तितोपाटी- १२ वर्षअघि भएको मधेश आन्दोलनबाट केन्द्रीय राजनीतिमा आएका मधेशी महिला एक–एक गरी हराउँदै गएका छन् । पहिलोदेखि दोस्रो संविधानसभासम्म आइपुग्दा राष्ट्रिय राजनीतिमा मधेशी महिलाहरुले कुनै न कुनै रुपमा उपस्थिति जनाइरहेका थिए । तर, संविधान निर्माणपछि तीन तहको चुनाव भएसँगै ती विद्रोही मधेशी महिलाहरु बिस्तारै ओझेलमा पर्न थालेका छन् ।
अहिले पुरानै अनुहार चित्रलेखा यादव, सीता देवी यादव, चन्दा चौधरी, डिम्पल झा, रेणु यादव, सरिता गिरी, अमृता अग्रहरी लगायतका महिलाहरु राष्ट्रिय राजनीतिमा सक्रिय छन् । केही नयाँ अनुहार आएका पनि उनीहरुको मधेश आन्दोलनमा खासै योगदान थिएन । धेरै जसो पहुँचकै आधारमा मात्र सांसद बनेका छन् ।
मधेश आन्दोलनमा केही विद्रोही महिलाहरुको जसरी उदय भएको थियो उनीहरु त्यसरी नै हराएका छन् । ती मध्येका केही महिला प्रदेशसभा र स्थानीय तहमा छन् तर मधेश आन्दोलनबाट आएका धेरै महिलाहरु निस्कृय बनेका छन् ।
चुनी खातुन, सरिता यादव, रानी शर्मा तिवारी, राधा कायस्थ, चन्द्रकाला कुशवाहा, रेणु यादव, आशा चतुर्वेदी, निलम वर्मा, सरिता गिरी, दुर्गा देवी, कलावती पासवान, करिमा वेगम, रम्भा देवी, काशीदेवी झा, गायत्री साह, आशा सरदार, ललिता साह, सेवकीदेवी दास, सलमा खातुन (सर्लाही), सुरिता साह चन्दा चौधरी, शैल महतो, सरिता यादव (सिरहा), डिम्पल झा, चान्द तारा, अनिता यादव लगायतका थुप्रै महिलाहरु मधेश आन्दोलनबाट केन्द्रीय राजनीतिमा आएका थिए । तर यसमध्ये अधिकांश महिलाहरु ओझेलमा परेका छन् ।
अहिले रानी शर्मा, रेणु यादव, सुरिता साह, करिमा वेगम, चन्दा चौधरी लगायतका सांसद हुन् भने केही महिलाहरु पार्टीमा सक्रिय छिन् । तर भने बाँकी राजनीतिबाट आझेलमा छन् । अहिले विभिन्न दलका २५ जना मधेशी महिला प्रतिनिधिसभा र राष्ट्रियसभा छन् । त्यसमा अधिकांश अनुहार नयाँ रहेका छन् ।
२०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्याको लगभग २६ प्रतिशत तराई मधेशका मधेशी महिलाको जनसङ्ख्या रहेको छ । पहिलो संविधानसभामा ३० जना महिलाले चुनाव जितेका थिए । त्यसमध्ये पाँचजना मात्र मधेशी मूलका महिला थिए । २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत १० जना महिलाले मात्र चुनाव जितेका थिए । त्यसमा चारजना मधेशी महिला थिए । २०६५ देखि २०७० कोे चुनावसम्म मधेशी महिलाको पहुँच राजनीतिमा कायमै थियो ।
पहिलो संविधानसभा निर्वाचनमा सप्तरीबाट रेणुकुमारी यादव, धनुषाबाट रामकुमारीदेवी यादव, सर्लाहीबाट सुमित्रादेवी यादव, पर्साबाट करिमा बेगम र कैलालीबाट रूपा चौधरीले प्रत्यक्षतर्फ चुनाव जितेका थिए भने अरु बाँकी समानुपातिकबाट सविधानसभा सदस्य भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाबाट सीता यादव, महोत्तरीबाट किरण यादव र दाङबाट पार्वती डीसी चौधरी र सुशीला चौधरीले चुनाव जितेका थिए ।
अहिले प्रतिनिधिसभामा इन्दु कुमारी शर्मा, कलिला खातुन, गंगा चौधरी, चन्दा चौधरी, चाँदतारा कुमारी, चित्रलेखा यादव, जुली महतो, दिलकुमारी, नमिताकुमारी चौधर, पार्वता डिसी, पुष्पाकुमारी कर्ण, मिनाक्षी झा, रानी मण्डल, रामकुमारी चौधरी, रुहीनाज, रेखाकुमारी, रेणु यादव, लक्ष्मी चौधरी, बोधमाया यादव, शान्ता चौधरी, सरला कुमारी यादव, सरिता गिरी, सीता देवी यादव र मुक्ताकुमारी यादव (राष्ट्रसभा) लगायतका मधेशी महिलाहरु रहेका छिन् ।
