तो झगडा कहिल्यै छैन, बरु उनीहरूको झगडाले हामीलाई समस्या परिराखेको छ, हाम्रै पार्टीमा कोही ओली ठीक भन्छन्, कसैले प्रचण्ड ठीक भन्छन् । तर हामी कतैतिर लागेर काम छैन ।’

रूपन्देही कांग्रेसले सोमबार भैरहवामा गरेको विरोध सभामा देउवाले ओली र प्रचण्डलाई जुलुस निकालेर अदालतलाई यसो गर भन्नुभन्दा राम्रो वकिल राख्न सुझाब दिए । ‘संसद विघटनको मुद्दा अदालतमा छ, अदालतले जसको ठूलो जुलुस हुन्छ, उसको पक्षमा फैसला गर्ने होइन, जुलुस निकालेर यो गर, त्यो गर भन्नु गलत छ,’ देउवाले भने, ‘माओवादीको ठूलो जुलुस हुन्छ कि ओलीको ठूलो जुलुस हुन्छ ? अदालतले त्यो हेर्दैन । त्यस्तो भए त अदालत नै किन चाहियो । जसको जुलुस ठूलो हुन्छ, उसले भनेको माने भइगो ।’

देउवाले अदालतलाई जुलुसबाट कराएर भन्नुभन्दा राम्रा वकिल राखेर बहस गर्न ओली र प्रचण्डलाई सुझाब दिए । उनले विचाराधीन मुद्दामा कांग्रेसले जुलुस निकालेर यो गर वा त्यो गर भनेर नभन्ने दोहोऱ्याए । अदालत जुलुसबाट प्रभावित हुन नहुने देउवाको तर्क थियो । ‘अदालतले संसद् पुनर्स्थापना गर्छ भने पनि हामीलाई ठीक छ, चुनावतिर जाऔँ भन्यो भने ठीक छ,’ देउवाले भने, ‘सबैभन्दा ठूलो भनेको जनता हो । अदालतले जनतामा जाने बाटो देखाइदियो भने पनि हामी जनतामा जान तयार छौँ ।’

देउवाले पार्टीमा आफूले अदालतको निर्णय पर्खियौँ भनेर प्रस्ताव गर्दा कांग्रेसभित्रै कसैले नमानेको बताए । ‘अदालतको निर्णय पर्खियौँ, निर्णय हुन दियौँ, त्यसपछि हामीले निर्णय गरौँला भन्दा हाम्रै पार्टीमा कसैले के भन्छ, कसैले के भन्छ,’ उनले भने, ‘स्वतन्त्र न्यायपालिका मान्ने भए त अदालतलाई पर्खिनुपऱ्याे । अदालतले निष्पक्ष न्याय दिन्छ भन्ने हामीलाई विश्वास छ । अहिले नै हामीले यो वा ऊ भन्ने कुरा छैन ।’ देउवाले निर्वाचन आयोगले चुनावको तयारीका लागि अदालतको फैसला कुर्न नपर्ने पनि बताए ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...