Sunday 19th May 2024

उधौली र उभौली कसरी मनाईन्छ, साकेला के हो ?


राजेन खिम्बुले राई – नेपालको सबैभन्दा प्राचीन सभ्यता नै किरात सभ्यता हो । यो संसारको सबैभन्दा प्राचीन सभ्यता मध्ये एक विशाल किरात सभ्यता भारतीय उपमहाद्वीपमा अवस्थित थियो। आदिम प्रागैतिहासिक काल अघिदेखी नै प्राचीन नेपाल वरपरको क्षेत्रमा किरातीहरुले विचरण भुमी बनाएका थिए। किरातीहरुको मुन्दुम अनुसार तयामा खियामा र हेत्छाकुप्पाले यहि नेपालको भुमी हाल खोटाङको तुवाचुङमा जंगलीयुग, शिकारीयुग पार गर्दै कृषियुगको शुभारम्भ गरेको वर्णन पाईन्छ ।
नेपालको पहिलो राजा यलम्बर हाङको ईतिहासबाट र किरात सभ्यताबाट नै नेपालको ईतिहासको सुरुवात हुने गर्दछ। नेपाल राष्ट्र त्यती नै प्राचीन राष्ट्र हो, जति किरात सभ्यता प्राचिन छ। किरात सभ्यताको किरातीहरुले प्राचिन किरातकालमा अपनाएको धर्म संस्कार, संस्कृतीबाट नै नेपालको सभ्यता धर्म संस्कृतिको सुरुवात भएको हो। तसर्थ नेपालमा किरातीहरुले मनाऊने धर्म संस्कृति र उधौली-उभौली साकेला जस्ता चाडहरु किरातको मात्र होईन सिंगो नेपाल राष्ट्र र नेपालीहरुकै मौलिक संस्कृती र चाडहरु हुन।किरातीहरुले मनाऊने उधौली उभौली साकेला जस्ता चाडहरु नेपालको प्राचिन मौलिक राष्ट्रीय चाडहरु नै हुन। नेपालको सबैभन्दा प्राचीन किरात सभ्यताको मानिसहरुले मुख्यत दुईवटा किरात ऋतुहरु उभौली(दोङवाङा-धिरीनाम) वैशाखे पुर्णे र उधौली(दोङ्दावा-छिरीनाम)मंसिरे पुर्णेलाई आधार मानेर किरात सभ्यताको विकासको क्रममा प्राचीनकाल देखी मनाऊदै आएको आफनो मुन्दुमी सांस्कृतिक चाडलाई भाषागत,भौगौलिक रुपमा विभिन्न नाम दिएर (किरात राई-साकेला, साकेन्वा, साक्खेवा/तोसी/साकेल, किरात लिम्ब-यक्वा तङ्नाम, किरात सुनुवार फोल स्यादर, किरात याक्खा-चासुवा, किरात थामी – भुमे पुजा) लगायतको पुजा आराधना अनुस्ठान गर्ने गरीन्छ। यी किरात सभ्यताको किरातीहरुले उभौली-उधौली लाई जे-जे नामकरण दिएर मनाएपनि सारमा प्रकृति संगको सामिप्यता र आध्यामिक सर्वशक्तिमान आराध्यदेव,भुमिदेवको प्रतिबिम्बको रुपमा नै साकेला पुजेको देखिन्छ।किरातीहरुको मुन्दुम दर्शन अनुसार किराती समाज (Naturelism-प्रकृतीवाद) र (Animism-आत्मवाद)मा विश्वास राख्दछन त्यसैले किरातीहरु प्रकृतीको पुजा र प्रकृतीमा रहेका सम्पुर्ण कुरामा आत्मा रहेको छ भन्ने मानेर त्यस्को पुजा गर्दछन।
किराती समाज (Shamanism-नछुङवाद, माङपावाद) धामी-विजुवावादमा आधारीत छ। यस साकेला, साक्खेवाको पुजा नछुङहरुले मुन्दुमी विधिबाट गर्दछन र यस साकेला पुजासंग सम्बन्धित किरात सभ्यता विकासको क्रममा प्रकृती, वन-जंगल, पशुपंक्षीसंगको किराती पुर्खाहरुको अन्तरसम्बन्ध र जंगलीयुग, शिकारीयुग, कृषीयुगमा किराती पुर्खाहरुले गरेका श्रमसौन्दर्ययुक्त क्रियाकलापहरुलाई ढोल र झ्याम्टाको सांगीतिक तालमा विभिन्न साकेला शिलीहरु द्वारा व्यक्त गर्दै आईरहेका छन।अहिलेको किराती समाजका युवा-पुस्ताहरुले उभौली-उधौली साकेलालाई व्यापक रुपमा रुचाईएको भएपनि यसप्रतीको बुझाई सतहि भएको साकेला शिलीलाई सिर्फ मनोरन्जन र नाचको रुपमा मात्र हेरीने गरीएको पाईन्छ। तर साकेला शिलीहरु सिर्फ नाच नृत्य मात्र होईन साकेला सिलीहरु मुन्दुमी नछुङहरुले पुज्ने साकेला पुजासंग,मुन्दुमी संस्कृतीसंग र मुख्यतःकिरात सभ्यताको विकासको क्रममा पुर्खाहरुले भोगेको भोगाई अनुभव,ज्ञान,सिप,श्रमसंग श्रमसौन्दर्ययुक्त क्रियाकलापहरु संग सम्बन्धित छन।

