Monday 25th August 2025

प्रदेश ५ को राजधानी दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप


नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।कांग्रेस बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ। मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो।प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा लगेका थिए।उक्त प्रस्तावमाथि सोमबार छलफल भएको थियो। मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिइसकेका छन्।

राजधानी र नामबारे छलफल सुरू भएलगत्तै कांग्रेसले प्रदेशसभामा नारावाजी गरेको थियो। कांग्रेसका तीन सांसदले कुर्सी, टेबुल र माइक पनि तोडफोड गरेका थिए। प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताए।‘प्रदेशको राजधानी बुटवलमै यथावत राख्नुपर्छ। दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकिएको छ,’ उनले भने, ‘नाम लुम्बिनी ठीकै छ।’

प्रदेशको नाम लुम्बिनी राख्नेबारे कांग्रेसको समर्थन नै रहेको देखिएको छ।प्रदेशसभामा ८७ जना सांसद छन्। प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ। त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ। नेकपाका ६१ सांसद छन्। ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ।दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ।

प्रदेशसभामा कांग्रेसका १९ सांसद छन्। यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन्। प्रदेशसभामा जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्। उनीहरूले कता मतदान गर्छन् खुलिसकेका छैनन्।कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले दाङका विपक्षमा मतदान गर्ने ह्विप स्वीकार नगर्ने बताए।दाङबाट निर्वाचित सांसद चौधरीले दाङ भालुवाङलाई राजधानी बनाउनुपर्ने बताए।

‘ह्विप मान्दैनौं। बरू म कारवाही भोग्न तयार छु,’ उनले भने। उनले कांग्रेसका ६ जना सांसद दाङ राजधानी हुनुपर्ने पक्षमा रहेको बताए।कांग्रेसका दाङ, बर्दिया, रोल्पालगायत जिल्लाका केन्द्रीय सदस्यहरू भने दाङमै स्थायी राजधानी राख्ने पक्षमा देखिएका छन्।दीपक गिरी, किशौरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारू, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, सञ्जय गौतम र अमरसिंह पुनले दाङमा प्रदेशको स्थायी राजधानी हुनुपर्ने बताउँदै आएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...