तितोपाटी – वीर अस्पतालको आईसीयू-२ को बेड नम्बर ३ मा मुडासरी लडिरहेका छन् ओमनाथ ढकाल (४१) । कोरियामा सात महिना अगाडि अचानक ढलेर कोमामा पुगेका उनलाई शुक्रबार काठमाडौं ल्याएर वीरमा भर्ना गरिएको हो । शरीर जीर्ण छ, सुकेको रुखजस्तै । अनुहारमा कुनै भाव छैन । बोल्न सक्दैनन् । आँखाले हल्का इशारासम्म गर्न सक्छन्, जसको भाव उनकी पत्नी उमाले मात्रै बुझि्छन् । दुखाईको भाव व्यक्त हुनासाथ उनी व्यग्रतापूर्वक श्रीमानका हात गोडा मुसार्छिन् । आफ्नो मायालु स्पर्शले श्रीमानको कक्रिएको शरीरलाई कुनै त्राण दिएको छ वा छैन उनलाई थाहा छैन ।
पत्नीको स्नेहलाई टुलुटुलु हेरिरहन्छन् प्रेम, तर प्रतिक्रियाविहिन छन् । बेडमा लड्दा-लड्दा ओमको पछाडितर्फको भागमा घाउ भएको छ । त्यही घाउ दुखिरहन्छ । उमाको शरीरमा घाउ छैन, तर श्रीमानलाई दुख्दा उनलाई पनि उस्तै दुख्छ । उनको घाउ त मनमा छ । ‘बाबा गाह्रो भाको छ ?’ उमा सोध्छिन् । ओम मुस्किलले आँखाका परेला जोड्न खोज्छन् । उमा अत्तालिएर डाक्टर र नर्सलाई भन्छिन्, ‘डाक्टर साब गाह्रो भएको जस्तो छ !’ डाक्टर भन्छन्, ‘नआत्तिनुस् न ।’
गायक हेमन्त रानाको गीतमा भनिएजस्तो ‘४० कटेपछि’ रमाउने सपना थियो ओम र उनको परिवारको पनि । तर, त्यसमा अहिले तुषारापात भएको छ। बरु ओममाथि उमाको निश्चल प्रेम देख्दा नरेन्द्र प्यासीको त्यो गीतको झल्को आउँछ, ‘चोट बराबरी लाग्यो, दाउ एउटै भएर हो कि, तिमीलाई काट्दा मलाई दुख्यो, घाउ एउटै भएर हो कि पाँचथरबाट बिर्तामोड झरेको थियो ओमको परिवार । पाँचथरको सानो ब्यापार छोडेर बिर्तामोडमा खेतिपातीमै व्यस्त थिए, ओम र उमा । तर, कमाई पर्याप्त थिएन ।
ओमले एकाएक कोरिया जाने निर्णय लिए । भाषा पढे । नाम निकाले । र, दुई वर्ष अगाडि सरकारी कोटामै कोरिया उडे । राम्रै कमाइरहेका पनि थिए ।
उमासँग दिन-दिनै फोनमा कुरा भइरहेकै थियो । ऋण र घर-ब्यवहार पनि मिल्दै गएको थियो । छोरा-छोरीको पढाइ पनि राम्रै थियो । उमालाई ठूलो चिन्ता केही थिएन । थियो त केवल श्रीमानको पर्खाई । तर, गत मंसिर २२ गते उमामाथि बज्रपात भयो । उनी सुँक्क सुँक्क गर्दै सुनाउँछिन्, ‘अघिल्लो दिन बेलुका फोनमा कुरा भएको थियो । त्यसको भोलिपल्ट एक्कासी ढलेको खबर आयो ।’ ‘यहाँ त निकै जाडो छ, बाक्लो हिउँ परिराछ, भोलिलाई कम्पनीले विदा पनि दियो, सुत है !’ भनेर फोन राखेका श्रीमान विहान एक्कासी ढलेको भन्ने खबरले उमा आत्तिइन् उमालाई भनियो, ‘तपाईं नै कोरिया आउनुपर्ने भयो ।’ छुट्टीको दिनमा कोठाबाट बाहिर बरन्डामा निस्किएका ओम त्यहीँ ढलेका थिए । के कारणले ढले कसैलाई पत्तो भएन । साथीहरुको भनाइअनुसार ओम यसरी ढलेका थिए कि मानौं उनी घाम ताप्न पल्टेका हुन् ।
साथीहरुले उठाएर केही समयपछि नजिकैको क्लिनिक पुर्याए । क्लिनिकले हस्पिटल रिफर गर्यो । हस्पिटलले अर्को हस्पिटल पठायो । ब्रेम ह्यामेरेज भएको देखियो । अपरेसन गर्नुपर्ने भनियो । तर, त्यसको खर्च व्यहोर्न कम्पनी तयार भएन । कारण उनी छुट्टकिा दिन बिरामी भएका थिए । नेपाल र कोरियाबीच भएको श्रम समझदारीमा कार्यस्थलमा हुने दुर्घटना र स्वास्थ्य सम्बन्धी समस्याको मात्रै जिम्मेवारी रोजगारदाताले ब्यहोर्ने उल्लेख छ ।
त्यसैलाई देखाएर ओमको कम्पनी पन्छियो । उमा र उनका देबर झण्डै एक हप्तापछि भिजिट भिसामा कोरिया पुगे । उनीहरु पुगेर पैसाको जोहो आफैंले गर्ने बचन दिएपछि मात्रै ओमको उपचार सुरु भयो । आफू कोरिया पुग्दा कम्पनीले ओमको कपडा समेत होस्टलको कोठाबाट बाहिर फालिदिएको दृष्य उनले बिर्सेकी छैनन् ।