किरात मुन्दुमी दर्शन र उत्पत्तीको सुरुवात 

किराती समाज मौखिक श्रुती परम्परामा आधारीत मुन्दुम बाट निर्देशित छ।किरात सभ्यता विकासको क्रममा हजारौ वर्षअघि देखीको किराती पुर्खाहरुको भोगाई अनुभव ज्ञानको संगालो,दर्शन,दार्शनिक दृष्टिकोणलाई एक पुस्ता देखी अर्को पुस्ता हस्तान्तरण गर्दै जोगाएर ल्याएको श्रुती परम्परामा आधारीत मौखिकशाष्त्र नै मुन्दुम हो।किरातीहरुको मुन्दुममा सृष्टिको उत्पत्ती,मानव सभ्यताको विकासको चरणहरु, प्रकृती संगको अन्तरसम्बन्ध ईतिहास भुगोल संस्कृतीको कुराहरु वर्णन गरीएको पाईन्छ।किरात मुन्दुममा सृष्टिको उत्पत्ती कसरी भयो?यो पृथ्वी,यो धर्ती यो आकाश जल जमिनको उत्पत्ती कसरी भयो?यो सृष्टिमा मानव उत्पत्ती कसरी भयो? भनेर दार्शनिक दृष्टिकोणबाट वर्णन गरीएको पाईन्छ।  किरात मुन्दुम दर्शन अनुसार यो सृष्टिमा मानव उत्पत्ति हुनु अगाडि सारा पृथ्वी जलाम्य अवस्थामा थियो। पृथ्वीमा कालान्तरसम्म आँधीहुरी चलीरहयो र आँधिहुरीले उडाएर ल्याएको फोहोर पानीको भागमा जम्मा हुदैगयो।त्यहि फोहोरको डङ्गुरबाट उन्यू झारको विकास भयो।उन्सु झारको पातहरु खस्दै जादा त्यसको फेदमा थुप्रिएका पातहरु कुहिन थाले।त्यहि कुहिएको उन्युको थुप्रोबाट धमिराको उत्पत्ती भयो।त्यहि धमीराले उधिनेर माटोको उत्पत्ती गरायो।त्यहि माटोमा च्याऊ उम्रन थाल्यो।च्याऊ कुहिएर सड्दै गएपछि विभिन्न किसिमको किराहरुको उत्पत्ती भयो।यसरी नै कालान्तरमा पहिलो मानवहरु:-(रिकापा छोरा र रिभेना छोरीहरुको उत्पत्ती भयो भन्ने मानिन्छ।त्यस्तै अर्को मत अनुसार सुर्य र चन्द्रमाको पारस्परीक आकर्षण शक्तीको कारण भूगर्भमा विर्य रहयो र त्यहि गर्वबाट उन्युको उत्पत्ती भयो।कालान्तरमा वासेपमा धमिराले ढिकुरा उठायो र त्यहि ढिकुरा फुटेर (नाईमा र चिनिमा अथवा सुम्निमा-पारुहाङ बाट मानवको उत्पत्ती भएको मुन्दुमी दर्शन अनुसार सृष्टिको उत्पत्ती र मानव उत्पत्तिबारे दार्शनिक पक्ष रहेको छ।यसलाई गहिरीएर बुझ्ने हेर्ने हो भने यो अहिलेको आधुनिकयुगको  विज्ञानसंगत कुराहरु छन।

साकेला सम्बन्धित मिथकहरु यस्ता छन।

१) साकेन्वा (साकेला) को अर्थ अर्थ लगाऊदा सा= सायाताली (धनुकाँण,केन=ढोल,झ्याम्टा,वा = पानी भन्ने हुन्छ जसको अर्थ ढोल झ्याम्टाको तालमा धनुकाँण पक्रेर पानी (जाँडले) छर्किन्दै आध्यात्मिक शक्तीसंग बल माग्ने प्रचलन भएबाट नै साकेला,साक्खेवा पुज्दै आएको देखिन्छ।

२) सुम्निमाको कान्छा छोराले नाकिमा (ईन्द्रेनी)की छोरीसंग विवाह गर्यो।नाकिमाले आफनी छोरी ज्वाईलाई घर पठाऊदा एउटा चिण्डो वाबुक ढुंङ्गो र एक मुठि कोदो दिएर पठाईन।नाकिमाको छोरीले माईतबाट ल्याएको कोदोँबाट जाँण बनाईन। उक्त जाँणले माईतबाट ल्याएको ढुङ्गोलाई चिण्डोको जाँणले पर्छाऊदै पुज्न थालिन।त्यहि समयबाट त्यहि ढुङ्गा पुज्दै जाँदा साकेला(साक्खेवा) पुज्ने परम्पराको सुरुवात भएको हो।आज पनि साकेला थानमा त्यहि ढुङ्गा पुरेर राखिएको विश्वास मानिन्छ।

३) सुम्निमाका सन्तानमध्ये जेठा छोरा बाघ र माहिला छोरा भालु (जनावर) भएकाले हुर्केपछि जंगलतिर पठाइए। कान्छा छोरा मानव हेन्कुमबुङलाई भने मानव समाजको निर्माण गरी रीतिथिति बनाई सञ्चालनका लागि शिलाढुंगा चिनो राखेर जिम्मेवारी दिएका थिए। यही शिलाढुंगा नै साकेलाको शिला हो।यसै समयबाट साकेलाकोे प्रारम्भ भएको हो।

