Thursday 15th January 2026

पूर्वराज्यमन्त्री साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर


पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जनकपुर बम विस्फोटका योजनाकारका रूपमा कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका साहलाई विशेष अदालतले पनि दोषी ठहर गरेको हो । भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा उनलाई चार वर्ष कैद र १९ करोड ४४ लाख ३८ हजार नौ सय ८३ रुपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । भ्रष्टाचार मुद्दामा उनका परिवारका अन्य सदस्य तथा सहयोगी पनि दोषी ठहर भएका छन् ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा पनि साह दोषी ठहर भएको र सजाय भने पछि तोकिने प्रवक्ता पाण्डेले बताए । न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सरुको इजलासले दुवै मुद्दाको बिहीबार फैसला सुनाएको हो । अख्तियारले करिब ३१ करोड बिगो दाबी गरेकोमा विशेष अदालतले १९ करोड जरिवाना सुनाएको हो ।

साहलाई जनकपुरमा पाँचजनाको मृत्यु हुने गरी गराइएको बम विस्फोटको योजनाकारका रूपमा जन्मकैदको फैसला भइसकेको छ । सभासद् नै रहेका वेला उनलाई प्रहरीले पक्राउ गरेको थियो । साह २० वैशाख २०७१ मा पक्राउ परेका थिए । उनी त्यसवेला नेपाल सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सभासद् थिए ।

१८ वैशाख २०६९ मा जनकपुरको रामानन्दचोकमा बम विस्फोट भएको थियो । त्यतिवेला उनी भौतिक योजना राज्यमन्त्री थिए । सहयोगी रहेका मुकेश चौधरीमाथि अनुसन्धानका क्रममा साहकै निर्देशनमा विस्फोट भएको खुलेको हो । धनुषाकै आफ्ना प्रतिद्वन्द्वी जीवनाथ चौधरीलगायतलाई मार्ने योजनासहित विस्फोट भएको थियो । मिथिला राज्यको माग गरी धर्ना कार्यक्रम चलिरहेको वेला विस्फोट भएको थियो । जसमा पाँचजना सर्वसाधारणले ज्यान गुमाएका थिए । साहले राजनीतिको आडमा आपराधिक गतिविधि गरेर करोडौँ सम्पत्ति जोडेका थिए । हाल उनी नख्खु कारागारमा छन् । उनको बैंक खातालगायत सबै सम्पत्ति रोक्का छ ।

हुन्डीदेखि राजस्व छलीसम्म
अख्तियारको छानबिनमा उनले हुन्डीको कारोबारदेखि राजस्व छलीसमेत गरेको खुलेको थियो । भाइ रामकुमार साहको नाममा रहेको मिथिला मनी ट्रान्सफर प्रालिले एक शाखाबाट अर्को शाखामा रकम पठाउँदा र झिक्दा बैंकिङ प्रणालीमा नदेखाई सोझै पठाउने गरेको पाइएको थियो । त्यससम्बन्धी अभिलेख डेबुकमा मात्र राख्ने गरेको र हुन्डीसमेतको कारोबार गरेको खुलेको थियो । त्यस्तै, बाबु साधु साह सुडीको नाममा रहेको मिथिला आयल स्टोर्सले राजस्व छली गरेको अनुसन्धानका क्रममा प्राप्त कागजातबाट खुलेको थियो । त्यसउपर छानबिन गर्न अख्तियारले राजस्व अनुसन्धान विभागलाई लेखी पठाएको थियो ।

बालुवाटार जग्गा हिनामिनामा छानबिन जारी
साहमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बालुवाटारको जग्गा हिनामिनामा पनि छानबिन गरिरहेको छ । विजयकुमार गच्छदार भौतिक योजनामन्त्री तथा उनी राज्यमन्त्री भएका वेला प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो । सो प्रस्तावमा साहको पनि हस्ताक्षर छ । अख्तियारले उनीसँग पनि बयान लिएकोमा पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा चलाएको थिएन । सिआइबीले भने उनीमाथि पनि मुद्दा दायरको तयारी गरेको छ ।

अख्तियारद्वारा साढे ३१ करोड र सम्पत्ति शुद्धीकरणद्वारा ३२ करोडको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्जयकुमार साहसँग ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै २५ पुस २०७३ मा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा उनको सम्पत्तिको स्रोत खुलेको थिएन । आपराधिक कार्यबाट सम्पत्ति आर्जन गरेको भन्दै १६ चैत २०७४ मा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अर्काे मुद्दा दायर गरेको थियो ।

विभागले भने ३२ करोड चार लाख ५० हजार तीन सय चार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको थियो । विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरीमार्फत उनको सम्पत्ति छानबिन गरेको थियो । अख्तियारभन्दा एक वर्षपछि मुद्दा दायर गरेकाले सम्पत्ति बढेको हो । सम्पत्ति शुद्धीकरणले सञ्जयका बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगिलाकुमारी साह, भाइ रामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डेसमेत कुल १२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । अख्तियारले आठजनालाई प्रतिवादी बनाएको थियो ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...