Wednesday 27th August 2025

पौडेल बोल्दाबोल्दै बीचैमा देउवाले भने- म पनि ज्युँदै छु


प्रशन्न पोखरेल- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि उक्त कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख भनेको छ।तर कांग्रेसका निर्णयहरू तथा विज्ञप्तिहरूमा कहीँ पनि प्रतिनिधि सभा पुनर्स्थापना भन्ने शब्द राखेको भेटिँदैन।

प्रधानमन्त्रीको कदम सच्याउन सडक संघर्षमा जाने केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरे पनि कांग्रेसभित्र दुइटा मत अहिले पनि देखिन्छ।अहिले नै आन्दोलनमा जाने कि अदालतको आदेश पर्खने भन्ने मतभेद जारी छ।आन्दोलनमा जानुपर्छ भन्नेहरूले सडकबाटै प्रतिनिधि सभा पुनर्स्थापना गर्नु पर्नेमा जोड दिइरहेका छन् भने अदालतको आदेश पर्खौं भन्नेले उस्तै परे चुनावमा जानुपर्छ मत राखेका छन्।

देशका ३३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन गरेको भोलिपल्ट आइतबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालगायत नेता एकै कार्यक्रममा सहभागी थिए।

देउवानिवास बुढानिलकण्ठमा भएको सूर्यप्रसाद उपाध्यायबारे लेखिएको किताब विमोचन कार्यक्रममा महामन्त्री कोइरालाले अहिलेको राजनीतिक अवस्थाबारे खासै बोलेनन्। उनीपछि बोलेका वरिष्ठ नेता पौडेल र सभापति देउवाबीच भने केही विषयमा फरक मत रह्यो।

कार्यक्रममा पौडेलले कांग्रेसले स्पष्ट राजनीतिक बाटो तय गर्नुपर्ने र ढुलमुले प्रवृत्ति छाड्नुपर्ने बताए। ‘आज नेपालले कांग्रेसबाट के खोजेको छ? देशलाई अन्धकारमा धकेलेको बेलामा, संविधान फ्याँकेर मुलुकलाई भताभुङ्ग पारेका बेलामा कांग्रेसबाट नेपाली जनताले खोजेका छन्- सही नेतृत्व र प्रष्ट दिशा। धुरमुरको बाटो होइन,’ पौडेलले भने।पौडेल अहिले नै चुनावमा जाने पक्षमा छैनन्।

‘यो संविधान फालेपछि चुनावको के अर्थ?,’ प्रधानमन्त्रीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै उनले थपे, ‘विपीका पालामा पञ्चायतले गरेको चुनाव कांग्रेसले बहिष्कार गरेको थियो नि! चुनाव भन्नेबित्तिकै सबै छाडेर गइहाल्ने होइन, कांग्रेस आन्दोलनमा जान्छ।’

प्रधानमन्त्री ओलीको कदमले संविधान र लोकतन्त्रमाथि नै धावा बोलेकोले चुनावभन्दा संविधान ठूलो भएको पौडेलको जिकिर थियो।‘७० वर्ष लडेर ल्याएको यो संविधान भत्काउन खोजिएको छ। पहिले यसलाई बचाऔं। यो संविधान नबचाई त चुनावको अर्थ छैन,’ छेवैमा बसेका देउवातिर हेर्दै पौडेलले भने, ‘यो संविधान बचाएपछि मात्रै चुनावमा जाने हो।’

पौडेल यतिमा रोकिएनन्। प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाशीशहरूलाई धम्क्याइरहेको बताए। ‘आज यो देशका प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीशहरूले विचार राख्दा धम्क्याउँदैछन्। अदालतलाई धम्क्याउँदैछन्। प्रतिनिधि सभा पुनर्स्थापना गर्न पाइन्छ? भनिरहेका छन्। पुनर्स्थापना हुन्न। गर्दैन अदालतले भनेर अदालतको ठेक्का लिइरहनुभएको छ। योभन्दा ठूलो फासीवादी प्रवृत्ति के हुन्छ?,’ उनले प्रश्न गरे।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको र यस्ता अभिव्यक्ति दिइरहेकोले यसविरूद्ध कांग्रेस खुलेर लड्नु पर्ने पौडेलले बताएका छन्।

‘यसविरूद्ध कांग्रेस खुलेर लड्ने कि नलड्ने? कुनै किसिमको द्विविधा नराखी सिधा बाटोमा देश लैजाने कि नलैजाने? यस्तै हो भने देश अफगानिस्तानतर्फ जान सक्छ,’ उनले भने।

भूमरीमा नेपाल पर्न सक्ने सम्भावना रहेकोले त्यसबाट बचाउने साहस कांग्रेस नेतृत्वले लिनुपर्ने पौडेलको भनाइ थियो।‘बिपीले भनेजस्तो देश भूमरीमा पर्न सक्छ। भूमरीबाट बचाउने साहस कांग्रेस नेतृत्वले गर्ने कि नगर्ने? त्यो आँट पो गर्ने हो,’ उनले भने, ‘चुनाव आएपछि गइहाल्ने?’

सभापति देउवाले अदालतमा विचाराधीन विषयमा पार्टीले धेरै नबोल्ने बताउने गरेकोप्रति जवाफ दिँदै पौडेलले थपे, ‘अदालतको त हामीले नै सम्मान गरेको छ। मैले त कहिले पनि अदालतको अपमान गरेको छैन।’

संविधानमा कहीँ पनि प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने उल्लेख नभएकाले अदालतबाट आफूहरूलाई न्याय हुने पौडेलको भनाइ छ।

‘म पनि एउटा पक्ष हो। अदालतले न्याय हामीलाई दिओस्, किनभने संविधानमा कहीँ पनि विघटन गर्ने ठाउँ छैन,’ उनले भने, ‘स्थिरताकै लागि प्रधानमन्त्रीले संसद भंग गर्न पाउने प्रावधान संविधानमा नराखेको हो।’

संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको व्यवस्था नराखिएको भन्दै पौडेलले थपे, ‘संविधान बनाउने हामी हो, संविधान बनाउने हामी ज्युँदै हुँदाहुँदै . . .।’पौडेलले यसो भन्दा छेवैमा रहेका देउवा बीचमै बोले। उनले भने-म पनि ज्युँदै छु।

‘संविधान बनाएका बेला म पनि थिएँ। म पनि ज्युँदैछु यहाँ,’ देउवाले पौडेलतर्फ हेर्दै भने। त्यसपछि पनि पौडेलले आफ्ना कुरा राखिरहे।

देउवाले बीचमै बोलेपछि कुरो मिलाउँदै पौडेलले भने, ‘तपाईं हामी सबैले बनाएको संविधान हो।’

संविधान बनाउने बेला योगदान दिएकाहरूले अहिले संविधानलाई रछ्यानमा फाल्न खोज्दा चुप बस्न नहुने भएकाले  कांग्रेस आन्दोलनमा जानुपर्ने पौडेलको भनाइ थियो।

देउवा भने अदालतले पुनर्स्थापना गरिदिएन भने स्वभाविक रूपमा चुनावमा जानु पर्ने बताउँछन्। ‘सबैभन्दा ठूलो अदालत जनता हो,’ देउवाले भने।

प्रतिनिधि सभा विघटनपछि अदालतको आदेश कुरेर विघटन सदर भए चुनावमा जाने कि पहिला नै पुनर्स्थापनाका लागि आन्दोलन थालिहाल्ने बारे कांग्रेसमा एकमत छैन। पार्टीभित्रको यो मतभिन्नतालाई कांग्रेसले सार्वजनिक रूपमा भने लुकाउँदै आएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...