४) किरातीहरुको आदिम पुर्खाहरु दुई दिदिबहिनी तयामा र खियामा भाई हेत्छाकुप्पा संग छुट्टिन्छन।एकदिन भाई हेत्छाकुप्पाको घरमा पहिले छुट्टिएका दिदीहरू तयामा र खियामा आइपुग्छन।सुरुवातमा भाइको घरमा तायामा खियामा आउन असजिलो माने पछि भकिम्लाको अमिलो झुप्पा राखीदिएपछि उनीहरू गर्भवती समेत भएकीले लोभले र्याल चुहाउँदै आगनमा प्रवेश गर्छन र खान थाल्छन।उता घरभित्र हेत्छाकुप्पाले रिभ्यामा,पारुहाङ् नायिमा हुदै पापा पातेसुङ सम्मको मुन्दुम गाउँदै गर्दा शरिर जोड्ले कम्प पैदा हुनथाल्छ।हेत्छाकुप्पाले एक हातमा भाला लिएर घर बाहिर निस्कन्छन र जमिनमा भाला गाडी एउटा तातो ढुंगा निकाल्छन।त्यसलाई चोखो जाँडले खन्याएपछि वाफ भएर उड्छ।त्यस ढुंगालाई भूमिदेव साकेला मानी पूजिन्छ र त्यहि दिन देखि साकेला भुमिदेवको पुजा र शिलीको शुरुवात भयो।त्यसरी धेरै वर्षसम्म छुट्टिएका दिदि भाईहरु भेट भएको खुसीमा ढोल,झ्याम्टा बजाउँदै दिदीहरूसँगै मिलेर साकेला स्थापना गरी मुन्दुमी विधि–विधान पुरा गरेर साकेला नाचेका थिए।त्यसपछि नै किरात राईहरूले नियमित रूपमा साकेला पूजा गर्दै नाच्न थालेका हुन भन्ने विश्वास छ।

६) किराती पुर्खा हेन्कुमबुङले सिकारका क्रममा ढुकुर मारे। त्यसलाई घरमा ल्याएर मासुका रूपमा तयार गर्दा गाँडबाट गेडागुडी (कोदो, कागुनी, मकै लगायत) निस्कियो, जसलाई घरछेउ कतै फालिदिए।जुन गर्मीको समय लागेपछि उम्रियो र हुर्कंदै गएर फल दियो। चराले खाएको चीज मान्छेले खान हुन्छ भनेर उनले ती अन्न खान थाले। तर, त्यसले उनलाई राम्रो गरेन। उनले सपना देखे– त्यो फल साकेला तथा पितृलाई चढाएर मात्र खान मिल्छ। त्यसपछि उनले साकेला र पितृलाई चढाएर खाँदा राम्रो भयो, त्यसपछि साकेला पुज्न थालिएको हो। यही समयबाट किरात राईले कृषि जीवनमा प्रवेश गर्दै प्रकृति र पितृ पुज्न थालेको विश्वास गरीन्छ।

७) साकेलाको सुरुवात हेत्छाकुप्पा र मुक्सिप्पा कोमाको पालादेखी नै प्रचलनमा आएको उल्लेख पाईन्छ।उनीहरुले साकेला लाई दैविक शक्तीको प्रतिकको रुपमा मानेर ढुङ्गाहरु ठड्याएका थिए।जसलाई मुन्दुम रिसिया गाऊदा सिसामलुङ,छान्मालुङ,लोङ्मालुङ, साक्खेवालुङ, साकेलालुङ भनेर पुकारीन्छ।किराती पुर्खाहरुले साकेला लाई कृषी उत्पादन सम्बन्धित दैविक शक्तिको रुपमा पुजा गरेको पाईन्छ।जनिनमाथी फल्ने फुल्ने अन्नबाली सबै साकेलाको ईच्छाधिन विषयहरु हो।किनकी जमिनमुनी रहेका अन्नबालीको जराहरुमा साकेला/साक्खेवाको नियन्त्रण रहेको हुन्छ भन्ने विश्वास मानिन्छ। तसर्थ चासुमवो भेन दोत्मा (अन्नबालीको जरा माग्नु),खावावो भेन दोत्मा(अर्थको जरा माग्ने)गरीन्छ।त्यस्तै लगाएको अन्नबालीको समयमा प्राकृतिक प्रकोप नआईदियोस,प्राकृतिक प्रकोपबाट अन्नबालीको क्षती नहोस,रोग व्याधि हटाईदिनु सम्पुर्ण पशुपंक्षी प्राणीहरुको आयु बढाईदिन,रक्षा गरीदिनु भनेर साकेला पुज्ने प्रचलन चल्दै आएको हो ।

साकेला पुज्ने परम्पराको सुरुवात कसरी भयो ? 