प्रदेश २ का जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी सबैभन्दा मधेशीहरुको बसोवास रहेको छ । त्यही जिल्लाबाट राजनीतिमा सबैभन्दा बढी महिलाको उपस्थिति थियो । तर उनीहरु लामो समय राजनीतिमा टिक्न सकेनन् । नटिक्नुका विभिन्न कारणहरु छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव केशव झा भन्छन्, ‘मधेशी महिलाहरु राजनीतिमा आएपनि उनीहरुलाई सम्बन्धित दलले टिकाउन सकेन । आन्दोलनबाट उनीहरु आएपनि उनीहरुमा राजनीतिक ज्ञानको अभाव थियो । त्यसलाई पूर्ती गर्ने काम राजनीतिक दलबाट हुनसकेन ।’
मधेशी महिलालाई राजनीतिमा पत्याउने दल नै छैन । अधिकांश राजनीतिक दल मधेशी महिलाको लामो राजनीतिक पृष्ठभूमि खोज्छन् । तर, मधेशी महिलाको लामो राजनीतिक पृष्ठभूमि छैन ।
मधेश आन्दोलनबाट आएका कारण उनीहरुमा काम गर्ने जोश जागर रहेको तर नेतृत्वको विकास गर्न पार्टीले गर्न नसकेको बताउँदै महासचिव झाले भने, ‘त्यस्ता महिलाहरुलाई पार्टीले अवसरबाट पनि बञ्चित गरेको कारण ओझेलमा परेका हुन् ।’
नेपाल सद्भावना पार्टीबाट मधेश राजनीति निकै सक्रिय रहेकी चुनी खातुन यतिखेर निस्कृय छिन् । हाल राजपाको विद्यार्थी संगठनमा आबद्ध भएपनि उनी राजनीतिबाट टाढा बसेकी छिन् । उनी भन्छिन्, ‘मुलधारको राजनीतिमा टिक्नका लागि पार्टीको सहयोग चाहियो, आफ्ना नेता तथा कार्यकर्तालाई राजनीतिमा कसरी टिकाई राख्ने सोच्ने काम पार्टीको हो। तर मधेशवादी दलमा त्यस्तो सोच पाएका छैनौँ ।’
‘मधेशका महिलाहरु हरेक कुरामा सक्षम छन् । तर दलका नेताहरुले उनीहरुको नेतृत्व विकास हुन नदिएको कारण थाकेर बसेका छन्।’
पहाडी महिलाको साक्षरता ६३ प्रतिशत हुँदा मधेशी महिलाको ३६ प्रतिशत मात्रै छ । जसमध्ये १५ प्रतिशत मधेशको दलित महिला मात्र साक्षर रहेको तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्कबाट मध्य मधेसका आठ जिल्लालाई अलग्याएर हेर्ने हो भने मधेशी महिलाको अवस्था झनै कमजोर अवस्था फेला पर्दछ । त्यस कारणले पनि मधेशी महिला राजनीतिमा टिक्न नसकेको जानकारहरु बताउँछन् ।
मधेशी महिलालाई राजनीतिमा पत्याउने दल नै छैन । अधिकांश राजनीतिक दल मधेशी महिलाको लामो राजनीतिक पृष्ठभूमि खोज्छन् । तर, मधेशी महिलाको लामो राजनीतिक पृष्ठभूमि छैन ।
समाजवादी पार्टी, नेपालका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सक्रिय मधेशी महिला निस्कृय हुनु दुर्भाग्य भएको बताए । तर कतिपय महिला आफ्नै कारणले राजनीतिमा टिक्न नसकेको उनको भनाई छ ।
‘पर्सा जिल्लाका दुर्गा देवी महतो एक होनहार जुझारु महिला थिइन् । तर उनी गलत पार्टीमा लागिन् । त्यही भएर विस्तारै विस्तारै निस्कृय बनिन्,’ उनको टिप्पणी छ ।
दुर्गा देवी महतो तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमार्फत राजनीतिमा आइन् तर पछि विजयकुमार गच्छदारको साथ लागेर पार्टी विभाजन गरिन् । विजयकुमार गच्छदारको पार्टीबाट उनी एकपटक राज्यमन्त्री पनि भएकी थिइन् तर गच्छदार काँग्रेसतिर लागेपछि दुर्गादेवी ओझेलमा परिन् ।
पार्टी तोडफोडमा त्यतिबेला मधेशी महिला नेतृहरु निकै सक्रिय थिइन्, पछि त्यही भएर दलका नेताहरुले उनीहरुमाथि विश्वास नगरेको राजपा नेपालका महासचिव झाले बताउँछन् । कतिपय महिलाहरु संविधानसभा सदस्य भएको बेला राजनीतिको आडमा गलत गतिविधिमा पनि लागेका कारण पनि ओझेलमा परेकी झाको भनाई छ ।
गायत्री साहदेखि लिएर सलमा खातुन, रम्भादवी लगायतको नाम रातोपासपोर्ट दुरुपयोगमा पनि मुछिएको थियो । निलम वर्मा, सरिता यादवहरुले पार्टी विभाजनमा पनि भूमिका खेलेकी थिइन् । त्यही भएर उनीहरु राजनीतिमा भएपनि मुलधारमा आउन सकेका छैनन् ।