Wednesday 15th July 2026

बिदेशको रोजगारी त्यागेर, भरतपुरमा सैलुन चलाउँदै युवा


तितोपाटी- कपाल काट्ने काम’ गर्ने भन्नासाथ कतिपयलाई ठाकुर समुदाय वा मधेसी तथा विहारका नागरिकहरुको याद आउँछ । नेपालमा अधिकांश नाईहरु त्यही समुदायकै रहेका छन् । तर, आजभोलि यस पेसामा अन्य समुदायका युवाहरुको प्रवेश पनि बढ्दै छ । कुनै पनि काम सानो र ठूलो हुँदैन भन्ने उदाहरण दिएका छन्,भरतपुरमा सैलुन खोलेका सुनसरीका २५ वर्षका युवा कोशिसराज क्षेत्रीले ।

क्षेत्रीले भरतपुरको सिनर्जी रोड स्थित परिजात चोकमा कोशिस मेन्स सैलुन तथा एकेडेमी सञ्चालनमा ल्याएका छन् । १२ लाख लगानीमा उनले यो सैलुन सञ्चालनमा ल्याएका हुन् । बालकुमारी उच्च माविबाट व्यवस्थापन विषयमा १२ कक्षा उतीर्ण गरेपछि उनी कतार हानिए । कतारमा उनले २७ महिना काम गर्दा मासिक ४० हजार नेपाली रुपैयाँको दरले आम्दानी गरे । तर, उनलाई कतारको कमाइ र हाइफाइ भन्दा मातृभूमि नेपाल नै प्यारो लाग्यो । भरतपुरमा रहेका आफन्तहरुको सहयोगमा उनको जीवन यात्रा सुनसरीबाट चितवनसम्म मोडियो । विस्तारै उनलाई चितवनको वातावरणले आकर्षित गर्न थाल्यो ।

कोशिसको ठूली आमाको छोरा दिपक कोइरालाले उनलाई कपाल काट्ने सिप सिक्न सल्लाह दिए । जुन सिपकै कारणले उनी फेरि पैसा कमाउन कतार हानिनु परेन । क्षेत्रीले भने, ‘मनमा सैलुन सञ्चालन गर्ने सोच त आयो । तर पैसा थिएन । दाई दिपक कोइरालाले नै १२ लाख रुपैयाँ सहयोग गरेपछि मेरो सैलुन खोल्ने सपना पूरा भयो ।’

एकेडमीको रुपमा कपाल काट्ने प्रशिक्षण सुरु नभए पनि उनले अहिले दैनिक चारदेखि ६ हजार रुपैयाँसम्म कपाल काटेर नै कमाउन थालेका छन् । उनले २ ३ जनालाई रोजगार समेत दिएक छन् । उनको बुबा र आमा भने सुनसरीमा नै छन् । नारायणगढको लायन्सचोकमा कोइराला भेजिटेबल सप्लायर्समा सहयोगीको रुपमा काम सुरु गरेका कोशिस अहिले आफ्नो सैलुन र एकेडेमीका मालिक बनेका छन् । उनको सैलुनमा कपाल काट्ने आउनेहरु त्यहाँ प्राप्त सेवा सुविधाबाट दंग छन् । नारायणीअनलाईन


सम्बन्धित शीर्षकहरु

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

प्रतिकृयाहरू
...