किरात सभ्यताको मानिसहरुले साकेला लाई प्राचीनकाल देखी नै किरातीहरुले सर्वशक्तिमान आराध्यदेव,भुमीदेवको रुपमा मान्यता दिएर पुज्दै आएको देखिन्छ।किरातीहरुले उभौली (दोङवाङा-धिरीनाम)वैशाखे पुर्णे र उधौली (दोङदावा-छिरीनाम) मंसिरे पुर्णेमा वर्षको दुई वटा किराती ऋतुहरुमा साकेला पुज्ने गरीन्छ।प्राचिनकालमा मानव सभ्यता विकासको सुरुवातको क्रममा कुनै पनि किसिमको समय तिथि मितीको बिकास भएको थिएन।त्यसकारण किराती पुर्खाहरुले आफनो ज्ञान र  चेतनाको आधारमा प्रकृतिमा भएका  प्राकृतिक वनजंगल,रुखविरुवा वनस्पतिहरुको आएको परिवर्तनलाई आधार मानेर र प्रकृतिमा रहेका पशुपन्छीहरुको क्रियाकलापलाई आधार मानेर दुईवटा किराती ऋतुहरुको पहिचान गरे।उभौली(दोङवाङा-धिरीनाम) वैशाखे पुर्णेमा जब प्राकृतिक रुपमा गर्मियामको सुरुवात भयो र मौसम परिवर्तन संगै प्रकृतीमा रहेको वनजंगल,रुखविरुवा वनस्पतिहरुले नया पालुवा हाल्न सुरु गरे,हिमालको शिरदेखी बगेका नदि,खोलानालाहरुको माछाको कुरहरु,भेडाको बथानहरु तथा कर्याङकुरुङ जस्ता चराहरु उभो-उभो लेक तिर जान सुरु गर्ने समयलाई किराती पुर्खाहरुले उभौलीको रुपमा माने।यस उभौलीको समयमा नयाँ अन्नबाली लगाएको अन्नबालीलाई कुनै पनि किसिमको प्राकृतिक प्रकोपले क्षती नपुर्यायोस,अन्नबाली उत्पादन वृद्धि होस भनेर मनुष्य जातिको रक्षार्थ साकेला पुजा गरेर बल शक्ती माग्ने गरीन्छ, भने उधौली(दोङदावा-छिरीनाम)मंसिरे पुर्णेमा जब प्राकृतिक रुपमा मौसम चिसो बढ्न थाल्दछन।उभौलीमा पलाएका प्राकृतिक वनजंगल रुखविरुवा वनस्पतीहरुको नयाँ पालुवा,पातहरु विस्तारै झर्न थाल्दछन अनी हिमाली भेग माथिमाथि लेकतिर गएको माछा तथा भेडाको बथानहरु   र कर्याङकुरुङ जस्ता चराहरु बेसी तिर उधोउधो तिर झर्न सुरु गर्ने समयलाई किराती पुर्खाहरुले उधौलीको रुपमा माने।यस उधौलीको समयमा खेतबारीमा लगाएको अन्नबाली उठाएर भकारीमा थन्काएपश्चात अन्बाली र सम्पुर्ण प्राणीलाई रक्षा गरी यो अवस्थामा ल्याईपुर्याएकोमा प्रकृती अनी भुमिदेवी साकेला लाई धन्यवाद सम्मान स्वरुप साकेलाको पुजा गरीन्छ।

