Sunday 24th August 2025

दार्चुलामा बाबुले १० महिने छोरीलाइ जिउँदै जलाएर हत्या गरे


तितोपाटी – दार्चुलाको ब्याँस गाउँपालिका ५ चुकपानीका नविन बिष्टले आफ्नै छोरीलाई बिहीबार जिउँदै जलाएर हत्या गरेका छन् । घरायसी विषयमा आफ्नी श्रीमतीसँग मनमुटाव भएपछि विष्टले १० महिनाकी छोरी अनुस्कालाई जलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २४ वर्षीय नविनले बिहीबार राति १० बजे घरनजिकैको सुकेको खरको थुप्रोभित्र राखेर बाहिरबाट आगो लगाई छोरीलाई मारेको खुल्न आएको हो । छोरीलाई जलाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बालिकाका बुबा र आमा दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । ‘नविनकी श्रीमतीले आफ्नी दिदीको एक तोला सुन चोरेर ल्याएको र दिदीलाई सुनको रकम तिर्नुपर्ने भएपछि उनीहरु बीच मनमुटाव सुरु भएको देखिन्छ’ प्रहरी निरीक्षक बोहराले भने, ‘एक/डेढ महिनादेखि यसै विषयमा वादविवाद हुँदै आएको थियो त्यसको रिस फेर्न छोरीलाई जलाएको घटना प्रकृतिबाट बुझिन्छ ।’ छोरीलाई मारेर श्रीमतीसँग सम्बन्धबिच्छेद गर्ने तयारीका साथ यो घटना भएको नविनको क्रियाकलापले देखिन आएको बोहराले बताए ।

स्थानीयका अनुसार चोरेर ल्याएको सुनको रकम तिरिदिने विषयमा एक/दुई दिनदेखि घरमा कुरा हुँदै आएको थियो । बिहीबार साँझ पनि नविनका आफन्त घरभित्र बसेर त्यसै बिषयमा कुरा गरिरहेका थिए ।

राती श्रीमती शौचालय गएको समयमा उनले सुतिरहेकी छोरीलाई समातेर घरनजिकै रहेको खरको थुप्रोभित्र राखेर जलाएको ब्याँस गाउँपालिका ५ का अध्यक्ष मंगलसिंह धामीले बताए । सानै उमेरमा उनीहरुको बिहे भएको र दुवैजना गाउँमै बस्दै आएका थिए । जलेको शव घटनास्थलबाट ल्याएर जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

बेरुत: लेबनानी सेनाहरू बिहीबार राति बेरुतको दक्षिणी उपनगरहरूमा रहेको बुर्ज अल-बराजनेह शरणार्थी शिविरमा प्रवेश गरे र प्यालेस्टिनी गुटहरूलाई निशस्त्रीकरण गर्ने…

प्रतिकृयाहरू
...