Wednesday 18th February 2026

१० जनाद्वारा युवतीको सामूहिक बलात्कार


तितोपाटी-नवलपरासी जिल्ला स्थित पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि १० जनाको समूहले सामूहिक बलात्कार गरेको छ । एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको हो ।

मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए । घटनास्थल भारतको सीमानजिकै पर्छ । घटनाको एक घन्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय बेलटारी पुगेका थिए । उजुरीलगत्तै पीडित किशोरीलाई अस्पताल लगेर प्रहरी अभियुक्तहरूको खोजीमा लागेको थियो । घटनामा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको, एकजना भने अझै फरार रहेको इप्रका बेलटारीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रीमलले बताए ।

‘घटनास्थल भित्री सडकखण्डको एकान्तमा पर्छ,’ इन्स्पेक्टर श्रीमलले भने, ‘समयमै सूचना पाएकाले अभियुक्तहरूलाई छिटै पक्राउ गर्न सफल भयौँ । फरार रहेका एकजना पनि उम्किन सक्दैनन् ।’ पीडित किशोरी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न १९ देखि ४० वर्षसम्मका
बलात्कारमा संलग्नहरू १९ देखि ४० वर्षसम्मका छन् । १९ वर्षका अमरनाथ भेडियार र पिन्टु राजभर, २२ वर्षका सन्दीप यादव, शिवराज राजभर र राजु भेसहर तथा २५ वर्षीय मनमोहन राजभर, ३२ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भीमललवा मुसहर र ४० वर्षीय नेत्र चौधरी पक्राउ परेका हुन् । उनीहरू सबै सुस्ता–३ कै भएको प्रहरीले जनाएको छ । तर, पीडितहरूसँग उनीहरूको चिनजान नभएकोसमेत प्रहरी बताउँछ । उनीहरूलाई जबर्जस्ती करणी मुद्दामा सोमबार अदालतबाट म्याद थपेर हिरासतमा राखिएको नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आचार्यले बताए ।

कानुन भन्छ– सामूहिक बलात्कारका दोषीलाई १५ वर्ष कैद
मुलुकी अपराध संहिताको परिच्छेद १८ को दफा २९९ को उपदफा (७) अनुसार सामूहिक बलात्कार मुद्दामा १५ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । १८ वर्षभन्दा माथिका युवतीमाथि हुने बलात्कारमा १० वर्ष कैद र सामूहिक बलात्कार भए थप पाँच वर्ष कैद सजाय हुने व्यवस्था छ । सोही सजाय माग दाबी गरी मुद्दा चलाउने प्रहरी तयारी छ ।

रसुवामा पनि दुई बालिका बलात्कृत
रसुवामा आइतबार दिउँसो ११ वर्षीया र ६ वर्षीया दुई बालिका बलात्कृत भएका छन् । उनीहरूको ठेगाना भने प्रहरीले गोप्य राखेको छ । बलात्कारको आरोपमा प्रहरीले रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरेको छ । उनले दुवै बालिकालाई फकाएर जंगलमा लगेर बलात्कार गरेको डिएसपी भागेन्द्रपुरुष ढकालले बताए । सुनारलाई सोमबार जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको उनले बताए । दुवै बालिकालाई प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा ल्याई काउन्सिलिङ गरिएको प्रहरीले जनाएको छ ।

साभार नयाँपत्रिका


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...