Sunday 8th February 2026

भाडाका पाँच मान्छे लगाएर पतिको हत्या गरेको खुलासा


बर्दिबास – महोत्तरी बर्दिबास–३ गौरीडाँडाका सरोज भनिने श्रवण थापा असार ३१ गते मृत भेटिए । उनको शव बीपी राजमार्गअन्तर्गत बर्दिबासस्थित स्मृति पार्कनजिकै फेला परेको थियो । घटनाको एक महिनापछि सरोजको हत्या भएको खुलेको छ । पत्नी पूजाले भाडाका पाँच अपराधी प्रयोग गरी हत्या गराएकोे पाइएको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

‘गम्छामा ढुंगा बाँधेर सरोजको टाउको पछाडि हिर्काएर हत्या गरेको पोस्टमार्टम रिपोर्टमा देखिएको छ’, उनले भने, ‘सरोजको हत्या गर्न साढे ४ लाखमा डिल भएको रहेछ ।’ भाडाका व्यक्तिले अढाई लाख नगद लिइसकेको पाइएको उनले बताए ।

प्रहरीले चार अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । एक जना फरार छन् । सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका २७ वर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ वर्षीय मुकेश साह, रौतहट गढीमाई नगरपालिका–६ बखरीटोलका ३३ वर्षीय जिल्ला भनिने श्रीनारायण महरा र ४६ वर्षीय टीआई सहनीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी बर्दिबासका डीएसपी निशान थापाले बताए । प्रहरीले घटना अनुसन्धानका क्रममा ६० जानसँग सोधपुछ गरेको थियो ।

सरोजका काका टंकविक्रमले पत्नी पूजा, सासू लक्ष्मी बस्नेत, साली र अन्य गरी १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । पूजा, लक्ष्मीलगायत फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी बर्दिबाससहितको प्रहरी टोलीले एक महिना लगाएर घटनाको सत्यतथ्य बाहिर ल्याएको हो ।

सरोजले धनुषाको बाहुनमाराकी पूजासँग डेढ दशकअघि बिहे गरेका थिए । उनीहरूका छोरा र छोरी छन् । यहीबीच सरोज मलेसियामा चार वर्ष बसेका थिए । प्रहरी अनुसन्धानका अनुसार पत्नीसँग उनको बेलाबेला विवाद हुन्थ्यो । पछिल्लो समय घर बनाउन २२ लाखमा जग्गा बिक्री गरेपछि विवाद चर्किएको थियो । जग्गाको रकम हात पार्न पूजाले एक महिनाअघि पतिको हत्या योजना बनाएको खुलेको छ ।

घटनाक्रमअनुसार पूजाले बहिनी कोपिलाका देवर प्रमोदलाई मान्छे खोज्न लगाइन् । प्रमोदले साथी मुकेशसँग मिलेर बनाएको योजनामा श्रीनारायण जोडिए । मुकेशको गाउँमा परिवारिक सम्बन्ध रहेछ, श्रीनारायणको । सर्लाही आउजाउ गर्दा मुकेशसँग चिनजान बढेको थियो । श्रीनारायणले आफ्नै गाउँका टीआई र अन्य एक जनालाई घटनामा सामेल गराएको प्रहरीले जनाएको छ । टीआई विगतमा भूमिगत समूहमा संलग्न थिए ।

‘खोज्दै जाँदा सरोजले जग्गा बिक्री गरेको र केही पैसा भएको थाहा पायौं । केही पैसा पत्नीसँग भएको र अरू ठेगान नभएको खुल्यो’, अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘पति र पत्नीको झगडाबीच जब ठूलो पैसा छैन भन्ने थाहा भयो, त्यहींबाट अनुसन्धान सुरु ग¥यौं ।’ सरोजको फोन सम्पर्क सालीका देवर प्रमोदसँग भएको र घटनाका दिन अभियुक्त बर्दिबास आएको भेटिएको प्रहरीले जनाएको छ । प्रमोद पक्राउ परेपछि पूजाले पतिको हत्या गर्न भाडाको अपराधी प्रयोग गरेको खुलेको हो ।

दुर्घटनाको रूप दिए पनि छिपेन अपराध

सरोज स्कुटरसँगै पल्टिएको अवस्थामा भेटिएका थिए । टाउकोबाट रगत बगिरहेको थियो । अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो । ‘उनको मृत्यु दुर्घटनाबाट भएको देखिन्थ्यो । हामीले दुर्घटनाकै दृष्टिकोणबाट अनुसन्धान ग¥यौं’, एसपी अधिकारीले भने, ‘पोस्टमार्टम रिपोर्टपछि घटना रहस्यमयजस्तो लाग्यो । हत्या भएको हुन सक्ने कोणबाट अनुसन्धान मोडियो ।’

सरोज घटनाको दिन स्कुटर नामसारी गर्न जनकपुर गएका थिए । उनका काका टंकविक्रमका अनुसार त्यही बेला पूजाले छोरालाई गौरीडाँडास्थित फुपूको घरमा छाडिन् । छोरीलाई लिएर धनुषाको बाहुनमारामा माइत गइन् । आमा लक्ष्मी बस्नेतसँग भाले बलि दिएर रातु पूजा गरिन् । पूजा र आमा भालेको मासु लिएर बर्दिबास फर्किए । छोरीलाई त्यतै छाडिन् ।

पत्नी र सासूले सरोजलाई मासु र रक्सी खुवाए । राति छोरी बिरामी भएको खबर बाहुनमाराबाट सालीले गरेपछि सरोज स्कुटर लिएर त्यता हिँडेका थिए । त्यता जाँदै गर्दा बाटो छेकेर भाडाका अपराधीले राति साढे १० बजे उनको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘उनीहरूले टाउको पछाडि ढुंगाले हिर्काएर सरोजको हत्या गरे’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...