Thursday 9th October 2025

लागूऔषधसहित बिहेको अघिल्लो दिन बेहुला पक्राउ परेपछि


तितोपाटी – आफ्नै बिहेको अघिल्लो दिन एकयुवा विराटनगरबाट लागूऔषधसहित पक्राउ परेका छन्। भोलिपल्ट बेहुला बनेर बेहुली लिन जानुपर्ने युवा लागूऔषधसहित पक्राउ परेपनि बिहे भने प्रहरीकै निगरानीमा सम्पन्न भएको छ। बिहे सम्पन्न गराएर प्रहरीले अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान अघि बढाएको छ। भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका १५ का कमल धमला विश्वकर्मा पक्राउ परेका हुन् ।
लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले उनलाई डाइजापाम, एभिल र लुपिजेसिक गरेर २१ एम्पुल लागुऔषधसहित गत शनिबार विराटनगर महानगरपालिका १५ रानीबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए। आइतबार बेहुला बनेर बेहुली लिन धनकुटाको चानुवा जानुपर्ने कमल लागुऔषधसहित पक्राउ परेपछि परिवारमा तनाव थपिएको थियो। कमललाई प्रहरीले शनिबार रातभर हिरासतमा राखेको थियो।
तर बिहे सकिनसाथ ल्याएर बुझाउने भनेर परिवारका सदस्यको आग्रहपछि प्रहरीले बिहेका लागि साथमा दुईजना प्रहरीलाई सादा पोशाकमा खटाएर आइतबार उनलाई बेहुला बन्न घर पठाएको थियो। बिहेको दिन कमललाई लिन जन्ती जाने टोली पनि मोरङ प्रहरीको कार्यालय बाहिर आएको थियो। व्यवहारिक समस्या बुझेर विवाहको एक दिनका लागि सादा पोशाकमा प्रहरी खटाएर कमललाई बेहुला बन्न घर पठाइएको प्रहरी स्रोतले बतायो।
धुमधामसाथ आइतबार राती बिहे सकियो। बेहुला र बेहुली लिएर जन्ती सोमबार दिउँसो ४ बजे धरान आइपुगेपछि केही बेरमै कमललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमै ल्याएको थियो। उनीविरुद्ध कारबाही अघि बढाउन र लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान गर्न प्रहरीले मंगलबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेको छ। सरकारी वकिल कार्यालयमार्फत कमललाई अदालतमा म्याद थपका लागि लगिएको थियो।
कमलको रसाइली थरकी युवतीसँग बिहे भएको हो। उनीहरूबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। पक्राउ परेका कमल लागूऔषध प्रयोगकर्ता रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। पक्राउ परेका कमलले एक वर्ष अघि बावुको मृत्यु भएको र आफू डिप्रेसनमा परेपछि लागुऔषध सेवन गर्न सुरु गरेको प्रहरीलाई बताएका छन्।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...