Monday 10th August 2026

बुढीगण्डकीको कमिसनमा संलग्नता पुष्टि गर्न भट्टराईलाई कांग्रेसको चुनौती


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत् परियोजना कमिसनमा सभापति शेरबहादुर देउवाको संलग्नता रहेको भनेर पुष्टि गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई चुनौती दिएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै भट्टराईको अभिव्यक्तिमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमाणको दाबी पुष्टिका साथै चुनौतीसहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपिल गरेका हुन्।

‘डा. बाबुराम भट्टराई बुढीगण्डकीबारे ज्वलन्त प्रश्नसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नु भएको छ,’ हलुका टिप्पणीलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने कांग्रेसको परम्परा नरहेको जनाउँदै कांग्रेसले भनेको छ, ‘तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुन जान्छ।’

राजनीतिक प्रतिष्ठा भ्रष्टाचारको ढाकछोपले नबढ्ने जनाउँदै आवेगमा दिएको अभिव्यक्तिले राजनीतिक गरिमा र ओज नबढ्ने उल्लेख गरिएको छ। ‘कपोलकल्पित, झुठ र अर्थहीन आरोप लगाई सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं।’

वर्तमान सरकार बनेपछि बुढीगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणप्रति कांग्रेसले सार्वजनिक रूपमा निरन्तर विरोध गर्दै आएको उल्लेख गरेको छ। पार्टी केन्द्रीय समितिको २०७५ असोज २१ मा बसेको केन्द्रीय समिति बैठकले पनि स्पष्ट निर्णय गरेको कांग्रेसले स्मरण गराएको छ।

कांग्रेसले देउवा नेतृत्व सरकारले बुढीगण्डकी जलविद्युत् परियोजना आफैं निर्माण गर्ने संकल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्व समितिमार्फत स्वदेशी लगानीबाटै निर्माण गरेर स्वदेशी पुँजीको एकीकृत उपयोग गर्ने क्षमता र अवसरको विकास गर्ने नमुना बुढिगण्डकी बन्ने निष्कर्ष प्रस्तुत गरेको सम्झाएको छ। देउवा नेतृत्व सरकारले गरेको गहिरो अध्ययनविपरीत वर्तमान सरकार अघि बढेको आरोप लगाउँदै कांग्रेसले भनेको छ, ‘वाग्ले समितिले बुझाएको ४२ पृष्ठको प्रतिवेदन कहाँ थन्क्याइएको छ सरकार ?’ स्वदेशी लगानीमा बन्न उपयुक्त ठहर गरिएको बहुउद्देश्यीय परियोजना विदेशी कम्पनीलाई बिनाप्रतिस्पर्धा सुम्पने तयारीमा के नियत लुकेको छ भन्ने सरकारलाई प्रश्न गर्दै कांग्रेसले भनेको छ, ‘डिजेल र पेट्रोल खरिदमा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँका दरले बुढीगण्डकीका लागि उठाइँदै आएको अर्बौंको रकमको स्थिति के छ सरकार ?’ स्थानीयलाई मुआब्जा वितरणमा किन नियतवश अनियमितता गरिएको भन्दै ओली सरकारको अपारदर्शी रवैयाका कारण अब बुढीगण्डकीको भविष्यप्रति पनि उसले प्रश्न उठाएको छ।

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

बोगोटा, १० अगस्ट २०२६ — पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पूर्ण वार्ता नभई “आंशिक (semi-negotiating)” स्तरको संवाद मात्र भइरहेको बताएका छन्। उनले इरानमाथिको…

नाइजेरियाको कानो राज्य सरकारले आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने उद्देश्यले १,५०० जोडीको दुई दिने सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेको…

प्रतिकृयाहरू
...