साकेला/साक्खेवा पुज्ने विधि र नछुङ/नाक्छोङको साकेलाथान तिर प्रस्थान 

किरात राज्यको किरात गाऊ बस्तीहरुमा धामी/नछुङहरुले आध्यात्मिक शक्तीबाट साकेलालुङ(साकेला ढुङ्गा) को प्राकृतिक रुपमा स्थल रहेको पत्ता लगाऊने गर्दछन।साकेलालुङको प्राकृतिक स्थलबाट नछुङहरुले आध्यात्मिक शक्तिको विधा कम्पनको गति दिदै मानव ईच्छा क्षेत्रमा समेत स्थान्तरण गरेर साकेला थानको निर्माण गरीने संस्कारको विकास हुदै गयो।किराती समाजमा साकेला पुज्ने अघिल्लो दिन (हेन्खामा)धर्ती लाई खनजोत गरीन्दैन।यसको अर्थ हेन्खामा धर्ती नाशवान वस्तु हो।त्यसैले एकदिन मात्र भएपनि भुमी/धर्तीलाई फुर्सद दिएर भुमिलाई नष्ट हुनबाट जोगाऊनु पर्दछ भन्ने मान्यता हो।किरातीहरुले साकेला (भुमिदेव) पुज्नु अगाडि ४ प्रकारको माङहरु लाई अनिवार्य रूपमा होमे/बाखा/नछुङहरुले मुन्दुमी विधिपूर्वक पुजा गरीदै आएको देखिन्छ।उक्त माङहरुको विधिसम्मत पुजा गरीसकेपछि मात्र साकेला नछुङले साकेला पुज्न सक्ने हैसीयत शक्ती प्राप्त गर्ने मान्यता रहेको छ।साकेला पुजेको दिन साकेला मातहतमा रहेका वापुटाङमाङ(पानीको मुल),नागनगेनी,सिमेभुमे(हुत्लुङ=अगेना)र रेत्कामाङहरु (आठ पितृआत्माहरु) संग पनि शक्ती माग्दै पुजा आराधना गरीन्छ।ती सम्पुर्ण कार्य सम्पन्न भएपछि साकेला नछुङले आफनो घरबाट ढोल झ्याम्टाको आवाज दिई साकेलाको प्रारम्भ भएको जानकारी गराऊदछन।साकेला नछुङ/नाक्छोङ मुलधामीले साकेला स्थल जानुपुर्व मुख्यत:घरको चुलो सुप्तुलुङ(पितृ माङहरु)पुज्दछन र बल शक्ती माग्ने गरीन्छ।यसरी घरको सुप्तुलुङ/माङपितृहरु संग बिना बाधाअड्चन साकेला स्थल सम्म जान सक्ने शक्ती मागेर साकेला नाक्छोङले आध्यामिक शक्ती प्राप्त गरेपछि साकेला नाक्छोङ,नछुङ मुलधामी लाई नेतृत्व स्वरुप सांस्कृतिक आभुषणमा सुनाखरी(आम्लाबुङ)को पारी,पंक्षीहरुको प्वाँख (वासाङ) जडित शिरमा डोलोकोम (सेतो कपडाको पगरी/श्रिपेच) लगाईदिएपश्चात नछुङ/नाक्छोङ/मुलधामीले मुन्दुमी हतियारको रुपमा हातमा सोलोन्वा(चिण्डो)आरावा र अदुवा/बेच्छुक,लोत्लासा,सोलोन्वा राखिएको फोरु(ऐतिहासिक तरबार) र बाँया हाँतमा सायाताली (सात आँखाको शिर उभ्याऊने धनु) बोकि भेला भएका सम्पुर्ण बाखा,होमे,नछुङ,केन्छेरुवा,ढोले,झ्याम्टे,सिलिहाङ्मा(साकेला शिलीको अगुवाई गर्ने महिला),शिलीहाङ्पा=साकेला शिलीको अगुवाई गर्ने पुरुष)लगायत भेला भएका गाऊलेहरुको लावा लस्कर सहित ढोल झ्याम्टा बजाऊदै नछुङ/नाक्छोङ/मुलधामीको अगुवाईमा साकेला थान तिर प्रस्थान गर्दछन।साकेला नछुङले साकेलाथान सम्म जाने उक्त भेला भएका लावालस्करको लागी उच्च मनोबल रहिरहोस भनेर आफनो चुलामा लावा (सातो)माग्दै आध्यात्मिक सुरक्षा प्रदान गरेर लगिएको हुन्छ।साकेला थानमा पुगेपश्चात आध्यामिक शक्तीद्वारा मुन्दुम गाऊदै शक्तीको प्रतिक (साकेला लुङ) पुजा गर्दै बल-शक्ती माग्ने गर्दछन।उभौलीको समयमा अन्नबालीको उत्पादनमा वृद्धि होस, किराफट्याङ्ग्रा र वन्यजन्तुहरुको नोक्सानीबाट संरक्षण गरीदिनु,प्राकृतिक प्रकोपबाट अन्नबाली र मानव जिऊधनको सुरक्षा गरीदिनु भनेर आग्रह गर्दै बल शक्ती माग्दै चोखो पवित्र कुराहरु अदुवा,मर्चा,चोखो जाँण,आरावा,तोत्ला(मृगको मासु,गाईको मासु,गोरुको मासु,माछा,पाहा,बँदेलको मासु) लगायत विभिन्न वस्तुहरु चढाऊने गरेको पाईन्छ।उता उपस्थित बाखा होमे,नछुङहरु (शिलिहाङ्मा), सिलिहाङ्मा) सहितको लावालस्कर सहितको सहभागीहरुले ढोल र झ्याम्टाको उत्साहजनक तालमा नाच्दै गाऊदै शिलिहाङ्मा र शिलिहाङ्पाको नेतृत्वमा विभिन्न साकेला शिलीहरुको प्रस्तुती सहितको मन्दुमी विधिगत ढंगले साकेलाको शुभारम्भ सुरुवात र त्यसरी नै विधिगत ढंगबाट अन्त्य हुनेगर्दछ।

साकेला शिलीहरु यस प्रकार छन

साकेलामा प्रस्तुत गर्ने शिलीहरु कुनै नृत्य र नाँच मात्र होईनन,शिलीहरु साकेला/साक्खेवा संस्कृती सम्बद्ध छन।किरात सभ्यता विकासको क्रममा पुर्खाहरुले प्रकृतीमा देखेका भोगेका भोगाई अनुभव ज्ञान र सिप श्रमहरु लाई साकेला सम्बद्ध श्रमसौन्दर्य युक्त क्रियाकलापहरुमा शिलीहरु प्रस्तुत गरीएको हुन्छ।यस्ता साकेला शिलीहरु लाई (शिलीहाङ्पा र शिलिहाङ्मा)को नेतृत्वमा प्रस्तुत गर्ने गरीन्छ।किराती सभ्यताको किरातीहरुमा विभिन्न भाषा,पाछा,क्षेत्र,खोला नालाहरु अनुसार साकेला शिलीहरु विविधता पुर्ण रहेको पाईन्छ।किरातीहरुले विविघता पुर्वक साकेला शिलीहरु प्रस्तुत गरेका संख्याहरु मध्ये कतै १८४, १५०, १३५ ,१०७ र ११२ प्रकारको शिलीहरु रहेको मान्यता देखिन्छ।त्यस मध्येको केहि साकेला शिलीहरु यस प्रकार छन।१) पारुहाङ-सुम्निमा शिली(आध्यामिक शिली)

