Sunday 29th March 2026

अधिकार खोस्ने मिडिया विधेयक किन ल्याउनुपर्‍यो, यो प्रेस स्वतन्त्रतामाथि ‘कू’ हो: सभापति देउवा


तितोपाटी- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक पत्रकारमाथिको ‘कू’ भएको बताएका छन्।

वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हस्तक्षेप गर्ने र पत्रकारहरुको अधिकार खोस्ने मिडिया विधेयक कांग्रेसलाई स्वीकार्य नहुने पनि देउवाले बताए।

‘यो विधेयक पास भयो भने पत्रकारमाथि ‘कू’ हो। प्रेस स्वतन्त्रतामाथि ‘कू’ हो भन्ने ठाने हुन्छ,’ आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर देउवाले भने, ‘अधिकार खोस्ने विधेयक अहिले किन ल्याउनुपर्‍यो?’

मन्त्रिपरिषदबाट पारित मिडिया काउन्सिल विधेयक सरकारले बिहीबार संसदमा दर्ता गरेपछि नेपाल पत्रकार महासंघले विरोध गर्दै आन्दोलन घोषणा गरेको छ।

प्रतिपक्षी दलले पनि पत्रकार सम्मेलन गरेर संविधानको मर्म र भावनाअनुसार नै विधेयक ल्याउन माग गरेको हो। ‘हाम्रो पार्टीले अध्ययन गरेर यो विधेयक फिर्ता ल्याउन पनि संसदमा माग गर्न सक्छ,’ सभापति देउवाले भने।

कांग्रेसले स्वतन्त्रताका पक्षमा राणा, पञ्चायतदेखि लड्दै आएको बताएका देउवाले वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गरेमा फेरि लड्ने बताएका छन्।

‘स्वतन्त्रताका लागि पञ्चायतका पालामा पनि लडेका हौं,’ उनले भने, ‘स्वतन्त्रता त हाम्रो सिद्धान्त नै हो। अहिले पत्रकारहरुलाई पर्‍यो। भोलि कसैलाई पर्ला। लेख्न पाउने स्वतन्त्रताको पक्षमा हामी हौं।’

स्वतन्त्रता नभएको देशमा न्याय पनि नहुने सभापति देउवाले बताए। ‘स्वतन्त्र जुन देशमा छैन त्यहाँ न्याय छ कि छैन कसलाई थाहा हुन्छ?,’ देउवाले प्रश्न गरे, ‘समानता छ/छैन कसरी थाहा हुन्छ?’

उनले प्रेस, वाक् तथा अभिब्यक्ति स्वतन्त्रताको ग्यारेन्टी नभएसम्म सदनबाट प्रतिवाद गरिराख्ने बताए। ‘स्वतन्त्रतामाथि हस्तक्षेप हामीलाई मान्य छैन। लेख्ने बोल्ने स्वतन्त्रता त हुनुपर्‍यो नि,’ देउवाले भने, ‘विधेयकको विरोधमा हाम्रो पार्टी छ। स्वतन्त्रता ग्यारेन्टी गरिनुपर्छ।’

कम्युनिष्ट शासन आए देशमा रुन पनि नपाइने भनेको कुरा आज फेरि देउवाले दोहोर्‍याए। ‘कम्युनिष्ट आए रुन पनि पाइँदैन भनेको थिएँ नि हो मैले भनेको मिल्दै गएको छ,’ उनले भने।

कुनै पनि बाहनामा प्रेस स्वतन्त्रता रोक्ने कार्य भएमा प्रतिवाद गर्ने उनले बताए।

सरकारले प्रेस काउन्सिलको सट्टा सरकारबाट नियन्त्रित मिडिया काउन्सिल बनाउन खोजेको र विधेयकका प्रावधान प्रेस स्वतन्त्रता हनन् गर्ने खालको भएपछि प्रतिपक्षी दल कांग्रेसले विरोध गरेको हो।

सदनमा दर्ता भएको विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिए पत्रकारलाई १० लाखसम्म जरिवना भराउन सकिने उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...