Friday 29th March 2024

राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने


नेपाली राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन् २०१९ को पाउन बाँकी तलबमा १० हजार बढाएर दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सहमत भएको हो। यसअघि क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम आइसिसीलाई पठाएको थियो। क्यानले यसअघि पाउँदै आएको तलबमा १० हजार बढाउन पनि प्रस्ताव गरेको थियो।सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको थियो। आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेणीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको थियो।

अब ‘ए’ श्रेणीको मासिक ४५ हजार, ‘बी’ श्रेणीको ३५ हजार र ‘सी’ श्रेणीको २५ हजार तलब पुगेको छ। यो तलब आइसिसीले पठाउन प्रक्रिया सुरु गरेको छ। २०१९ मा क्यान निलम्बनको अवस्थामा रहेको हुनाले सो अवधिको तलब आइसिसीले प्रदान गर्नेछ।त्यसका लागि क्यानले तलब पाउने सबै क्रिकेटसँग एक वर्षको सम्झौता गरेर आइसिसीलाई कागजात पठाएको थियो।

यसअघि आइसिसीले २०७५ माघमा २१ जना राष्ट्रिय क्रिकेटरलाई सन् २०१७ र १८ को तलब उपलब्ध गराएको थियो। यसपटक २२ जना क्रिकेटरको नाम पठाउनु भनेकोले क्यानले राजु रिजालको नाम थप गरेर पठाइएको हो। सन् २०२० को तलब भने क्यानले नै दिनेछ। त्यसका लागि क्यानले पुरुष र महिला क्रिकेटरसँग छिट्टै सम्झौता गर्ने जनाएको छ। सन् २०१९ मा खेलेका खेलाडी मात्र नयाँ श्रेणीमा परेका छन्। यसअघि श्रेणीमा परेका खेलाडीको नाम हटाइएको छ।

श्रेणीको ड्राफ्टअनुसार पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ए श्रेणीमा छन्। यस्तै करण केसी र विनोद भण्डारीको नाम पनि श्रेणीमा थप गरिएको छ। जससँगै यो श्रेणीमा ९ जना खेलाडी पुगेका छन्। बी श्रेणीमा आरिफ शेख, रोहित पौडेल, ललितनारायण राजवंशी, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोरा सहित ७ जना छन्।यस्तै सी श्रेणीमा ६ जना छन्। प्रदीप ऐरी, राजु रिजाल, कुशल भुर्तेल, रसिद खान, इशान पाण्डे र कुशल मल्ल सी श्रेणीमा छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...