२) आप्तारुङ शिली

३)खारु शिली

४) तयामा खियामा शिली = कपास छरे देखी तान बुनेर कपडा ओढिन्जेल सम्म

५) चासुंग सिली= अन्न बालि बिउ छर्ने देखि भित्र्याउने सम्म

६) बोखामा सिली = पृथ्वीलाई ढोग्ने सिली

७) कोकोले सिली = छेपारोको अनुकरण

८) खासिमा सिली = झिंङ्गाको अनुकरण

९) फुइपा सिली =बँदरको अनुकरण

१०) वापा वाम्मा सिली = कुखुराको भने पोथीको अनुकरण

११) क्रावा सिली = गंङ्गटाको अनुकरण

१२) कुप्पामा सिली = उँपियाको अनुकरण ईत्यादि ।

आप्तारुङ शिलीको प्रारम्भ र अन्त्य 

१) फाक्लेवा शिली (बाटोहरुमा आईपर्ने समस्याहरु खुट्टाले नृत्यद्वारा फाड्दै पन्छ्याऊदै अघि बढ्ने।

२) पासो थापेको, ३)ढुकुरको गाँण फोडेको, ४)अन्न निकालेको, ५)ढुकुर पोलेको, ६)मासु काटेको, ७)भाँडो बसालेको, ८)पकाएको, ९) भाडो उतारेको, १०)पस्केको, ११) हात धोएको, १२)खाएको, १३) हात धोएको, १४) पेट अघाएको, १५) खुशी भएको

खारु शिली प्रारम्भ र अन्त्य 

१) फाक्लेवा शिली, २) खोरीया वा भस्मे फाड्ने, ३) कोदालो बोक्ने, ४) व्याड खन्ने, ५) खेत खन्ने, ६) आला, ताछ्ने, ७) आला लगाऊने, ८) आली चिल्लाऊने, ९) ठेऊरी लगाऊने, १०) बिऊ छर्ने, ११) बेर्ना उखेल्ने, १२) बेर्ना पछार्ने, १३) बेर्ना मुठो पार्ने, १४) खेत खन्ने, १५) आला काट्ने, १६) आली लगाऊने, १७) आली चिल्लाऊने, १८) थेऊरी लगाऊने,  १९) बेर्ना पाँज्ने, २०) धान रोप्ने, २१) धान गोड्ने, ) २२) धान काट्ने, २३) आलीमा पाँजो सुकाऊने, २४) बिटा लगाऊने, २५) बिटा बोक्ने, २६) झाट्ने, २७) रासी चुलाऊने, २८) जाली हान्ने, २९) भुस बताऊने, ३०) राशी ठहराऊने, ३१) अन्न भर्ने, ३२) बोकेर घरभित्र हुल्ने, ३३) भकारीमा भण्डारण गर्ने, ३४) भकारीदेखी धान निकाल्ने, ३५) बिस्कुन लगाऊने, ३६) ढिकीमा लैजाने, ३७) ढिकिमा कुट्ने, ३८) चामल निफन्ने, ३९) चामल केलाऊने, ४०) पोल्टामा लगाऊने, ४१) चामल चपाऊने, ४२) बोकेर लैजाने, ४३)आगो फुक्ने, ४४) चामल चौलाऊने, ४५) भाडोमा लगाऊने, ४६) भाडो बसाल्ने, ४७) भात चलाऊने, ४८) भात जाँच्ने, ४९) भाँडो उतार्ने, ५०) हात धुने, ५१) भात पस्केको, ५२) खाने, ५३) हात धुने, ५४) अघाएको अनुभुती गर्ने ,५५) दाँत कोट्याऊने, ५६) रमाऊने, ५७) हाट बजार जाने ।

सिकी शिलीको प्रारम्भ र अन्त्य 

१) फाक्लेवा सिली, २) भस्मे/खोरीया फाड्ने, ३) भस्मे खन्ने, ४) कपासको बिऊ छर्ने, ५) कपास टिप्ने, ६) ऐटामा लगाऊने, ७) पिरी बनाऊने, ८) चर्खा कात्ने, ९) धागो डल्लाऊने, १०) फिर्के धागो बनाऊने, ११) डाकथुप्पा गाड्ने, १२) घागोको तान लगाऊने, १३) वयाङसुङ राख्ने, १४) तान उठाऊने, १५) रसिमा घागो काट्ने, १६) लोलोक्पा टिप्ने, १७) तान फिजाऊने, १८) थाँक्रोले कोर्ने,  १९) टुकि धाँगो बनाऊने, २०) टुकि धागोलालाई थुरीमा लाऊने, २१) बयाङसुङ फिट्ने, २२) खुट्टाले तान उधारी थुरी हान्ने, २३) जुवा तान्ने, २४) कपडा बुन्ने, २५) कपडा नाप्ने, २६) कपडा च्यात्ने, २७) कपडा काट्ने, २८) कपडा सिलाऊने, २९) चोलिया ओढ्ने, ३०) तुना मार्ने, ३१) लुङ्गी फिट्ने, ३२) कपाल कन्याऊने, ३३) जुम्रा मार्ने, ३४) केश फुकाऊने, ३५) केश बाट्ने, ३६) केश चिल्लाऊने, ३७) टिका लगाऊने, ३८) फुल सिऊरीने, ३९) कानमा सुन लगाऊने, ४०) ढुङ्ग्री लगाऊने, ४१) बुलाकि लगाऊने, ४२) चुरा लगाऊने, ४३) खुट्टामा कल्ली लगाऊने, ४४) फुल टिप्ने, ४५) सुगन्ध लिने, ४६) शिरमा शिऊरीने, ४७) सेवा नमस्कार गर्ने ।

