Friday 13th June 2025

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने


तितोपाटी – भारतीय विदेशमन्त्री एस जयशंकर भदौ ४ मा नेपाल जाने भएका छन् । नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हुनेछ । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि नेपाल जान लागेका हुन् ।

‘विभिन्न विषयमा छलफलका लागि हाम्रो तयारी छ, त्यसको गृहकार्य हुँदै छ,’ पराराष्ट्र मन्त्रालयका सचिव शंकर वैरागीले भने । बैठकमा दुई मुलुकबीचका सबै द्विपक्षीय विषयमा छलफल हुनेछन् ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जयशंकरबीच हुने बैठकमा भारतको सहयोगमा सञ्चालित परियोजनाहरूको समीक्षा, नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) प्रतिवेदन, भारतीय डुबान समस्या, पञ्चेश्वर र सीमा विवादलगायत छलफलका विषय रहनेछन् । नेपाल–भारतबीचका द्विपक्षीय मुद्दाहरूको छलफलका लागि मन्त्रीस्तरीय संयुक्त संयन्त्र नै उच्चस्तरीय मञ्च हो । उक्त संयन्त्रको पछिल्लो बैठक तीन वर्षअघि भएको थियो ।

दुई दिनको बसाइका क्रममा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटघाटसमेत गर्नेछन् । उक्त भेटघाटमा भारतको सहयोगमा निर्माण सम्पन्न भइसकेका र हुने चरणमा रहेका परियोजनाहरूमाथि पनि छलफल हुनेछन् । मोतीहारी–अमलेखगन्ज पाइपलाइन, हुलाकी राजमार्गअन्तर्गका दुईवटा सडक खण्ड र विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्पन्न भइसकेका छन् ।

साथै जयनगर–कुर्था रेल परियोजना पनि अन्तिम चरणमा छ । सम्पन्न भइसकेका परियोजनाहरूको दुवै देशका प्रधानमन्त्री तहबाट ‘रिमोट’ उद्घाटन गराउने विषयमा समेत छलफल हुने स्रोतले बताएको छ । त्यसैगरी जयशंकरको नेपाल बसाइका बेला उच्च राजनीतिक भ्रमणको विषयले पनि प्राथमिकता पाउने बताइएको छ । ‘भारतीय राष्ट्रपति रामनाथ कोविन्द वा प्रधानमन्त्री नरेन्द्र मोदीमध्ये जो भए पनि एक जनाको भ्रमण चाँडो गराउन विषयमा पनि छलफल हुनेछ,’ स्रोतले भन्यो । परराष्ट्रका स्रोतका अनुसार नेपाली पक्षले भारतीय राष्ट्रपतिको भ्रमण नभएको लामो समय भइसकेकाले राष्ट्रपति कोविन्दको प्राथमिकतामा छ ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूमाथि गरेको कारबाहीको विरोधमा प्रदर्शनको जवाफ दिन सेनालाई सक्रिय गर्ने निर्णयलाई लिएर अमेरिकीहरू विभाजित छन्, जसमध्ये…

अहमदाबाद विमान दुर्घटना: गृहमन्त्री अमित शाहले भने, "यात्रुका आफन्तको डीएनए नमूना लिइएको छ" गुजरातमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएपछि गृहमन्त्री…

इजरायलको अर्थतन्त्रको लचिलोपन बुझ्नको लागि, संकटको समयमा देशको सामना गर्ने क्षमतालाई प्रतिबिम्बित गर्ने वस्तुनिष्ठ तथ्याङ्क हेर्नुपर्छ। "फलामको तरवार" युद्धको सुरुवातमा,…

प्रतिकृयाहरू
...