Sunday 15th March 2026

पृथ्वीको सतह नजिक शक्तिशाली उल्का विष्फोट


पृथ्वीको सतहभन्दा केही किलोमिटरमाथि वायुमण्डलमा शक्तिशाली उल्का विष्फोट भएको वैज्ञानिकहरुले बताएका छन् । नासाका अनुसार गत १८ डिसेम्बरको मध्याह्नमा भएको विष्फोटबाट १ सय ७३ किलोटन ऊर्जा उत्पन्न भएको थियो । ३२ किलोमिटर प्रतिसेकेण्डको वेगमा वायुमण्डलमा प्रवेश गरेको पिण्ड पृथ्वीको सतहभन्दा २५.६ किलोमिटर माथि विष्फोट भएको थियो । टेक्सासको उडल्याण्डमा आयोजित चन्द्रमा र ग्रह विज्ञान सम्बन्धी एक सम्मेलनमा नासाकी वैज्ञानिक डा. केली फास्टले यो विष्फोटबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।

यो कुरा सबैभन्दा पहिलो अमेरिकी वायु सैनिकले पत्तो पाएका थिए । उनीहरुले नै नासाका वैज्ञानिकहरुलाई विष्फोटबारे जानकारी दिएका थिए । वैज्ञानिकहरुका अनुसार उक्त विष्फोट उत्तर अमेरिका र एसियाबीच व्यापारिक उडान हुने रुट नजिकै भएको थियो ।

दोस्रो ठूलो विष्फोट

३० वर्षको अवधिमा भएको यो दोस्रो ठूलो विष्फोट हो । ६ वर्षअघि रुसको वायुमण्डलमाथि योभन्दा कयौं गुणा शक्तिशाली विष्फोट भएको थियो । उक्त विष्फोट जापानको हिरोसिमामा अमेरिकाले खसालेको अणु बमभन्दा १० गुणा शक्तिशाली थियो । यद्यपि बेरिङ सागरमाथि विष्फोट भएकाले त्यसको ऊर्जाले धेरै क्षति भएन । डिसेम्बर महिनामा भएको विष्फोटबाट उत्पन्न ऊर्जा रुसमा भएको विष्फोटभन्दा ६० प्रतिशत कम हो । त्यसैले यसको धेरै चर्चा नभएको वैज्ञानिकहरु बताउँछन् । वैज्ञानिकका अनुसार यस्ता ठूला विष्फोट एक वर्षको अवधिमा दुई वा तीन पटक मात्र हुने गर्दछ ।’

आकासीय पिण्ड पृथ्वीको नजिक आएमा ग्रुत्वाकर्षणका कारण तीव्र गतिले पृथ्वीतर्फ र्झन थाल्छन् र वायुमण्डलसँग घर्षण भएर आगो निस्किन्छ । यसैलाई उल्का खसेको भनिन्छ । यदि यी उल्का पृथ्वीमा ठोक्किएमा ठूलो क्षति पुर्‍याउने वैज्ञानिकहरुको भनाइ छ । यद्यपि पृथ्वीमा पानीको मात्रा बढी भएकाले प्रतिरक्षामा धेरै हदसम्म सहयोग पुग्ने गरेको छ ।

सन् २००५ मा अमेरिकी संसदले नासालाई सन् २०२० भित्र पृथ्वी नजिकका क्षुद्रग्रहको संख्या पत्ता लगाउन भनेको थियो । तर उक्त समयसीमा अपुग भएको र थप १० वर्ष समय चाहिने वैज्ञानिकहरूले आकलन गरेका छन् ।

उल्कापातको कोण र गतिका आधारमा यो पृथ्वीको कुन क्षेत्रमा खस्छ भन्ने पत्ता लगाउन वैज्ञानिकहरु धेरै हदसम्म सफल भएका छन् । तर, बेरिङ सागरमाथि भएको ठूलो विष्फोट र गत डिसेम्बर महिनामा भएको पछिल्लो घटनाको पूर्व जानकारी भने वैज्ञानिकहरुलेसमेत पाएनन् । यसबाट पिण्डहरुको अध्ययनमा थप सुधार आवश्यक देखिएको विश्लेषण गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...