Wednesday 1st April 2026

जनप्रतिनिधिनै ठेकेदार बनेपछि भवन निर्माण अलपत्र


तितोपाटी- ठेकेदारहरु नै जनप्रतिनिधिमा निर्वाचित भएपछि स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र परेको छ। भवन निर्माणको जिम्मा लिएका ठेकेदारहरु स्थानीय तहको जनप्रतिनिधिमा निर्वाचित हुँदा हाल उक्त भवनको काम अधुरै रहेको हो।

जिल्लाको छाँयानाथरारा नगरपालिका–७ पिना गाउँको स्वास्थ्यचौकी निर्माण जिम्मा लिएका ठेकेदार अहिले जनप्रतिनिधि बनेका छन्। वडा नम्बर ६ र ८ का लागि स्वास्थ्यचौकीको भवन निर्माण गर्न भवन डिभिजन कार्यालय जुम्लासँग जेबी गाल्वा कन्ट्रक्सनले सम्झौता गरेको थियो। निर्माण कम्पनीका ठेकेदार पदम गिरी र बिष्णु बुढा जनप्रतिनधिमा निर्वाचित भएपछि आधा भएको काम अगाडि बढेको छैन। उक्त भवनको सम्झौता अवधि नै सकिएको छ।

तर अधुरो भवन निर्माण अगाडि बढाउने कुनै संकेत देखिएको छैन। भवन डिभिजन कार्यालय जुम्लासँग जेबी गाल्वा कन्ट्रक्सनले एक करोड ९७ लाख रुपैयाँमा २०७३ सालमा सम्झौता गरेको थियो। उक्त भवन २०७५ मा सम्पन्न गरिसक्नुपर्ने हो। जेबी गाल्वा कन्ट्रक्सनका ठेकेदार पदम गिरी हाल बाजुराको बुढीनन्दा नगरपालिकाको प्रमुख हुन्।

यस्तै अर्का ठेकेदार बिष्णु बुढा बाजुराकै कार्तिक स्वामीखापर गाँउपालिकाको वडा नम्बर २ का वडाध्यक्ष बनेका छन्। समयमै सम्पन्न गुर्नपर्ने भवन निर्माण नहुँदा यहाँका नागरिकले स्वास्थ्य सेवा लिन सदरमुकाम धाउनुपरेको छ। छाँयानाथरारा नगरपालिका–७ का वडाध्यक्ष हरिचन्द्र शाहीले तोकिएको समयमा स्वास्थ्य चौकीको भवन निर्माण नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए। यो भवन स्वास्थ्य चौकी र प्रसूति सेवाका लागि निर्माण गर्न लागिएको हो। नयाँ भवन निर्माण पूरा नहुँदा स्वास्थ्यचौकी पिनाले पुरानै जिर्ण भवनबाट सेवा प्रदान गर्दै आएको छ। जिर्ण भवन भत्किनसक्ने भन्दै सेवाग्राही आउन छाडेका छन्। जीर्ण भवनमा अन्य बिरामी जाँच र प्रसूति सेवासँगै प्रशासनिक काम गर्नुपर्दा समस्या भएको स्वास्थ्यचौकीका इन्चार्ज पदम सेजुवालले बताए।

आफूहरु स्थानीय तहको निर्वाचनमा व्यस्त भएकाले भवन निर्माणमा ढिलाइ भएको ठेकेदार बिष्णु बुढाले बताए। समयमै भवन निर्माणका लागि ठेकेदार पक्षलाई ताकेता गरे पनि तोकिएको समयमा निर्माण नहुँदा ६ महिना म्याद थप भएको थियो। थपिएको समयमा पनि काम नसकेपछि पुनः एकवर्ष म्याद थपको प्रक्रिया अगाडि बढेको भवन डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

-साभार अन्नपुर्णपोष्ट


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...