Tuesday 11th November 2025

युएईमा रहेका घरेलु कामदारकोे पीडा


तितोपाटी- काठमाडौंमा फलफूल पसल गरेर बसेकी नवलपरासी अरुणखोला पर्सौनीकी कुश्मा खरेलसँग परिवारको गुजारा नचलेपछि बाध्यताले देश छोडेर बिदेशिएको कथा छ । एक छोरी र एक छोरा घरमा नै छन् । छोराछोरी र परिवार पाल्नकै लागि उनी घरेलु कामदारका रूपमा युएई आइन् । सुरुमा युएईमा कम्पनीमा कामदारका रूपमा काम गर्ने उनी घरेलु कामदारका रूपमा काम गर्दा तलब धेरै पाइने भएपछि त्यतैतर्फ लागिन् ।

उनी घर नगएको चार वर्ष भयो । उनलाई काम गरेको ठाउँबाट हरेक ६–६ महिनामा घर जान पाउने सुविधा उपलब्ध छ, तर उनी नेपाल जान भने सकेकी छैनन् । उनी भन्छिन, ‘घर नगएको चार वर्ष भयो । नेपाल गएर कुनै कारणवश आउन पाइएन भने जागिर गुम्छ, छोराछोरीको खर्च टार्न समस्या हुन्छ । केही समय कुरेकी छु, श्रम स्वीकृति खुलेपछि जान्छु भनेर बसेकी छु । तर, श्रम खुल्ने आशा नै हरायो ।’

मकवानपुर–४ की मीना रानाको समस्या केही फरक छ । उनी पनि घरेलु कामदारका रूपमा कार्यरत छिन् । उनी युएई आएको ९ वर्षभित्रमा धेरैपटक नेपाल जाने–आउने गरेकी छिन् । पहिले घरेलु कामदारको भिसा भए पनि अहिले उनको भिसा कम्पनीको लागेको छ । उनले युएईको रोजगारीबाट मुटुको बिरामी भएकी आमाको नियमित उपचार र बुबाको रेखदेख गरिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘मेरो रोजगारदाता राम्रो मान्छे छ, समस्या बुझ्छ, नेपालबाट आउन पाउँदिनँ भनेर नै मेरो भिसा कम्पनीको बनाएको छ, तर पुरानो भिसा घरेलु कामदारको भएको हुनाले अध्यागमनमा रोकिदिने कुरा सुनेकी छु कहिलेकाहीँ डर पनि लाग्छ ।’ अध्यागमनमा रोकिने कुरा सनेर उनी अहिले डरमा छिन् र भन्छिन्, ‘कम्पनीले टिकट काटिदिए पनि म अहिले नेपाल जाने कि नजाने दोधारमा नै छु ।’ स्याङ्जा वालिङकी मालती (नाम परिवर्तन) पनि यस्तै समस्याबाट गुज्रिरहेको बताउँछिन् । श्रीमान्को आकस्मिक देहावसानपछि दुई छोरी पाल्न युएई आएकी उनी पनि फेरि फर्केर रोजगारीमा आउन नपाउने डरका कारण घर जान सकिरहेकी छैनन् । छोरी बिरामी छिन्, छोेरीको उपचार गर्नुपर्नेछ । ‘नेपाल नजाऊँ भने छोरीलाई समस्या छ, जाऊँ भने रोजगारी गुम्छ, मानसिक तनावमा छु,’ उनले भनिन् ।

कुश्मा, मीना र मालती मात्र होइन, युएईमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिला कामदारको अवस्था प्रायः सबैको यस्तै छ । नेपाल सरकारले युएईलगायत खाडी मुलुकमा घरेलु कामदारका रूपमा जान रोक लगाएपछि युएईमा रहेका नेपाली महिला कामदारहरू घर छुट्टीमा जानबाट वञ्चित हुन थालेका हुन् । नेपाल गएमा फेरि फर्केर आफ्नो रोजगारस्थलमा आउन नपाउने साझा समस्याबाट महिला घरेलु कामदार पीडित बनेका छन् । घरेलु कामदारको असुरक्षा देखाउँदै श्रम समितिको निर्देशनमा मन्त्रिपरिषद्को निर्णयमार्फत वैदेशिक रोजगार विभागले २२ चैत ०७३ देखि घरेलु कामदारका लागि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति बन्द गरिएको थियो ।

