कुवेतबाट म्याग्दीका धन बहादुर बि.क घर फर्किएका छन् । रोजगारीको सिलसिलामा कुवेत आएका धन बहादुर म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको विशेष पहलमा नेपाली दूतावासका श्रमसहचारी ज्ञानेन्द्र शर्मा संगको समन्वय मार्फत झण्डै पाँच वर्ष पश्चात् हिजो बिहान ८ बजे अल जजिरा एयरलाइन्सबाट घर फर्किएको हो ।
म्याग्दीको रुम स्थायी घर भएका धन बहादुर रोजगारीको सिलसिलामा झण्डै दश वर्ष पहिले कुवेत आएका थिए । उनले भने ‘म सामान्य कामदारको रुपमा खराफी नेशनल कम्पनीमा पाँच वर्ष काम गरे पश्चात् कम्पनी बन्द भयो । कम्पनी बन्द भए पनि घरमा ऋण भएकोले फर्किन सकिन । नेशनल खराफी कम्पनीबाट अर्को कम्पनीमा ट्रान्सफरको लागि निकै संघर्ष गर्नु परेको थियो । पछि बल्लतल्त हिस्को कम्पनीमा भिसा लाग्यो । अनि यही हिस्कोमा पाँच वर्षदेखी काम गर्दै आएको छु’ । धन बहादुर घर नगएको पनि पाँच वर्ष भएको थियो । उनको स्वास्थ्यमा समस्या देखिए पछि घर फर्किनको लागि मार्च महिनामा तयारी गरेका थिए तर कोरोना भाइरसले गर्दा घर फर्किने सपना पूरा हुन सकेन । विश्वभर आक्रान्त पारेको कोरोनाले कुवेतलाई पनि छोडेन् ।
कुवेतमा पनि कोरोनाका कारण मार्च महिना देखी अन्तराष्ट्रिय हवार्इ उडान बन्द भयो भने केही एरियामा लकडाउन भयो । त्यस पछि धन बहादुरलाई निकै तनाव भयो । कम्पनीमा घर जानको लागि उनले बताइ सकेका थिए । त्यसैले अब कम्पनीले पुनः काममा फर्किन दिन्छ कि दिन्न अनि एकतिर भने स्वास्थ्यमा निकै समस्या देखिएको थियो । त्यसैले उनलाई त्यो बेला निकै छट्पटाहट भएको बताउछन् । उनले अस्पतालमा पनि धैर पटक स्वास्थ्य जाचँ गरेका थिए । उनलाई ग्यास्ट्रिक बिग्रिएर अल्सर भएको थियो । त्यसैले छिट्टै घर फर्किन चाहेका थिए तर कोरोनाले गर्दा संम्भव भएन ।
कुवेतबाट पनि चार्टड फ्लाइटबाट घर फर्किन पाइन्छ रे भन्ने थाहा पाएछन् । तर पढेलेखेको नभए पछि घर फर्किनको लागि दुतावासबाट जारी अनलाइन फर्म भर्न समेत उनलाई समस्या भयो । तर पनि उनले साथीहरुको सहयोगमा फर्म त भरे तर अब कहिले र कहाँबाट टिकट लिएर जाने भन्ने कुराले उनलाई निकै पिरोल्न थाल्यो । त्यसैले उनले घरमा आफ्नो परिवारलाई भने बेनीमा कोही सामाजिक अभियन्तालाई भनेर भए नि मलाई घर आउने वातावरण मिलाउनु । घरबाट उनको परिवारले सामाजिक अभियन्ता चन्द्र बहादुर के.सी संग घर फर्काइ दिनको लागि अनुनय विनय गरेका थिए । त्यस पश्चात् चन्द्र बहादुर के.सीले मोना कुवेतका पदाधिकारीलार्ई जानकारी गराएका थिए । मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्याल लगायतका पदाधिकारीको सक्रियतामा उनलाई घर फर्किन सहजिकरण गरिएको छ ।
हवाई टिकट साह्रै महङ्गो
सरकारले उद्धारको नाममा लुटतन्त्र गरिरहेको छ भनेर धेरैले अलोचना गरिरहेको पाइन्छ । विदेशमा अलपत्र परेका र बिरामी भएका अफ्ना नागरिकलाई निशुल्क घर फर्काउनु पर्ने हो । तर सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई झनै पीडामा पीडा थपिदिने काम गर्यो । कोरोनाले ३ ÷४ महिनादेखी तलब बिहिन र काम बिहिन भएका अनि त्यसैमा बिरामी परेकाको लागि घर फर्किन निकै समस्या परेको छ । परदेशबाट आउदा ऋण लिएर बिदेश आएका घर फर्किदा समेत परदेशमा ऋण खोजेर टिकट काटेर फर्किनु पर्ने बाध्यता भएको छ । मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्याल भन्छन् …सरकारले उद्धार होइन बिदेशमा रहेका नेपालीलाई लुटिरहेको छ । बिरामी धन बहादुरलाई घर फर्काउन पनि निकै संघर्ष गर्नु परको छ । हिमालयन एयरलाइन्सबाट हवाई टिकट लिनको लागि पचास हजार पाँच सय पठाइयो तर धेरै दिन सम्म टिकट दिएनन् । केही दिन पछि फेरी पनि पाँच हजार थप गर्नु पर्छ भनेर खबर गरे । जसरी पनि बिरामीलाई घर फर्काउनु पर्ने भएकोले पाँच हजार पुनः पठाएर पचपन्न हजार पाँच सयको टिकट लिएर जजिरा एयरलाइन्सबाट घर पठायौं’ । उनले थपे …हामी बिदेशमा खुलेआम लुटिदा पनि सरोकारवालाले कहिलेसम्म टुलुटुल हेरेर बसिरहने’ ?