Saturday 7th February 2026

उपेन्द्र–बाबुरामको समाजवादी पार्टी अझै अवैधानिक


तितोपाटी- उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण भएको एक महिनाभन्दा बढी भइसक्यो तर अझै पनि नयाँ पार्टीले वैधानिकता पाएको छैन । २३ वैशाखमा दुई पार्टीबीच एकीकरण भएर समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो ।

तर हालसम्म समाजवादी पार्टी, नेपालले वैधानिकता प्राप्त गर्न नसकेको हो ।कानुनी रूपमा अहिले पनि दुवै पार्टीले अलग अलग काम गरिरहेका छन् ।

यी दुई पार्टी निर्वाचन आयोगमा पनि अलग अलग छन् भने संसद्मा पनि फोरम नेपाल र नयाँ शक्ति पार्टी भनेर अलग अलग रूपमा सम्बोधन हुने गरेको छ । यसैगरी सरकारमा सहभागी रहेको सङ्घीय समाजवादी फोरम नेपालकै नाममै प्रतिनिधित्व रहँदै आइरहेको छ ।

सङ्घीय समाजवादी फोरम नेपालको संसदीय दलमा नयाँ शक्ति पार्टीको समायोजन भएको छैन । दलका नेताहरू प्रदेश स्तरीय अभिमुखी कार्यक्रममा व्यस्त रहेका कारणले पार्टीको वैधानिकता प्राप्त गर्न ढिलाइ भएको समाजवादी पार्टी, नेपालका सचिव (फोरम नेपालको तर्फबाट) प्रकाश अधिकारीले बताए ।

‘केही दिन पहिले मात्र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेताहरू फर्किंदै हुनुहुन्छ । अब पार्टी दार्ताको प्रक्रिया सुरु गर्नेछौँ’, उनले भने, ‘अहिलेसम्म केन्द्रीय समितिको मात्र एकीकरण भएको छ ।

अरू समितिहरूको समायोजन बाँकी रहेकाले पनि पार्टी दर्ता प्रक्रियामा ढिलाइ भएको छ ।’ जिल्ला तथा प्रदेशमा समायोजनका लागि छलफल सुरु भएको छ । सबै समायोजन सकेर नै पार्टी दर्ता गराउने हो कि भन्ने सोचाइ भइरहेको छ तर तल्लो तहको समायोजनामा ढिलाइ भयो भने दर्ता प्रक्रिया अगाडि बढाउने उनले बताए ।

समाजवादी पार्टी, नेपालका अर्का सचिव (नयाँ शक्तिको तर्फबाट) प्रशान्त सिंहले पार्टीको नाममा केही समस्या देखिएको कारण पार्टी दर्तामा ढिलाइ भएको बताए । दुवै पार्टीका तर्फबाट एउटा टिम तयार भएको छ । त्यो टिम निर्वाचन आयोगको नियमित सम्पर्कमा रहेको बताउँदै उनले पार्टीका शीर्ष नेताहरू कार्यक्रममा व्यस्त रहेका कारण केही ढिलाइ भएको जस्तो देखिएको बताए ।
पार्टीको दर्ता प्रक्रिया चाँडै टुङ्गिने उनले बताए ।

एकीकृत पार्टीको कार्यालय बालकुमारीमा नै रहने सहमति भएको छ । पूर्वसङ्घीय समाजवादी फोरम नेपालले बालकुमारीमा सञ्चालन गर्दै आएको पार्टी कार्यालयमा नयाँ शक्तिले आफ्नो पार्टी कार्यालयका समान सार्न सुरु गरेको छ ।

नयाँ शक्ति नेपालको पार्टी कार्यालय बबरमहलमा थियो । बबरमहलको पार्टी कार्यालय साँघुरो भएको कारण बालकुमारीको कार्यालयलाई नै एकीकृत पार्टी कार्यालय बनाएको सचिव सिंहले बताए ।

दुवै पार्टीको भौतिक तथा नगद जेजस्तो सम्पत्ति छ ती सबैलाई एक ठाउँमा राख्ने सहमति भएको सचिव सिंहले बताए । कसको सम्पत्ति कति छ, त्यसको बारेमा आफूलाई जानकारीमा नरहेको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ…

प्रतिकृयाहरू
...