तितोपाटी- भारतको मुम्बईमा रेलबाट खसेर अछामका १ जना युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउका ३० बर्षिय मोहन परियारको भारत गुजरातको वापिबाट महाराष्ट्रको मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर ज्यान गएको हो ।
रेलबाट खसेका मोहनको घटनास्थलमै ज्यान गएका त्यहाँ रहेका उनका आफन्त कमल रावलले जानकारी दिए । शनिवार राति उनी घरबाट गएकी श्रीमतीलाई लिन बापीबाट मुम्बई जाँदै गरेको अवस्थामा रेलबाट खसेका थिए ।
गुजरातको वापीमा काम गर्दै आएका मोहन अछामबाट आफन्तसँग महाराष्ट्रको ठानेसम्म पुगेकी श्रीमति डुप्की परियारलाई लिनको लागि रेल यात्रा गर्दै त्यहाँ गइरहेका थिए । घरबाट पुगेकी श्रीमती डुप्की परियार भेट्न नपाउदै ठाने जाने क्रममै मुम्बईको पालघरमा उनको मृत्यु भएको हो ।
९ बर्षदेखि भारतमा काम गर्दै आएका मोहन पछिल्लो पटक २ बर्षदेखि निरन्तर भारतमै रहेका थिए । श्रीमती भेट्न र औषधि उपचार गर्न भारत गएकी थिइन् । बिहे गरेको ७ बर्ष भएको र बच्चा नभएको कारण श्रीमतीलाई उपचार गर्न र केही समय भारतमै बस्ने गरी मोहनले बोलाएका थिए ।
तर, श्रीमति डुप्कीले श्रीमान् मोहनलाई भेट्न नै नपाई मोहनले धर्ति छोडेका छन् । भारतको पालघरमा पोष्टमार्टम भएपछि आफन्तले शव बुझेर आज दाहसंस्कार गरिएको उनका भाई प्रबिण विकले जानकारी दिए ।