Monday 30th March 2026

मेडिकल कलेजले लिएका अवैधानिक शुल्क फिर्ता नगरे कारबाही


तोकिएको शुल्कभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता नगरे सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ।

सोमबार गृहमन्त्रालयमा गृहमन्त्री राम बहादुर थापा, शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालय संबद्ध पदाधिकारीहरूको बैठकमा विभिन्न मेडिकल कलेजले तोकिएको शुल्कभन्दा बढी शुल्क लिएको भनि आएको जनगुनासोको सम्बन्धमा छलफल भएको थियो।

बैठकले तोकिएको शुल्कभन्दा बढी रकम एक महिनाभित्र फिर्ता गर्न मेडिकल कलेजलाई सार्वजनिक रूपमा आह्वान गरेको छ।

यसरी तोकिएको एक महिनाभित्र समयसीमामा शुल्क फिर्ता नगरे बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

बैठकमा गृहमन्त्री थापाले मेडिकल शिक्षाको शुल्क विसं २०७२ मा तोकिएपछिको अवधिमा लिइएको बढी शुल्क फिर्ता गराउन राजनीतिक समाधान र कानुनी कारबाही दुवै प्रक्रिया अघि बढाइने बताएका थिए।

बैठकमा शिक्षामन्त्री पोखरेलले गत वर्ष मन्त्रिपरिषद्को बैठकले बढी शुल्क  लिएका सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको जानकारी दिँदै बढी शुल्क फिर्ता नगरे सोही अनुरूप कारबाही अघि बढाउनु पर्ने प्रस्ताव राखेका थिए।

बैठकमा गृहसचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुधा त्रिपाठी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी लगायतको उपस्थिति थियो।

काठमाडौं उपत्यकाभित्र एमबिबिएस अध्ययनका लागि ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ५० हजार रुपैयाँ मात्रै शुल्क लिन पाउने गरी सरकारले सीमा तोकेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...