Saturday 15th November 2025

नक्कली एअर होस्टेज बनेर ठगी गर्ने एक युवती झापामा पक्राउ


तितोपाटी – आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक युवतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम गर्दै आएको बताउने राईलाई दुई पुरुषले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो।

राईले बुबा अमेरिका बस्ने, आमा डाक्टर, दाजु पाइलट भएको परिचय दिई मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरेर नजिक हुने र लामो समय कुराकानी गरेपश्चात् विवाह गर्नेसम्मको प्रलोभन दिएर विभिन्न आकस्मिक समस्या देखाई पुरुषसँग रकम मागी झुक्याएर ठगी गर्ने गरेको र रकम नदिएमा आत्महत्या गर्ने भनी धक्कीसमेत दिने गरेको उनीहरूको उजुरीमा उल्लेख रहेको प्रवक्ता श्रेष्ठले बताए।

राईलाई आइतबार झापा जिल्ला अदालतबाट छ दिनको म्याद थप भई जिप्रका झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए। उजुरीकर्ता पुरुषको नाम भने उल्लेख गर्न नमिल्ने उनले बताए। उनले नक्कली फेसबुक आइडीमा अर्काको फोटोहरू राखेकाले मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने, सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने, जेट एयरलाइन्सको एयर होस्टेजको फोटोहरू इन्स्ट्राग्रामबाट निकाली आफूले खोलेको नक्कली फेसबुक आइडीमा फोटोहरू अपलोड गरेको अनुसन्धानमा खुलेको छ।

राईलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी अपराध अन्तर्गत कानूनी कारवाही हुने प्रवक्ता श्रेष्ठले बताए।

-रासस


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...