Wednesday 30th September 2026

बेसहाराको सहारा बन्दै दुर्गानाथ दाहाल


तितोपाटी- काभ्रेको नालामा जन्मिएका दुर्गानाथ सुरुमा व्यापार गर्न काठमाडौं पसेका थिए। तर विगत २ वर्षदेखि उनको दैनिकीमा उनले सोचेभन्दा पूरै ‘यू–टर्न’ भएको छ। ‘सुरुमा व्यवसायका लागि काठमाडौं आएको थिएँ। चिन्ने जतिले साहुजी भनेर बोलाउँथे। तर अहिले परिचय नै बदलिएको छ। सबैले समाजसेवी दुर्गानाथ भन्नुहुन्छ,’ उनले प्रयोग गरेको भाषिक भावमा गर्वका संकेत छरिए।

सानो कपडा व्यवसायमा रमाउँदै आएका दुर्गानाथको परिचय यतिबेला समाजसेवीका रूपमा स्थापित भइसकेको छ। मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका, परिवारिक बिछोड र अपहेलनाले सडकमा बेवारिसे जीवन बिताइरहेका वा कुनै दीर्घरोगका कारण उपचारको अभावले भौंतारिरहेका मानिसको साथी मात्र नभएर डाक्टरकै रूपमा काम गर्दै आएका छन् दुर्गानाथ।

मानव र पशुपन्छी दुवैलाई उत्तिकै स्नेहभावको व्यवहार आवश्यक छ, भन्ने मान्यता राख्ने दाहाल यतिबेला पूर्ण रूपमा दीनदुःखीकै सेवामा समर्पित छन्। साथमा झोला र झोलाभित्र प्राथमिक उपचारका सामग्री कहिल्यै छुटाउँदैनन् उनी। अनुभव सुनाउँदै भन्छन्, ‘बिरामीको अवस्था हेरेर चिनेको डाक्टरकोमा जान आग्रह गर्छु, डाक्टरले नभ्याए वा नमाने अवस्था अनुसारको औषधीका बारेमा सोधेर आफंै प्राथमिक उपचार गर्छु। बिरामी जटिल भए मानवीय मन हुने दाताहरू र अस्पतालसँग सहयोग मागेर भएपनि उपचार गराएरै छोड्ने गरेको छु।

जस्तोसुकै अवस्थामा रहेपनि सेवामा सर्मपित छन् दुर्गानाथ। ‘मेरो व्यक्तिगत जीवन नै छैन जस्तो लाग्न थालेको छ। सेवाकै कारण कति दिन त भोकै समेत बस्नु परेको छ। तरपनि दुःख एकरति पनि लाग्दैन। किनकी आफूलाई भुलेर अरुको सेवा गर्न पाएको छु,’ हाम्रो नजर पुगेको उनका आँखा पुलकित भए, ओठमा हाँसो दगु¥यो। बाध्य बनाए, मैले पनि हाँसोमै प्रत्युत्तर फर्काएँ।

‘मैले सडकमा जीवन र मरणको संघारमा पुगेका, शरीरका विभिन्न भागमा किरा परेर थलिएका धेरै जना बुवाआमा र दिदीबहिनीहरुलाई उपचार गराएर निको पारेका छौं,’ गर्वका साथ दाहाल सुनाउँछन्, मानसिक सन्तलुन बिग्रिएर सडकमा भांैतारिइ रहेकालाई उपचार गराएर नेपालमात्र हैन भारतसम्म आँफै गएर परिवारलाई जिम्मा लगाएका छौं। वीर अस्पतालको बेडमा आस्पतालले नै डोरीले हातखुट्टा बाँधेर जीवनमरणको संघारमा पु¥याएका मानिसलाई समेत उपचार गराएका छौं।’ उनका आँखा रसाए, सायद उनले तिनै बिरामीलाई फेरि सम्झिए होला। तर उनले त्यस विषयमा थप केही पनि भनेनन्।

हुन पनि उनले दाबी गरेजस्तै दाहालले धेरै पशुपन्छी तथा मानवलाई उपचार, उद्धार र आश्रय दिलाई सकेका छन्।

सामाजिक कार्यमा अहोरात्र खटिने दाहालले पछिल्लो समय भने औपचारिक रूपमा समाजिक संस्था ‘नवजीवन परोपकार समाज’ स्थापना गरेर सामाजिक कार्य गर्दै आएका छन्। उनी संस्थाको संस्थापक अध्यक्षका हुन्। उनकै भनाइ सापट लिने हो भने सेवा गर्नका लागि अध्यक्ष भएका रे उनी। प्रत्येक प्राणीलाई गाँस, बाँस, कपास र स्वास्थ्य उपचार अपरिहार्य छ भन्ने उनको नारा हो। आदर्श हो। उदेश्य पनि यही नै हो।

उनी अध्यक्ष बनेको संस्था यतिबेला आफ्नै भवन र आफ्नै बासस्थानको निमार्णमा जुटेको छ। सोही निर्माणकार्यमा सहयोगको अपिल गर्दै दाहाल भन्छन्, ‘हामीले आफ्नो संस्था तथा भवन नहुँदा पीडितको उपचार र उद्धारमा धेरै दुःख सहनु प¥यो। यसबाट पाठ सिकेर संस्था दर्ता गरेका छौं। अहिले हाम्रो सत्कर्म देखेर काठमाडौंको मनमैजु खुलालटारमा एक दाताले जग्गा समेत दिनु भएको छ। सोही ठाउँमा भवन निर्माण गरी उद्धार गरिएका प्राणीका लागि बासस्थान निमार्णमा जुटेका छौं। यसमा सबै मिलेर सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछु,’ उनले आफ्ना कुरा समापन गरे।

-साभार स्वास्थ्य खबर पत्रिका


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...