ओम कोरियाको अस्पतालमा रहँदा उनका भाई दुई-तीन पटक आउने जाने गरे । भिजिट भिसाको म्याद सकिनुअघि नै फर्किएर फेरि भिसा लगाएर जाने क्रम चल्यो । उपचार खर्च पनि यतैबाट जुटाएर लैजानुको विकल्प थिएन । वैदेशिक रोजगार प्रबर्द्धन बोर्डको पहलमा कोरियाबाट शुक्रबार मात्रै ओमलाई काठमाडौं ल्याइएको हो । यो परिवार श्रम मन्त्री गोकर्ण बिष्ट, श्रम सचिव महेश दाहला र बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठप्रति आभारी छ । उपचारमा कति खर्च भयो बेहिसाब छ । कति ऋण लाग्यो भन्ने पनि हिसाव गर्न भ्याएको छैन यो परिवारले । अब उपचारलाई कसरी निरन्तरता दिने भन्ने पनि कुनै योजना छैन । दाइ बिरामी भएपछि घरका कसैको पनि मन स्थीर छैन, घरको व्यवहार पनि डामाडोल छ, सबै कुरा अस्तव्यवस्त छन्,’ बहिनी बिमला भन्छिन्, ‘बल्ल-बल्ल दाइलाई नेपाल ल्याउन सक्यौं । सरकारले पनि ठूलो सहयोग गर्यो । अब के हुन्छ हेरौं ।’
श्रीमानको सुर्ताले उमा विक्षिप्त छिन् । भोक र चैन हराएको छ । दुब्लाएर हाड र छाला मात्रै बाँकी छ । बोल्न लाग्दा उनको बोली काँप्छन्, आँखा रसाउँछन् । उमा भक्कानिन्छिन्, ‘उहाँलाई हि्वल चेयरमा बस्नेसम्म बनाउन पाए पनि… !’ उनलाई थहा छ, ओम अब पहिलेकै अवस्थामा फर्किन सक्दैनन् । उनीहरुका दुई छोराछोरी छन्, जो ७ र ९ कक्षामा पढ्छन् । ओम बिरामी भएपछि छोराछोरीको पनि पढाई प्रभावित बनेको छ । उमा श्रीमानको सेवामा खटिइरँहदा छोराछोरीको परीक्षा आइसक्यो । ओमले बीबीएस पास गरेका थिए । दिमाग तिक्ष्ण थियो । ३ महिना पढेर नै कोरियन भाषा परिक्षा पास गरेको बताउँछिन् उमा । कोरियामा फर्निचर उद्योगमा काम गर्न भिसा लगेपछि यहाँ सिप पनि सिकेका थिए । ओमका बुवा ७७ वर्ष पुगे । मुटुका रोगी छन् । दिनमा ८ प्रकारका औषधी खानुपर्छ । छोरा बिरामी छन् भन्ने उनलाई थाहा त छ, तर यस्तो अवस्थामा पुगेका छन् भन्ने कुरा परिवारले लुकाएर राखेको छ । बुवालाई यस्ता कुरा सुनाउन मिल्दैन,’ ओमकी बहिनी बिमला भन्छिन् ।तर, बुवाले सोधिरहन्छन्, ‘ओम किन मसँग बोल्दैन हँ ? रिसायो कि क्या हो ?’
वीर अस्पतालका निर्देशक केदार सेन्चुरी सरकारको आग्रहमा ओमलाई वीरमा उपचार गराइरहेको बताउँछन् । सँधैभरि आईसीयू बेड ओगटेर उपचार गराउन नसकिने उनको भनाइ छ । हामीले अरु धेरै गरिब बिरामीलाई आईसीयूमै राखेर बचाउनुपर्छ,’ उनी भन्छन्, ‘हामी ओमको स्वास्थ्य कस्तो छ र के गर्न सकिन्छ भनेर हेर्दैछौं । रिपोर्टहरु हेरेर कसरी उपचार गराउने भन्ने निर्णय लिन्छौं । ओमलाइ अहिले पाइपबाटै खाना खुवाउनुपर्छ, घाँटीबाटै खकार लगायतका फोहोर बाहरि आउँछ, त्यसलाई सफा गरिरहनुपर्छ । यो सबै कुरा परिवारलाई सिकाएर ओमलाई घर फर्काउन सकिने अवस्थामा लैजान सकिन्छ कि भन्ने विश्वास डाक्टरहरुलाई छ । किनभने उनलाई भेन्टिलेटरको आवश्यकता परेको छैन । ओम जस्तै अरु २९ जना विभिन्न देशका अस्पतालका कोमामा रहेका बिरामीलाई नेपाल ल्याउने निर्णय सरकारले गरेको छ । तर, अझै पनि ती बिरामीको प्रभावकारी उपचार र हेरचाहका लागि के-के गर्ने भन्ने अन्योल कायम छ । ओमकी बहिनी बिमला भने नेपालमा प्रविधि नभए पनि वीरमा दाजुले पाएको उपचारबाट खुसी छिन् । ‘त्यहाँ त त्यत्तिकै छोडिदिने रहेछन्, यहाँ डाक्टरहरुले ध्यान दिनुभएको छ,’ उनी भन्छिन्, ‘दाइ अलि फेरिनुभएको छ ।’