Tuesday 13th January 2026

भिजिट भिसामा १५७ जना नेपालीलाई कुवेत हुँदै युएई पठाइँदै


तितोपाटी- पछिल्लो समय भिजिट भिसामा रोजगारीका लागि नेपाली कामदार युएई पठाइने क्रम बढेको छ । आइतबार बिहानको भिजिट भिसामा १ सय ५७ जना नेपाली कामदार जजिरा एयरलाइन्समार्फत कुवेत हुँदै युएई पठाउन लागिएको सूचना पाएको वैदेशिक रोजगार विभागका एक जना कर्मचारीले जानकारी दिएका छन् ।
म्यानपावर, कन्सल्टेन्सी, ट्राभल र एजेन्टबाट भिजिट भिसामा कामदारलाई जजिरा एयरलाइन्समार्फत यूएई पठाउन लागेको सूचना विभागमा आएको ती कर्मचारीले बताए । भिजिट भिसामा फ्लाइ दुबई र एयर अरबियामार्फत जानेलाई कडाइ गरेपछि एजेन्टले उडान परिवर्तन गरेर जजिरा एयरलाइन्समार्फत पठाउन लागेको उनको भनाइ छ ।

१ सय ५७ जनामध्ये ७ जना महिला रहेको सूचना पाएको ती कर्मचारीले बताए । जजिराको बिहान १० बजेको उडानमा कुवेत हुँदै युएईका लागि टिकट भएको सूचना पाएको विभागले जनाएको छ । यसरी भिजिट भिसामा गएकामध्ये अधिकांश घुम्नका लागि नभएर काम गर्नका लागि त्यहाँ गएका विभिन्न अध्ययनले देखाएका छन् ।
भिजिट भिसा नाममा म्यानपावर कम्पनी, कन्सल्टेन्सी र व्यक्तिगत एजेन्टले चर्को रकम लिएर रोजगारीका लागि कामदार पठाउने गरेका छन् । यसरी जाने कतिपय नेपालीलाई कहाँ र कसरी जाँदै छौँ भनेर गन्तव्यका बारमा थाहा नपाउने गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
नेपालबाट यसरी भिजिट भिसामा उडेका महिलालाई यूएईसँगै खाडीका अन्य देशमा घरेलु कामदारका रूपमा पुर्‍याउने गरिएको छ । सरकारले खाडीका देश र मलेसियामा महिला घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपछि यी देशमा म्यानपावर कम्पनीहरूले भिजिट भिसामार्फत कामदार पठाउने गरेका छन् ।

काेरोना महामारीका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएयता साढे १० हजार नेपाली भिजिट भिसामा यूएई पुगेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार गत १६ भदौदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि १० हजार ५ सय नेपाली भिजिट भिसामा यूएई गएका छन् ।

-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...