यस्ता विभिन्न प्रकारको साकेला /साक्खेवा शिलीहरु भाषागत/पाछा खोला नाला र भौगौलिक रुपमा विविधता पुर्ण साकेला शिलीहरुको प्रस्तुति गरीन्छ।

वर्तमान अवस्थामा साकेला शिलीहरु लोपन्मुख अवस्थामा छन ।

किरातीहरुको भुमिदेव/आराध्यदेव साकेला/साक्खेवा संग सम्बद्ध साकेला शिलीहरु भाषिक रुपमा,भौगोलिक रुपमा विविधता पुर्ण साकेला शिलीहरु रहेको छ।आजभोली साकेला शिलीहरु प्रतिस्पर्धा कार्यकर्महरु आयोजना हुनेगर्दछ।तर साकेला शिली प्रतिस्पर्धा कार्यक्रमहरु गर्दा सिमित शिलीहरुलाई मात्र केन्द्रित राख्ने गरेको कारण विभिन्न भाषिक र खोलानालामा रहेका साकेला शिलीहरु लोपन्मुख अवस्थामा हुदै गईरहेका छन।हामी किरातीहरुले किरात सभ्यता र भुमिदेव साकेलासंग सम्बद्ध सम्पुर्ण साकेला शिलीहरु लाई समान ढंगले लिएर संरक्षण प्रवदर्धन गर्नुपर्दछ,जोगाऊन पहल गर्नुपर्दछ।कतिपय आध्यात्मिक शक्तिसंग सम्बन्धित शिलीहरु सुम्निमा पारुहाङ शिली,पंक्षी शिलीहरु कराङकुरुङ शिली र नारा शिलीहरु विधि पुर्याएर शिली नाच्न सकिएन भने आयु घट्ने मान्यताको कारण लोप भएर जाने अवस्थामा छन।हामीले त्यस्ता शिलीहरु संरक्षण र जोगाऊन नयाँ पुस्ताहरुलाई यस्ता लोपन्मुख शिलीहरु सिक्ने सिकाऊने पहल गर्न आवश्यक छ।त्यस्तै किरात राईहरुको सबै भाषिक क्र भौगौलिक क्षेत्रमा रहेका साकेला शिलीहरुको अलावा किरात राईहरुको संस्कृति विविधता पुर्ण छ।जस्तै अरुण उपत्यकामा बस्ने किरातीहरु जस्तै आठपहरीया/छिलिङ/याम्फु/मेवाहाङ लगायतको किरात राईहरु कतिपयले मुख्यत:-च्याब्रुङ/ढोल नाच नाच्ने गर्दछन,वाढाङ्पित/पापानी मनाऊछन,नाच्ने गर्दछन।त्यस्तै ओखलढुङ्गा/सोलुखम्बु तिरको वायुङ/खालिङ राईहरु सेग्रो/हङशिली नाच्दछन।त्यस्तै वाम्बुले राईहरुको ढवाङकुमो चाडहरुमा नाचिने नाच र खाऊमो शिलीहरु नाच्छन,त्यस्तै यो कुलुङहरुको चाकचाचुर चाडमा नाच्ने शिलीहरु लगायत सबै भाषिक र क्षेत्रगत सांस्कृतिक विविधता चाड र शिलीहरु पनि संरक्षण गर्नु आवश्यक छ।हामीले उभौली साकेलामा सिमित शिली प्रतिस्पर्धा गराऊने मात्र नगरेर सम्पुर्ण भाषिक र भौगोलिक क्षेत्रको शिलीहरु,चाडपर्वहरुमा नाचिने शिलीहरु समान रुपमा संरक्षण गर्नु आवश्यक छ।
अन्तिममा
नेपालको सबैभन्दा प्राचीन किरात सभ्यतासंग सम्बन्धित उभौली-उधौली साकेला नेपालकै सबैभन्दा प्राचिन र मौलिक सांस्कृतिक चाड हो।हामीले किरातीहरुको महान चाड उभौली/उधौली साकेला लाई पनि कसरी नेपालको अन्य चाड दशैँ-तिहार जस्तै तामझाम र रमझमको साथ किरातीहरुले चाड मनाऊन सकिन्छ भन्ने तिर ध्यान दिन जरुरी छ।हामीले उभौली,उधौली साकेला चाडलाई चाहि तामझाम र बृहत रुपमा स्थापित गर्न सकियो भने अरुको चाड बहिस्कार गरीरहनै पर्दैन किरातीहरुले आफनै मौलिक सांस्कृतिक चाडहरुमा रमाऊन मनाऊन सुरु गर्नेछौ।किरातीहरुको उधौली,उभौली साकेला चाडलाई आज सम्म साकेला पुज्ने,साकेला शिली नाच्ने,शुभकामना आदानप्रदान गर्ने सांस्कृतिक रुपमा स्थापित भएको छ।यसको अलावा हामीले यस उभौली साकेला चाडलाई कसरी रमझम,तामझामको साथ अझ रमाईलो संगले उभौली-उधौली साकेला चाड मनाऊन सकिन्छ? होला भन्ने विषयमा यसरी केहि विकल्पहरु अपनाएर अघि बढ्नुपर्दछ भन्ने मेरो मान्यता रहेको छ।

