Thursday 1st January 2026

युएईमा अलपत्र १७ नेपाली श्रमिकको चित्कार- अब हामी कहाँ जाऔँ?


तितोपाटी- खुसी लिएर फर्कने सपना बोकेर १४ फेब्रुअरी २०२० मा संयुक्त अरब इमिरेट्स् पुगेका अर्घाखाँचीका कृष्णबहादुर गन्दर्भ विगत ६ महिनादेखि युएईमा अलपत्र अवस्थामा छन्।

काम भर्खर सुरु भएको थियो। पुगेको एक महिनापछि कोभिड १९ ले महामारीको रुप लिन थाल्यो। काम ठप्प भयो। काम ठप्प भएसँगै कम्पनीले कृष्णबहादुरसहित अरु नेपालीहरुलाई पनि घर फर्क भनेर टर्चर दिन थाल्यो।

‘अब हामी पाल्न सक्दैनौं। आफ्नै देश फर्क भनेर कम्पनीले दिनदिनै जसो टर्चर दिइराख्थ्यो। खान पनि दिएको थिएन। एनआएनए युएईको सहयोगले आधा पेट भए पनि खाना खाइरहेका थियौं,’ उनले भने, ‘५ महिना अलपत्र अवस्थामा बसिसकेपछि एनआरएनए तथा दूतावासको सहयोगमा टिकट पाइयो। हामी खुसी हुँदै विमान स्थल पुग्यौं। तर हामीलाई स्वदेश फर्कन दिइएन।’
सो कम्पनीमा कार्यरत ३ सय ३६ कामदारमध्ये ३ सय १९ जना नेपाली स्वदेश फर्किए। स्वदेश फर्कन १० अगस्टमा विमानस्थल पुगेका उनीहरु १७ जनालाई भने ओभर स्टेको जरिवाना तिर्नुपर्ने भन्दै विमान स्थलले रोक्यो।
‘स्वदेश फर्कन पाइने भयो भनेर निकै खुसी भएर दूताावास पुगेका थियौं। तर ओभर स्टेको फाइन लागिसकेको रहेछ हामी एयरपोर्टमै २८ घण्टासम्म अलपत्र पर्यौं,’ कृष्णबहादुरले बताए।
कतैबाट गैरआवासीय नेपाली संघ एनआरएनए युएईका पदाधिकारीको नम्बर उपलब्ध गराइदिएपछि उनीहरुले सम्पर्क गरे। एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पासहितको टोलीले उनीहरुलाई खान बस्नको व्यवस्था पनि गरिदियो।
‘हामीलाई बीचमा काम पनि लगाइदिने भनेको थियो। पासाङ लामाले भनेअनुसार हामी त्यहीँ काम गरेर बस्न तयार भयौं। तर त्यो कामका लागि उल्टै प्रतिव्यक्ति १५ सय दिराम घुसजस्तै बुझाउनुपर्ने रे,’ उनी भन्छन्, ‘हामीसँग त्यति पैसा भए त आफ्नै देश फर्कन्थ्यौं नि।’
२ वर्षको करार अवधिका लागि युएई पुगेका उनीहरुमध्ये केही सो कम्पनीमा पुगेको ८ महिनामात्रै भएको छ भने कोहीको एक वर्षमात्र पुगेको छ।

कम्पनीले बिनाजानकारी एक्जिट भिसा लगाइदिएको र स्वदेश फर्कन चाहेर पनि आफूसँग टिकट काट्ने पैसा नहुँदा एक्जिट भिसा अवधि सकिएर आफूहरु जरिवाना तिर्न बाध्य बन्नु परेको श्रमिकहरुले बताएका छन्।
साहुको ऋण काडेर विदेशीएका उनीहरु आफन्त तथा परिवारबाट पैसा मगाएर जरिवाना तिरेर फर्कन सक्ने अवस्थामा पनि छैनन्। पछिल्ला केही दिनयता विमानस्थलबाट उद्धार गरेर लैजाने एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पाले नै आफूहरु अब केही सहयोग गर्न नसक्ने बताउन थालेको पीडितहरुको गुनासो छ।
७ महिनादेखि अलपत्र परेका उनीहरुले ३ दिनदेखि उनीहरुले खान पनि नपाएको बताएका छन्।
‘हामीले ३ दिनदेखि त खान पनि पाएका छैनौं। कोठाबाट निश्किन पनि दबाब आइरहेको छ। दूतावासले पनि बेवास्ता गरिरहेको छ अब हामी कहाँ जाऔँ?’ अलपत्र परेका नवीन परियार भन्छन्।

युएईस्थित नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापा युएईमा नेपाली श्रमिकहरु टिकट शूल्कभन्दा महंगो ओभर स्टे गरेको जरिवाना तिर्न बाध्य हुनुपरेको बताउँछिन्।
स्वदेश फर्कन टिकट नपाउने तथा पैसा नभएर स्वदेश फर्कन नसकेका श्रमिकहरु स्वदेश फर्कने दिन गन्दागन्दै महंगो जरिवाना तिर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
‘हालको अवस्था भनेको टिकटभन्दा बढी फाइन (जरिवाना भइसकेको ) छ। यस कारण १७ नेपालीहरुलाई स्वदेश फर्काउन समस्या देखिएको छ। उहाँहरुको ओभर स्टेका कारण ८ सयदेखि १२ सय दिरामसम्म जरिवाना लागीसकेको अबस्था छ,’ श्रम काउन्सिलर थापा भन्छिन्।
यस्ता समस्या सुल्झाउनका लागि थुप्रै कुटनीतिक पहल भए पनि युएई सरकारले महामारीको समयमा पनि नियम कडाइ गर्दा नेपालीहरु जरिवाना तिर्न बाध्य हुनुपरेको उनको भनाइ छ। – साभार नेपाललाइभबाट

 


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...