Thursday 2nd April 2026

पाइलैपिच्छे छुवाछूत, दुख सहेर बस्न विवश


तितोपाटी- एक सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक (डोम) बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा चिया दिइन्छ । बेन्चमै बस्न दिइन्छ । तर, डोमले बस्न र प्लास्टिक ग्लासमा पाउँदैनन् ।

दुई अर्नामा गाउँपालिका–५ कृष्णपुरका सुनिता र उदगार मल्लिकका छोराछोरी कृष्ण, अर्जनु र रिमा घरनजिकैको श्री आधारभूत विद्यालयमा पढ्छन् । विद्यालयमा खाजा अरुसँगै खुवाइँदैन । प्लटे बेग्लै छ । उनीहरु सधैं एउटै प्लटेमा खान्छन् । त्यहाँ डोमबाहेक दलित र गैरदलितका छोराछोरी खाजा सँगै खान्छन् । एकअर्कोले खाएको प्लेटमा अर्को दिन खाजा खान्छन् । अचेल सुनिता र उदगार बेग्लै खाजा खुवाए पढ्नै नजाने भन्न थालेका छन् ।

तीन लहान नगरपालिका–१० की मीना मल्लिकलाई साउन १ गते छिमेकीले कुटपिट गरे । निहुँ थियो सुँगुरले भाँडो छोएको । पाँच दिन अस्पतालमा बसेपछि उनी निवेदन लिएर प्रहरी चौकी पुगिन् । चौकीले मिलापत्र गर्न भन्यो । उनी निराश भएर घर फर्किन् । उनलाई उपचार खर्चबापत २५ सय रुपैयाँ दिएर घटना सामसुम पारियो । डोम समुदायमा दिनहुँ यस्ता घटना भइरहेका छन् । उनीहरू घरबाहिर पाइला टेक्नेबित्तिकै भेदभाव र छुवाछुत भोग्न बाध्य छन् । देशमा कानुन, व्यवस्था र सत्ता बदलिए पनि उनीहरूको पीडा बदलिएको छैन।

विद्यालय, होटल, मठमन्दिर, गाउँघरमा उनीहरू दुःख सहेर बस्न विवश छन् ।

‘पूरै बस्तीमा एक्लै घर डोमको हाम्रो छ । सामान्य कुरामा पनि सबैले हप्कीदप्की गर्छन्,’ लहान १० की मीना मल्लिकले भनिन, ‘गैरदलितले त गर्छ–गर्छ छुवाछुत दलितभित्रैका अन्य समुदायले पनि हामीसँग त्यस्तै व्यवहार देखाउँछ । हामी कहाँ जाऊँ ? पशुले कसैको भाँडो छुँदा मानिसलाई कुटपिट किन ? ’ प्रहरी, प्रशासन र नेता कसैले पनि पीडा नबुझेको उनले बताइन् । कुटाइ खाए पनि मिलापत्र गर्नै परेको उनले सुनाइन् ।

सिरहा नगरपालिका १९ सन्हैठा गाउँका डोम परिवार । तस्बिर : शम्भु यादव

डोम समुदाय सुँगुरपालन र बाँसको सामग्री उत्पादन गर्छ । गैरदलित समुदायले उनैबाट कुलदेवतालाई कबुल गरेको पर्वमा सुँगुर किनेर लग्छन् । बलि चढाउँछन् । बिहे र अन्य कार्यमा बाँसको सामग्री किन्छन् । ‘कसैको घरमा बाँसको सामग्री पु¥याउन जाँदा टाढाबाटै राख्न लगाउँछन् । पानीले छर्केर घर लग्छन्,’ सिरहा नपा १९ सन्हैठाका रामनाथ मल्लिकले भने, ‘हाम्रो पसिना र सीप चल्छ तर पानी चल्दैन । समुदायको कुनै पनि सामाजिक कार्यमा हामीलाई सहभागी गराइँदैन ।’ पुस्तौंदेखि भेदभाव सहरै बस्नुपरेको उनले सुनाए ।

जनगणना २०६८ अनुसार सिरहामा डोम समुदायको २३८ घरधुरी छ । उनीहरुको जनसंख्या २२५० छ । उनीहरूको समुदायमा बाक्लो बस्ती हुँदैन । ऐलानी, पर्ती वा सडकछेउमा एक–दुई घर मात्रै छन् । ‘हाम्रो समुदायको पहुँच न त राजनीतिमा छ न राज्यको कुनै निकायमा,’ डोम अगुवा रामचन्द्र मल्लिकले भने, ‘गाउँमा कसैसँग पैसा तिरेर जग्गा किन्न खोजे पनि दिँदैनन् ।’ डोम समुदायको समस्याका विषयमा कुनै दलले आवाज नउठाएको उनले बताए ।

डोम समुदायप्रति अरूको खासै चासो नदेखिएको दलित अधिकारकर्मी विनोद विसुन्केको भनाइ छ । ‘कतै बाक्लो बस्ती छैन । गाउँमा एक्लै हुन्छ । उनीहरुको जीविका गाउँसँग जोडिएको हुन्छ,’ उनले भने, ‘छुवाछुत वा भेदभावको घटनापछि डोम सुमदायले आवाज उठाउँदा उल्टै समाज जाइलाग्छ ।’ श्री आधारभूत विद्यालयका शिक्षक राजदेव यादवका अनुसार विद्यालयमा डोम बालबालिकासँग भेदभाव गरिएको छैन् । ‘खाजा खाएपछि विद्यार्थीले आआफ्नो प्लेट बेग्लाबेग्लै राख्ने गरेका छन्,’ उनले भने, ‘विद्यालय प्रशासनबाट भेदभाव गरिएको छैन ।’ विद्यार्थीबीच भइरहेको व्यवहारबारे अब अनुगमन गरिने उनले बताए ।
साभार अन्नपुर्णपोष्ट


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...