मोटो रकम खर्चेर सेटिङबाट आउन बाध्य
घरेलु कामदारका रूपमा महिलालाई युएई आउन नेपाल सरकारले रोक लगाए पनि दैनिकजसो विभिन्न अवैधानिक माध्यमबाट युएई आउने क्रम भने रोकिएको छैन । विमानस्थलमा दलालका माध्यमबाट महँगो रकम तिरेर सेटिङ मिलाएर घरेलु कामदारका रूपमा आउने पनि छन् ।

एक वर्षपहिले छुट्टीमा गएर पुनः घरेलु कामदारका रूपमा युएई आएकी स्याङ्जाकी एकजना महिलाले नाम गोप्य राख्ने सर्तमा भनिन्, ‘एक लाख तिरेर भारतको विमानस्थलबाट सेटिङ मिलाएर युएई आएकी हुँ ।’ उनले आफूजस्तै सेटिङमा आउनेहरू धेरै रहेको बताइन् । उनी छोरी बिरामी भएर नेपाल गएकी थिइन् । नेपालमा सोधपुछ गर्दा श्रम विभागका अधिकृतले हस्ताक्षरपत्र दिएपछि श्रम स्वीकृति पाइने भन्ने सुनेर श्रम विभाग पनि पुगिन् । ‘लगातार ३ दिनसम्म श्रम विभाग पुगेर हाकिम भेट्ने कोसिस गरेँ, तर मलाई भेट्न दिइएन । र, म सेटिङमार्फत भारत पुगेँ ।’ उनले भनिन्, ‘भारतको पहाडगन्ज भन्ने ठाउँमा ३ दिन बसेपछि सेटिङ मिलेपछि युएई आएँ ।’ वैधानिक र अवैधानिक बाटो भएर युएई आएका घरेलु कामदारको संख्या करिब १०–१२ हजार नेपाली रहेको नेपाली दूतावासले जनाएको छ । घरेलु कामदारको असुरक्षा देखाउँदै श्रम समितिको निर्देशनमा मन्त्रिपरिषद्को निर्णयमार्फत वैदेशिक रोजगार विभागले २२ चैत ०७३ देखि घरेलु कामदारका लागि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति बन्द गरिएको थियो ।

१ लाख ५० हजार तिरेर श्रम कागज बनाएँ : रीता गौतम
रुपन्देहीकी रीता गौतम युएईमा घरेलु कामदारका रूपमा काम गर्न सुरु गरेको ८ वर्ष भयो । उनको घरमा एक छोरा एक छोरी छन् । उनी सन् २०१७ मा छोरा बिरामी भएपछि अगस्ट १७ मा घर गइन् । घरेलु कामदारको भिसा भएपछि आउने वेलामा उनलाई त्रिभुवन विमानस्थलबाट आउन नपाउने भइन् । विकल्पको खाजी गर्दै गर्दा उनले दलाललाई १ लाख ५० हजार तिरेर नक्कली श्रम बनाइन् । विमानस्थल सेटिङ मिलाएको भन्दै उनलाई काठमाडाैंको तिनकुनेमा एकजना विमानस्थलका कर्मचारीसँग भेट गराइयो । उनीमार्फत विमानस्थल अध्यागमनको ४ नं. गेट हुँदै उनी प्रवेश गरिन् । र, उनी सेटिङमार्फत आएकी हुनाले अध्यागमनमा कुनै रोकटोक भएन, उनी युएई फर्किन सफल भइन् ।

दैनिक घरेलु कामदारका फोन आउँछन् : दूतावास
युएईमा रहेको नेपाली राजदूतावासले पनि घरेलु कामदारले पुनः श्रम स्वीकृति नपाएर घर जान नसकेको भन्दै दैनिक फोन आउने गरेको जनाएको छ । नेपाली दूतावासका श्रम सहचारी मोतीराम भुसालले दैनिक घरेलु कामदारका फोनहरू आउने र घरमा समस्या हुँदा पनि घर जान नपाएको गुनासो गर्ने गरेको बताए । उनले भने, ‘महिलाहरूले फोन गर्छन्, हामी घर जान किन नपाउने ? श्रम कहिले खुल्छ ? हामी नेपाल गएर आउन किन नपाउने ? जस्ता प्रश्न गर्छन् ।’
-साभार नयाँ पत्रिका


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...