१) उधौली- उभौली साकेला चाडमा सबैभन्दा बढि महत्व साकेला पुज्ने/शिली नाच्ने संस्कृतीलाई नै बढावा दिनु आवश्यक छ।किराती बस्तीहरुमा सामुहिक रुपमा साकेला पुज्ने/शिलि नाच्ने परम्परा लाई अझ व्यापक रुपमा निरन्तरता दिदै जाने।आजभोली शिलि प्रतिस्पर्धा कार्यक्रमले व्यापक रुप लिदै आएको छ तर शिलि प्रतिस्पर्धा मात्र नभएर कतिपय लोप भएर जान लागेको लोपन्मुख शिलीहरु खोजी-खोजी शिली सिक्ने र शिली प्रदर्शनमा ल्याऊने।

२) उधौली- उभौली साकेला चाडमा पनि आफनो कोमा कोमा आमा-बुवा लगायत आफु भन्दा ठुलो अग्रजको हातबाट आशिर्वाद लिने,टिका लगाऊने,दक्षिणा लिने,चेली-माईती बिच आत्मियता बढाऊन भेटघाट गर्ने उपहार साटा-साट गर्ने लगायतको परम्पराको सुरुवात गर्ने।

३) उधौली उभौली साकेला चाडमा पनि किराती गाँऊ बस्ती बस्तीमा घरहरु लिप पोत गर्ने,रंग लगाऊने,रंगीचङ्गी बनाऊने,बाटोघाटो गाँऊघर,कुवाँ धारा सर-सफाई गर्ने,लिङ्गे पिङ गाड्ने,रोटे पिङ बनाऊने पिङ खेल्ने,रमाईलो गर्ने परम्पराको सुरुवात गर्ने।

४) उधौली उभौली साकेला चाडमा घरको केटा केटिहरुलाई नयाँ नयाँ लुगा-कपडा जुत्ता किनिदिने,चङा उडाऊने चङ्गा किनिदिने,पटेका पड्काऊन पटेका किनिदिने परम्पराको विकास गर्ने।

५) उभौली साकेला चाडमा पनि महिला छेत्कुमा चेली-बेटीहरुलाई नयाँ सांस्कृतिक पोसाकहरु,सारीहरु,गर-गहना किनिदिने।किरातीनी,महिलाहरुलाई नयाँ किराती पोसाक लाएर साकेला शिली नाच्ने, लगायत नाँचगान कार्यक्रम गर्ने व्यवस्था गर्ने ।

६) उभौली साकेला चाडमा पनि मेला बजारको व्यवस्था गर्ने,आफनो आफन्त साथीभाई ईष्ट मित्र बिच भेटघाट गर्ने,घर-घरमा बोलाऊने मिठा मिठा परीकार र खानपानको व्यवस्था गर्ने,देऊसी भैलो जस्तो ढोल झ्याम्टा बजाएर नाचगाँन कार्यक्रम गर्ने,नेपालको चर्चित कलाकारहरु बोलाएर सांगितिक कार्यक्रम,नाँचगान,कन्सर्ट कार्यक्रमहरु आयोजना गर्ने।

यी माथीका बुँदाहरु किरातीहरुको उधौली-उभौली साकेला चाडलाई कसरी तामझामको साथ व्यापक रुपमा मनाऊन सकिन्छ भन्ने मेरो नितान्तै व्यक्तिगत विचार हो।यसरी हामीले पनि हाम्रो चाडलाई नै तामझामको साथ मनाऊन स्थापित गर्न सकियो भने मात्र किरातीहरु आफनै चाडमा रमाऊन सक्लान।तथापि यी सम्पुर्ण कुराहरुको अलावा उभौली साकेलाको सबैभन्दा बढि महत्व सांस्कृतिक पक्ष साकेला पुज्ने/शिली नाच्ने संस्कृती लाई प्राथमिकता दिदै जानु पर्दछ।नेपालको सबैभन्दा प्राचिन किरात सभ्यताको मौलिक सांस्कृतिक चाड उधौली उभौली साकेला लाई यसरी तामझामको साथ मनाऊने परम्पराको विकास गरेर नेपाल र नेपालीहरुको राष्ट्रिय चाडको रुपमा स्थापित गराऊनु पर्दछ।अत:-उधौली उभौली साकेला लाई नाँचगान र मनोरन्जनको रुपमा मात्र होईन किरातीहरुको आराध्यदेव-भुमीदेव साकेला/साक्खेवा पुज्ने संस्कृती,साकेला पुजा सम्बद्ध सिलीहरु र किरात सभ्यताको विकासको क्रममा किराती पुर्खाहरुले आफनो भोगाई अनुभव ज्ञान, प्रकृतीसंगको अन्तरसम्बन्ध प्रकृतीमा रहेका पशुपंक्षी चराचुरुङ्गी संगको अन्तरसम्बन्ध, पुर्खाहरुले गरेको श्रम र श्रमसौन्दर्ययुक्त क्रियाकलापहरु लाई गहिरीएर बुझ्नुपर्दछ र मात्र उधौली उभौली र साकेलाको अर्थ र महत्व बुझिनेछ,अनी किराती समाजमा साकेलाको अस्तित्व रहनेछ ।

लेेेखक- मुलघरे कान्छा (राजेन खिम्बुले राई )
हाल – बेलायत


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...