तितोपाटी- संसदको गतिरोध अन्त्य गर्न सभामुख कृष्णबहादुर महराले आज सर्वदलीय बैठक बोलाएका छन् ।
प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राजपाको अवरोधपछि लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न सभामुखले अग्रसरता लिएका हुन् ।सदनको गतिरोध अन्त्यका लागि विपक्षीले माग गरे अनुसारको समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको बताइएको छ ।
आज २ बजे प्रतिनिधिसभाकै बैठक तय भएकाले बैठक सुचारु हुनु अघि नै दलहरुबीच सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको हो ।संसद भवन नयाँ बानेश्वरमा मध्यान्ह १२ बजेका लागि डाकिएको बैठकमा शीर्ष नेताहरुलाई बोलाइएको छ । सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले हिजो पनि सदनमा अवरोध गरेका थिए ।प्रमुख विपक्षी दल काँग्रेसले विप्लव समुहका सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टरसम्बन्धी घटना छानबिनको लागि संसदिय समिति बनाउन माग गरिरहेको छ ।
सत्तारुढ नेकपा यो मागमा सहमत छैन । सभामुख महराले भने मध्यमार्गी विकल्पको रुपमा उक्त विषयको क्षेत्राधिकार रहेको प्रतिनिधिसभाकै समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव गरेका छन् । दलीय सहमति जुटेमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन पनि सभामुख महरा तयार छन् ।