Thursday 1st January 2026

विधान संशोधनको लागि एनआरएनएको २ दिने विशेष महाधिवेशन आजदेखि शुरू


तीतोपाटी – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुंगिएको छ। दुईदिनसम्म भर्चुअलरुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ । जूमको माध्यमबाट आयोजना गरिने विशेष केन्द्रीय महाधिवेशनमा नवौं महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र सहमतिका आधारमा तयार गरिएको विधान संशोधन प्रस्तावमाथि छलफल हुने छ।

एक थप युवासहित जम्मा ६ जना उपाध्यक्ष रहने, दुई सहकोषाध्यक्षमध्ये एकजना महिला अनिवार्य, एक महिलासहित दुईजना सचिव थप्ने, केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना बनाउने,संघका अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने प्रावधान, राष्ट्रिय महाधिवेशनबाट २५ प्रतिशत प्रतिनिधि निर्वाचित गर्ने,निर्वाचन प्रक्रियालगायतका थुप्रै परिवर्तनहरु विधान संशोधनमार्फत हुने भएका छन्।

संघको बुधबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकमा उपाध्यक्ष मन केसी तथा विधान संशोधन सुझाव समितिका संयोजक भुषण घिमिरेले प्रस्तुत गरेका बुँदाहरु विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमति बनेको हो ।

आजको उद्घाटन सत्रको कार्यक्रमलाई संघका महासचिव डा हेमराज शर्माले संचालन गर्ने छन्। प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाट उद्घाटन, उपाध्यक्ष रविना थापाबाट स्वागत, प्रमुख अतिथि परराष्ट्रमन्त्रीबाट उद्घाटन मन्तब्य, विशेष अतिथिहरुबाट शुभकामना मन्तब्य, संघका पूर्वअध्यक्षहरुबाट मन्तब्य राख्ने कार्यक्रम रहेको छ। त्यसपछि संघको बिज्ञ सम्मेलन २०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाइ हस्तान्तरण गरिनेछ। यसका साथमा उद्घाटन सत्रलाई अध्यक्षता गरेका संघका अध्यक्ष कुमार पन्तले धन्यवाद मन्तब्यसहित पहिलो दिनको पहिलो सत्रको समापन भएको घोषणा गर्नेछन्।

त्यसै गरि आज नै दोश्रो सत्रमा संघका महासचिव डा हेमराज शर्माले संघको प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदन माथि छलफल हुनेछ। त्यसपछि प्रतिवेदन पारित गर्नको लागि प्रस्ताव गरिनेछ। यसपछि पूर्वप्रवक्ता भुषण घिमिरे विधानको मस्यौदाप्रति छलफलको लागि प्रस्तुत गर्नेछन्। प्रस्तावित मस्यौदाका हरेक बुँदागत प्रस्तुति गर्दै विधान संशोधन मस्यौदाको नियमित छलफलबाट हुनेछ। छलफल सम्पन्न भएपछि विधानको जुम हलबाट सहमति भएको अन्तिम संसोधित मस्यौदा पढेर सुनाइने छ। सो को सर्वसम्मत भएको खण्डमा मस्यौदा विधान पारित गर्नको लागि प्रस्ताव गरिनेछ। साँझ ५:०० बजे पहिलो दिनको सत्र अध्यक्ष कुमार पन्तले पहिलो दिनको समरीसहित समापन भएको घोषणा गर्नेछन्।

भोलिको पहिलो सत्र बिहान ११:०० बजे सुरु हुनेछ भने दोश्रो दिनको पहिलो सत्रमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले संघको २०२७-२०१९ को आर्थिक गत महाधिवेशनमा पारित हुन बाँकी रहेको प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदन माथि छलफल पछि पारित गर्नको लागि प्रस्ताव गरिनेछ। त्यसको लगत्तै गैरआवासीय नेपाली संघका लेखा परीक्षकले २०२७-२०१९ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसपछि आगामी कार्यकालको लागि नयाँ लेखा परीक्षकको मनोनय गर्न नाम प्रस्ताव गरिनेछ। जूम हलबाट सो पारित गर्नको लागि प्रस्ताव गरिने छ। यसका साथमा नेपालमा गैरआवासीय नेपालीहरुको लगानी सम्बन्धी प्रस्तुतिसमेत रहने छ ।

भोलिको दोश्रो सत्र छोटो र छरितो हुनेछ । संघका प्रवक्ता डिबी क्षेत्रीबाट महाधिवेशनको सारांस, घोषणासहित ब्रिफिङ हुनेछ। त्यसपछि संघका अग्रज लगायतको मन्तब्य रहनेछ। अन्त्यमा अध्यक्ष कुमार पन्तबाट महाधिवेशनको समापनको सम्बोधनसहित विशेष महाधिवेशन २०२१ लाइ सपान भएको घोषणा गर्नेछन् ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...