आवासीय चिकित्सकको धर्ना, डा. केसीसँग वार्ता गर्न चिकित्सक संघको सरकारलाई ७२ घन्टे अल्टिमेटम, सत्याग्रहप्रति कांग्रेसको ऐक्यबद्धता
स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिँदै गएको छ । उमेर र लामो सत्याग्रहले डा. केसीको स्वास्थ्य बिग्रिँदै गएपछि श्वास–प्रश्वासमा सहजताका लागि चिकित्सकले अक्सिजनको सहायता दिएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा १९औँ सत्याग्रह जारी राखेका डा. केसीको स्वास्थ्य अघिल्ला दिनहरूभन्दा आइतबार केही खराब भएको मेडिकल टिमले जनाएको छ । वेलावेला उनको मुटुको चाल गडबड भइरहेको छ ।
मेडिकल टिमका अनुसार डा. केसीको जिउ बाउँडिने, रिँगटा लाग्ने, छाती दुख्नेजस्ता समस्या देखिएका छन् । जुन केही दिनदेखि देखिँदै आएका छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएको र संक्रमणको जोखिम बढ्दै गएकाले आइतबारदेखि डा. केसीसँग हुने भेटघाट पनि रोकिएको उनका सहयोगी प्रितम सुवेदीले बताए । स्वास्थ्य सेवा सुधारका लागि डा. केसीले २९ भदौमा जुम्लाको चन्दननाथ नगरपालिका– ६ स्थित बाबिरा मष्टो मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका थिए । सत्याग्रहको सातौँ दिन स्थानीय प्रशासनले उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानान्तरण गरेको थियो । इच्छाविपरीत स्थानीय प्रशासनले प्रतिष्ठानमा लगेपछि उनी ६ असोजमा काठमाडौं आएका थिए । आइतबार सत्याग्रहको २१ दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि पहलसमेत गरेको छैन ।
डा. केसीको स्वास्थ्य बिग्रिँदै गएपछि जीवनरक्षाको माग गर्दै आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले आइतबार धर्ना दिएका छन् । उनीहरूले अस्पताल परिसरमा धर्ना दिँदै डा. केसीका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
त्यस्तै, नेपाल चिकित्सक संघले डा. केसीसँग वार्ता टोली गठन गरी माग सम्बोधन गर्न ७२ घन्टे अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्य गराउन आग्रह गरेको छ । ७२ घन्टाभित्र वार्ता टोली गठन गरी कुनै पहल नगरे कठोर कदम चाल्न बाध्य हुने संघले चेतावनी दिएको छ ।
यसैगरी डा. केसीको सत्याग्रहप्रति कांग्रेसले पनि ऐक्यबद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको मागमा समर्थन रहेको बताए । पछिल्लो समय पिसिआर परीक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा डा. केसीले जायज माग राखेको जनाउँदै कांग्रेस प्रवक्ता शर्माले सरकारले तत्काल वार्ता गरी माग सुनुवाइ गर्नुपर्ने बताए ।
डा. केसीसँग अविलम्ब वार्ता गर्न देउवाको आग्रह
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीको जटिल बनेको स्वास्थ्य स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् ।
केसीले राखेका माग पूरा गर्न र उनको जीवनरक्षा गर्न ढिलाइ नगर्न आग्रह गर्दै उनले ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत दिएका छन् । ‘डा. केसीको जटिल बनेको स्वास्थ्य स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, माग पूरा गर्न र उहाँको जीवनरक्षा गर्न किञ्चित ढिलाइ नगर्न आग्रह गर्दै ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत दिन चाहन्छु,’ आइतबार विज्ञप्ति निकालेर देउवाले भनेका छन् ।
देउवाले सरकारले डा. केसीसँग गरेको व्यवहारले उसको अनुदार चरित्र देखाएको पनि आरोप लगाएका छन् । ‘सरकारले सुरुवातमा डा. केसीप्रति दुव्र्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्काेतिर अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्टतन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ,’ देउवाको विज्ञप्तिमा छ ।
डा. केसीको अनशन २१ दिन पुगिसक्दा उनको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको भन्दै देउवाले सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगर्नु दुःखद भएको बताए ।‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमसमेतका उहाँका माग केवल एक व्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका माग हुन् । जनभावनाअनुरूपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो ।’
-नयाँपत्रिका दैनिकबाट